उर्जा, कृषि र पर्यटनमा जोड गरौं : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिए । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उनको भनाइ थियो ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ कालिकामा भूकम्पले भत्काएको निजी आवास पुनःनिर्माणपछि आइतबार आयोजित घर हस्तान्तरण कार्यक्रममा उनले देश निर्माणको अभियान अगाडि बढाउनुपर्ने बताए ।

कारितास नेपाल नामक संस्थाले सरकारसँगको समन्वयमा यहाँका स्थानीयको ६५३ घर निर्माण सम्पन्न गरेपछि घर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विगतमा राजनीतिक अस्थिरताले विकास गर्न नसकेको भए पनि अहिले राजनीतिक स्थिरतासँगै विकासले गति लिएको बताए ।

उनले कतिपय ठाउँमा भूकम्पपीडितले दोस्रो किस्ता लिन नसकिरहेका बेला यहाँ नयाँ घर निर्माण गरी उनीहरु नयाँ घरमा स्थानान्तरण हुनु सुखद भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी काम गर्नुपर्नेमा जोड दिए ।

घर निर्माण हुन नसकेको विषयमा काठमाडौँ पुगेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउँदै उनले भूकम्पपीडितको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षणसमेत गराए ।

प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गर्न सके नेपालको विकास सम्भव भएको उनले उल्लेख गरे । ऊर्जा, कृषि, उद्योगधन्दा र कलकारखाना र पर्यटनको विकास गर्नसके नेपाल समृद्ध हुने भनाइ उनको थियो ।

उनले कामका लागि विदेश होइन विदेशी नेपाल आउने र दातृ राष्ट्रसँग माग्ने होइन उनीहरुलाई दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै राष्ट्र बनाउन र संविधान कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले भूकम्प पुनःनिर्माणको काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे ।

सो क्रममा प्रदेशसभा सदस्य सुरेश नेपालले पीडादायी अवस्थाको बीचबाट घर निर्माण हुनु ठूलो सफलता भएको उल्लेख गर्नुहुँदै अबको बाटोे विकास र समृद्धिको रहेको उल्लेख गरे ।