तंग्रिँदैछ नरदेवी आयुर्वेद अस्पताल

आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ।
लोकपाटी न्यूज
  • डा.अच्युत शाली घिमिरे

काठमाडौं। आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। त्यसकै निम्ति देश कै पुरानो नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको हो। निःशुल्क रूपमा आयुर्वेदिक उपचार पाइने यस अस्पतालको जनरल वार्डमा १०० शैया र १८ ओटा विशेष कक्ष रहेका छन् र एउटा शल्यक्रिया कक्षसमेत रहेको छ। १ सय २५ जना कर्मचारी रहेको यस केन्द्रीय अस्पतालले समय क्रमसँगै सोचे जतिको गति लिन सकेको थिएन।

अस्पताल व्यवस्थापन समितिमा हुने चरम राजनीतिक नियुक्ति जसका कारण कर्मचारी र चिकित्सक नियुक्ति गर्दा हुने राजनीतिक भागबण्डाले दिन प्रतिदिन यसको साख घट्दै गइरहेको थियो। पूर्ववत एक जना निर्देशक, घुससहित रंगेहात पक्राउ पर्नुले पनि यस अस्पतालमा भ्रष्टाचारको जालो कुन हदसम्म छ भन्ने कुरा प्रस्ट बुझ्न सकिन्थ्यो। नयाँ नयाँ उपकण र बिरामीको सही उपचारमा उचित ध्यान दिन सक्ने दक्ष जनशक्तिको समेत व्यवस्थापन हुन सकेको थिएन। काठमाडौंको मुटुमा अवस्थित भएर पनि, यहाँ पाइने सहज र सुलभ दरका चिकित्सकीय सेवाबाट धेरै जनसमुदाय बेखबर थिए। जसका कारण रंगिन विज्ञापनका भरमा निजी क्लिनिकमा धाएर महँगो शुल्कमा आयुर्वेद सेवा लिन बिरामीहरू बाध्य थिए।

अहिले डा. प्रदीप केसीले नरदेवी अस्पतालको नेतृत्व सम्हालेपछिको समयमा सुधारका उल्लेख्य संकेतहरु देखिएका छन्। सय वर्षको इतिहास बोकेको यो अस्पताल लामो समयको लथालिङ्ग अवस्थाबाट तङ्ग्रिन थालेको अनुभूति त्यहाँ कार्यरत र सेवाग्राही सबैलाई हुँदै आइराखेको छ। फोहोर तथा ढल व्यवस्थापनबाट सुरु गरिएको सुधार अभियानका कारण अहिले सफा वातावरण, व्यवस्थित पार्किङ, सहज उपचारको व्यवस्था नरदेवी अस्पतालको पछिल्लो परिचय बन्न थालेको छ। इन्टर्न चिकित्सकहरूको नियमित ड्युटी र केस प्रिजेन्टेसन कक्षाहरूले पनि नव आयुर्वेद चिकित्सकहरूका लागि नरदेवी अस्पताल सिकाइको उचित थलो बन्दै गइराखेको छ।

त्यस्तै प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र प्रदेश नं. १ को अग्रसरतामा प्रदेश मातहतका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सकलाई ४२ दिने क्षार सूत्रसम्बन्धी तालिम समेत नरदेवी आयुर्वेद अस्पतालमा फागुन १९ देखि सुरु भएको छ। बिहानले दिनको सङ्केत गर्छ भने झैँ भए गरेका तमाम सकारात्मक कदमले बिरामीको भरोसा जित्न अस्पताल अघि बढेको कुरा जनाउँदछ तर यति मात्र काफी छैन, जसका लागि थप सहकार्य आवश्यक छ।

स्वास्थ्य मन्त्रालयले ध्यान दिनु पर्ने कुरास
स्वास्थ्य मन्त्रालयको सिधै पहुँच नपुग्ने र विनियोजन हुने बजेट र नीति तथा कार्यक्रममा एलोपेथि अस्पतालका अगाडि सधैँ ओझेलमा पर्ने हुनाले पनि अरू अस्पताल झैँ नरदेवी अस्पताल अझै आकर्षणको केन्द्र बन्न सकेको छैन। नरदेवी अस्पतालको जुन रूपमा विकास र विस्तार गर्न स्वास्थ्य मन्त्रालयले ध्यान दिनु पर्ने हो त्यो कदापि दिन सकेको छैन। नरदेवी अस्पताललाई नेपालको आयुर्वेद चिकित्साको धरोहरका रूपमा विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरूको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोध ग्रन्थहरूको प्रकाशन तथा वितरण सँगै सामाजिक तथा संस्थागत प्रतिबद्धतासहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ। साथ साथै सरोकार सम्पूर्णले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्यसमेत बोक्नु पर्छ।

पीजी अध्ययन गर्ने राम्रो केन्द्रका रूपमा विकसित गरेर न्याम्स (वीर अस्पताल)कै अवधारणामा समेत यसलाई लैजान सकिन्छ। चारैतिरबाट उपचारमा हार खाएपछि मात्र अन्तिम विकल्पका रूपमा आयुर्वेद चिकित्सा अपनाउन नरदेवी अस्पताल आउनेहरूलाई प्रारम्भिक अवस्थामा नै यसको महत्त्व बुझाउन सके उपचार पद्धति प्रभावकारी बन्नुको साथै बिरामीले समेत कष्ट व्यहोर्नु पर्दैन थियो। स्वास्थ्य मन्त्रालयले जण्डिस, ग्यास्ट्राइटिस, पायल्स, फिस्टुला, फिसर आदिले मात्र नेपाली समाजमा चिनिएको नरदेवी अस्पतालमा अथाह रोगहरूको उपचार सजिलै हर्बल तथा हर्बो मिनिरल औषधि, पञ्चकर्म, अक्युपञ्चर तथा अन्य थेरापीहरूका माध्यमबाट हुने कुरा सबै जनसमुदायमा बुझाउनु पनि जरुरी छ।

शरीरका विभिन्न प्रक्रियाहरू जस्तै दोष, अग्नि, धातु, मल क्रियालाई, सम अवस्थामा राखी आत्मा, इन्द्रीय र मनको प्रसन्न राख्नु वा आफ्नो सच्चिदानन्द स्वरूपमा फर्कनु नै स्वास्थ्य हो। जसका लागि पनि आयुर्वेद अपरिहार्य छ। ऋषिमुनिहरुको शाश्वत चिन्तन र साधनाबाट मानव जातिकै आदिम सभ्यतासँगै विश्वभरि फैलिएको सर्वप्राचीन जीवविज्ञान वा चिकित्सा विधा आयुर्वेद, आजको आवश्यकता हो भन्ने कुरा नकार्न सकिँदैन। त्यसैले सम्पूर्ण बिरामीको मन, आयुर्वेद चिकित्सा प्रणालीबाट जित्न नरदेवी अस्पतालको समसामयिक र अपेक्षित सुदृढीकरण आवश्यक छ। साथै औषधिको माग व्यवस्थापन गर्न सङ्घीय,प्रादेशिक र स्थानीय निकायहरूले जडीबुटी लगायत आधिकारिक स्रोतसाधनहरूको परिचालन गर्नुपर्ने जरुरी छ।

औषधि आफैँले उत्पादन गर्दै आएको यस अस्पतालमा औषधि उत्पादन गर्ने मेसिनको पनि अभाव रहेको देखिन्छ, यसका लागि समेत मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ। साथै, निजी क्लिनिकमा बिरामी लगेर उपचार र महँगो औषधि भिडाएर बेइमानी गर्नेहरूलाई नियन्त्रण गर्न दण्ड दिने व्यवस्था र असल चिकित्सकलाई पुरस्कृत गर्ने व्यवस्थासमेत मन्त्रालयले गर्नु पर्छ।

लामो समय लुछाचुँडी र राजनीतिक खिचातानीले अस्तव्यस्त बनेको यस अस्पतालले धेरै पछि राहतको लामो सास फेरेको छ। छोटो अवधिमा नै निर्देशकहरू परिवर्तन हुने समस्या पनि विकराल बन्दै आइरहेको थियो। तर पदभार ग्रहण गरेको न्यून समयमा नै नरदेवी आयुर्वेद अस्पतालको सर्वांगीण विकासमा कोशेढुंगा साबित हुँदैछ, डा केसीको कार्यकाल। तर नरदेवी अस्पतालको अझ विकास र विस्तारका लागि सरकारी स्तर, दातृ निकाय र आयुर्वेद सम्बद्ध सबै सरोकारवाला निकायहरू समयमै जवाफदेही हुनु पनि नितान्त जरुरी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्