भारतीय कांग्रेसका प्रभावशाली नेता ज्योतिरादित्य भाजपा प्रवेश

shindhiya pic
लाेकपाटी न्यूज

दिल्ली, २८ फागुन। भारतीय कांग्रेस नेता ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन्। मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन्।

मध्यप्रदेशका प्रभावशाली नेताका रुपमा लिइने उनले कांग्रेस पार्टी पहिलेजस्तो नरहेका कारण आफूले पार्टी परित्याग गर्नु परेको बताएका छन्। उनले कांग्रस पार्टीले नयाँ नेतृत्व एवं नयाँ विचारलाई नकारेका कारण आजको अवस्थामा आइपुगेको आरोप पनि लगाए।

उनले मंगलबार एकाएक पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पार्टी परित्याग गर्नुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग परामर्श लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्यप्रदेशमा गत वर्ष भएको विधानसभा निर्वाचनयता सिन्धिया पार्टीप्रति असन्तुष्ट रहँदै आएका थिए। निर्वाचनमा जीत हासिल गरेपछि उनले त्यहाँ मुख्यमन्त्री पदको अपेक्षा गरेका थिए। तर, पार्टीले उनको स्थानमा कमलनाथलाई मुख्यमन्त्री बनाएको थियो।