माओत्सेतुङ र समाजवादी संस्कृति

socialism_flag_communist
  • 103
    Shares
लोकपाटी न्यूज

समाजवादी निर्माण अभियानसँगै माओका सामु दुईवटा कार्यभार पहिलो र प्रमुख कार्यभार समाजवादी निर्माण अभियानमा साहित्य कलाको भूमिकाको उच्च उपयोगमार्फत् समाज रूपान्तरणको कार्यलाई तीव्र बनाउनु र दोस्रो इतिहासबाट शिक्षा लिएर सबै किसिमका विचलन विरुद्ध संघर्षलाई तीव्र बनाउँदै रूपान्तरणको अभियानलाई निरन्तरता दिनु थिए। यसबीच माओले दुईवटा कुरा प्रष्ट पारेका थिए, एउटा हो बन्दुकधारी दुश्मन समाप्त भएपछि पनि सांस्कृतिक दुश्मन भनौं दिमागी दुश्मन बाँकी नै रहन्छन्, तिनको विरुद्ध निरन्तर संघर्ष चलाई रहनु पर्दछ।

अर्को हो, ‘पोलिटिक्स इन कमाण्ड’लाई अगाडि राखेर आधार निर्माणमा अधिरचनाका सबै अङ्गहरूको प्रयोग। यसका लागि माओले पुराना सम्बन्धहरूलाई विस्थापन गर्दै नयाँ सम्बन्धहरूको निर्माण, खोज र स्थापना गर्ने कुरामा जोड दिए। समाजवादका आधारभूत नीति, सिद्धान्त, र मूल्य मान्यतालाई अलिकति पनि निषेध नगरी माओले स्वतन्त्रता र प्रतिवद्धताका आधारभूत मान्यतालाई साहित्य तथा कलाको क्षेत्रमा अझ भनौं सांस्कृतिक क्षेत्रमा लागू गर्न खोजे। यसको मूल उद्देश्य नयाँ समाजको निर्माणमा सबै मोर्चा, तह र तप्काको व्यापक जनसहभागिता गराउनु र जुटाउनु थियो।

जडसूत्रवादी यान्त्रिकताभन्दा दक्षिणपन्थी संशोधनवादको खतरा प्रबल छ भन्ने कुरा बुझेर पनि शुद्धीकरण र सुदृढीकरणको अभियान लाई नयाँ प्रयोगका साथ अघि बढाउन र झारपात पतिङ्गरलाई सतहमा आउन दिन माओले सांस्कृतिक क्षेत्रमा केही समयका लागि अभिव्यक्ति स्वतन्त्रतालाई छुट दिने नीति अबलम्बन गरे। परन्तु व्यवहारमा यसले सकारात्मक परिणाम दिन सकेन।

स्टालिनको मुत्यु र रूसी बीसौं पार्टी कंग्रेसले लिएको नीति, युरो कम्युनिज्मको हौवा र अमेरिकी बढ्दो दादागिरिका कारण माओका लागि समाजवादी निर्माण प्रक्रिया निकै जटिल बनेको थियो र सबैभन्दा खतरा अराजकतावाद र दक्षिणपन्थी संशोधनबाट नै थियो। यथार्थतः समाजवादी निर्माण अभियानको गतिसँगै माओको मूल लडाई दक्षिणपन्थी अवसरवादका विरुद्ध नै रह्यो। १९५१ देखि १९५८ अर्थात् लुसान सम्मेलनसम्म पार्टीमा चलेको लडाइँको स्थितिबाट पनि यो कुरा प्रस्ट हुन आउछ।

यसबीच माओले सांस्कृतिक क्षेत्रमा लडेको लडाइँका तीनवटा पक्षहरू छन्, (क) प्रतिबद्धता र स्वतन्त्रताका बारेमा, (ख) कृतिको मूल्याङ्कनका बारेमा र (ग) रूपान्तरणका बारेमा।

सम्पादकीय टिप्पणी र लेखादिहरू तथा राजनीतिक तथा प्रचार कार्यसित सम्बद्ध कार्यक्रममा माओले व्यक्त गरेका भनाइ र अभिमतबाट त्यसबेलाको सांस्कृतिक क्षेत्रको लडाइ, वर्ग संघर्षको स्वरूप र चरित्रलाई राम्रोसित बुझ्न सकिन्छ। यसबीच राजनीतिक क्षेत्रमा भएका विवाद र बहसलाई छाडिदिने हो भने साहित्यिक र सांस्कृतिक विषयमा केन्द्रित भएर माओले ऊस्युनको जीवनीका सम्बन्धमा भएको गलत विचारको भण्डाफोर गरेर जन दैनिकमा लेखिएको सम्पादकीय – १९५१०, रातो दरवारको सपनाको अध्ययनबारे पत्र (१९५४०, ‘जनता बीचको अन्तर्विरोधको सही सञ्चालनबारे’ भित्रको आठौं शीर्षक, ‘सयौं फूलहरूलाई फुल्न देऊ, विचारका सयौं धाराहरूलाई प्रतिस्पर्धा गर्न देऊ’ तथा ‘दीर्घकालीन सहअस्तित्व र आपसी सुपरीवेक्षणबारे’ (१९५७) र ‘चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचार कार्य सम्बन्धमा भाषण’ (१९५७) मा सांस्कृतिक स्थिति र अन्तर्विरोधका बारेमा बोलेको पाइन्छ। यथार्थ यी भनाइहरू त्यति बेलाको राजनीतिक र वैचारिक संघर्षका महत्त्वपूर्ण आधार हुन्।

यहाँसम्म आइपुग्दा माओले केही उदार, केही नरम र सहनशील बन्दै केही खुकुलोपन दिएर मान्छेको विवेक, चेतना, इमानदारी, विचार र समाजप्रतिको जिम्मवारी बोधप्रतिको गम्भीरताको परीक्षण लिएजस्तो देखिन्छ। रूसको इतिहासबाट पनि माओले शिक्षालिन खोजेको देखिन्छ। लेनिनसितै कुरा नमिलेर गोर्कीको इटाली गमन, थुपै रूसी लेखकहरूले गरेको आत्महत्या र कतिपय लेखकहरूप्रति गरिएको नकारात्मक व्यवहारबाट पनि माओलाई गम्भीर तुल्याएको हुन सक्छ। तर चिनियाँ स्थिति लेखकीय स्वतन्त्रताको नाममा यसको दुरुपयोगको स्थिति हो, राज्य नियन्त्रित स्थिति होइन।

कसलाई स्थापित गर्ने र कसलाई विस्थापित गर्ने भन्ने कुरा मूल्यबोधको कुरा हो। माओले यसलाई वैज्ञानिक किसिमले हल गरेका छन्। लुसुनका सम्बन्धमा उनले गरेको मूल्याङ्कन यसै अर्थमा ऐतिहासिक बनेको छ। समाजवादी चरण झण्झटिलो र संवेदनशील चरण भएकाले यसमा केको प्रशंसा र केको भण्डाफोर गर्ने कुराले अहम् महत्त्व राख्नु स्वाभाविक थियो। समाजवादी निर्माण अभियान भर्खरै आरम्भ भएको अवस्थामा सामन्तको प्रशंसा र गुनगान केन्द्रित कृतिले जनतामा भ्रम उत्पन्न गर्नु स्वाभाविक थियो। विषालु झारपातको भण्डाफोर आवश्यक थियो। उसुनको जीवनी, लाला बैठकको सपना र छिङदरवारको अन्तर्कथाप्रति माओको प्रतिक्रिया यसैको उपज थियो। यी सबै टिप्पणीहरू सांस्कृतिक रूपान्तरण विरोधी चिन्तन विरुद्धका प्रतिक्रिया र प्रहार थिए। समाजवादी निर्माणको अभियान सँगसँगै माओले के–कस्ता चुनौतीहरूसित लड्नुपर्‍यो भन्ने कुरा ‘तीन खराबीहरू’ र पाँच खराबीहरू’ (१९५१, १९५२) सम्बन्धी लेखबाट पनि अवगत गर्न सकिन्छ।

पचासको दशकमा राजनीतिक क्षेत्रबाहेक सांस्कृतिक क्षेत्रमा माओले लड्नु परेको भीषण लडाइँ हुफेङ गुटका विरुद्ध थियो। बाहिरी रूपमा यो साहित्यिक–सांस्कृतिक थियो। तर भित्री रूपमा यो ट्राटस्कीवादी अराजकतावाद र संशोधनवादका विरुद्धको लडाइँ थियो। बीसको दशक भनौं लुसुनकालीन समयदेखि नै एक–एक वटा बबण्डर मच्चाउँदै आएको र बारम्बार आत्मालोचित हुँदै आएको हुफेङगुट यस कालमा निकै सङ्गठित र योजनावद्ध रुपमा आएपछि माओले यस विरुद्धको आभियानलाई तीव्र बनाउनुपरेको थियो।

यसै क्रममा माओले सन् १९५५ मा यसका विरुद्ध निर्मम वैचारिक संघर्ष चलाएर स्थितिलाई यसरी प्रस्तुत गरे, हुफेङरूपी तत्त्वहरू त्यस्ता प्रतिक्रान्तिकारीहरू हुन्, जसले मुकुण्डो लगाएर आफ्नो सक्कली अनुहार लुकाई गलत किसिमको प्रभाव पार्दछन्। तर तिनले क्रान्तिको विरोध गर्ने हुनाले आफ्नो सक्कली रूप पूरापूर लुकाउन चाहिँ असम्भव छ। जहाँसम्म हुफेङगुटको नेतुत्वदायी भावनाको कुरा छ, मुक्तिअघि र पछि अनेकौं अवसरहरूमा तिनले हामीसँग वादविवाद गरेका थिए। तिनीहरू आफ्ना बचन र कर्ममा कम्युनिस्टहरूभन्दा मात्र फरक नभई गैरपार्टीका क्रान्तिकारी र जनवादीहरूको ठूलो सङ्ख्या भन्दा फरक छन्।”

माओको उद्देश्य फरक मत र विचारलाई निषेध गर्ने थिएन। तर फरक मतका नाममा जनताको विरुद्ध जाने र भर्खरै शिशु अवस्थामा रहेको समाजवादी अभियानको घाँटी निमोठ्ने प्रतिक्रान्तिकारी व्यवहार गर्ने कुरामा भने उनी निर्मम थिए। जनवाद र केन्द्रीयता, सामूहिकता र प्रतिस्पर्धात्मता, प्रतिभाहरूको खोजी, विकास र उन्नयनप्रति उनी एकदमै सकारात्मक थिए। प्रतिभाको प्रस्तुति, शैली विविधता र प्रतिस्पर्धामा नभएर उनको आपत्ति अराजकता र विध्वंशप्रति थियो। १९५७ मा ‘जनता बीचका अन्तर्विरोधहरूको सही सञ्चालनबारे’ दस्तावेजमा उनले अघि सारेका सयौं फूलहरू सम्बन्धी मान्यताबाट पनि यो कुरा अवगत गर्न सकिन्छ। त्यहाँ उनले एकातिर क्षमता र प्रतिभाहरूका लागि फैलिने र फुल्ने वातावरणको कुरा उठाएका छन्।

अर्कोतिर अराजकतावादी र क्रान्ति विरोधी तत्त्वहरूका विरुद्ध वर्गसंघर्ष तीव्र पार्नुपर्ने कुरामा पनि जोड दिएका छन्। उनको भनाइमा लेखकीय प्रतिबद्धता र स्वतन्त्रता बीच द्वन्द्वात्मक सम्बन्ध छ। एउटा कृतिको मूल्याङ्कन कसरी गर्ने र सौन्दर्य शास्त्रीय समस्याहरूको हल कसरी गर्ने भन्ने कुरालाई माओले ऐतिहासिक, ज्ञान मिमांसीय र सौन्दर्यशास्त्रीय ढङ्गले हल गर्न जोड दिएका छन्। एनान प्रवचनपछि सौन्दर्य शास्त्रीय दृष्टिले यो महत्त्वपूर्ण दस्तावेज हो। यससित सम्बद्ध दुईवटा उद्धरणहरू यहा प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ।

सयाैं फूलहरूलाई फुल्न दिने र विचारका सयौं धारहरूलाई प्रतिस्पर्धा गर्न दिने नीति भनेको कला र विज्ञानका क्षेत्रहरूको प्रगतिलाई प्रवर्धन गर्ने र हाम्रो देशमा समाजवादी संस्कृतिलाई फस्टाउन दिने नीति हो। कलाका विभिन्न रूप र शैलीहरूले स्वतन्त्र रूपले विकसित हुन पाउनुपर्दछ र विज्ञानका विभिन्न धारहरूले स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्न पाउनु पर्दछ। कलाको शैली विशेषमाथि वा विचारको खास धारमाथि प्रशासनिक उपायहरू थोपर्ने गरियो भने यो कुरा कला र विज्ञानको विकासका लागि हानिकारक हुनेछ भन्ने हामीलाई लाग्छ। कला र विज्ञान क्षेत्रका सही र गलत सम्बन्धी प्रश्नहरूलाई कला र विज्ञानसित सम्बद्ध मण्डलीहरूबीचको स्वतन्त्र छलफलद्वारा र यिनै क्षेत्रहरूका व्यावहारिक कार्यद्वारा हल गरिनु पर्दछ। अति सरलीकृत ढङ्गबाट तिनको हल गर्नु हुँदैन। ‘कला र विज्ञानका क्षेत्रका सही र गलत सम्बन्धी प्रश्नहरूबारे सावधान रहनु, स्वतन्त्र छलफललाई प्रोत्साहित गर्नु र झटपट निष्कर्ष निकाल्ने कुराबाट जोगिनु आवश्यक छ।

वर्गसंघर्ष कुनै पनि हालतमा समाप्त भएको छैन। सर्वहारावर्ग र पूँजीपति वर्गबीचको वर्गसंघर्ष विभिन्न राजनीतिक शक्तिहरू बीचको वर्गसंघर्ष अनि सर्वहारावर्ग र पूँजीपति वर्ग बीचको विचारधारात्मक क्षेत्रको वर्गसंघर्ष अझ पनि दीर्घकालीन हुनेछन्, ती बाङ्गोटिङ्गो बाटो भई अभिव्यक्त हुनेछन्। कहिलेकाहीँ त ज्यादै तीव्र पनि हुनेछन्। सर्वहारावर्गले विश्वलाई आफ्नै विश्व दृष्टिकोणअनुसार रूपान्तरण गर्न खोज्छ र पूँजीपति वर्गले पनि त्यसै गर्न खोज्छ। यस सन्दर्भमा समाजवाद र पूँजीवादमध्ये कसले जित्ने हो भन्ने कुरा अझै साँच्चिकै हल भइसकेको छैन।

माथिका दुई उद्धरणले स्वतन्त्रता र प्रतिवद्धताको मार्क्सवादी–लेनिनवादी मान्यता र पद्धतिको पक्षमा जोड दिएका छन्। लेनिनले पार्टी साहित्यका बारेमा भनेका कुराहरू, रूसी १९२५ को निर्णय र स्टालिनले गोर्की सहितका लेखकहरूको जमघटमा सन् १९३३ मा निकालेका निष्कर्षरूकै निरन्तरतामा आधारित र विकसित मान्यताहरूको प्रतिनिधित्व माओका भनाइले गर्दछन्। स्वतन्त्रता र प्रतिवद्धताप्रतिको माओको गम्भीरता यहाँ राम्रोसित व्यक्तिएको छ। यही कुरा ‘चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचार कार्य सम्बन्धमा भाषणमा पनि व्यक्त गरेर माओले यसको गम्भीरताप्रति सबैको ध्यानाकर्षण गराएका छन्। प्रतिवद्धता र स्वतन्त्रताको केन्द्रमा पक्षधरता र वर्गसंघर्षलाई राखेको कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्