आहा रारा गोल्डकपको फाइनलमा पुलिस

police-club
लाेकपाटी न्यूज

काठमाडौं । थ्रीस्टार क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साबिक विजेता थ्रीस्टारलाई ३–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो।

पुलिसका कप्तान भरत साहले खेल सुरु भएको आठौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । रवि पासवानले दिएको बललाई डीबक्स नजिकैबाट साहले वान टचमा गोल गरेका थिए। खेलको ५१औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका थिए। एक्लै लगेर विपक्षी पोस्टमा प्रहार गरेको बलले थ्रीस्टारका गोलरक्षकको हातबाट फुत्केर जाली चुमेको थियो। दोस्रो गोलपछि थ्रीस्टार निराश बनेको थियो। खेलको ७२औं मिनेटमा म्यान अफ दी म्याच निरकुमार राईले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई सहज जित दिलाए। तेज तामाङको पासमा पाएको बललाई उनले डीबक्स नजिकैबाट गोल गरेका थिए।

खेलको चौथो मिनेटमै थ्रीस्टारले पाएको गोल गर्ने अवसरलाई खेर फालेको थियो। थ्रीस्टारका मिक्चेन तामाङले प्रहार गरेको फ्रिकिकबाट पाएको बल सञ्जोक राईले हानेको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। छैटौं मिनेटमा सुसन श्रेष्ठले अशोक खवासको पासमा पाएको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। ३३औं मिनेटमा थ्रीस्टारका सञ्जोग राईले प्रहार गरेको बल नेपाल पुलिस क्लब गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरे ।

पुलिसले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेता मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। खेलपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना युवा टोलीले बलियो थ्रीस्टारलाई सहज रूपमा पराजित गरेको बताए। फाइनलमा त्रिभुवन आर्मी क्लब वा मनाङ मस्र्याङ्दी जुन टोली भए पनि फरक नपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्