नयाँदिल्लीका स्कूल, कलेज र सिनेमा हल बन्द

corona
लाेकपाटी न्यूज

नयाँदिल्ली। भारतको दिल्ली राज्य सरकारले ३१ मार्चसम्मका लागि सबै सिनेमा घर, विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ। कोराना भाइरस महामारी घोषणा गर्दै ३१ मार्चसम्मका लागि सबै सिनेमा घर, विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको हो।

परीक्षा हुन बाँकी कलेज र स्कूलहरुलाई समेत बन्द गर्ने घोषणा गरिएको छ। हालसम्म दिल्लीमा ६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमणको जोखिमलाई न्यून गर्न दिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले पछिल्लो निर्णय लिएको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। साथै हवाइअड्डामा १० लाख ५७ हजारभन्दा बढी यात्रुको स्वास्थ्य परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ। कोरोना पुष्टि भएकाहरु मध्ये १७ जना विदेशी छन्।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुको विदेश भ्रमणमा पनि रोक लगाएको बताएका छन्। मोदीले समाजिक सञ्जाल ट्विटमार्फत् त्यसको जानकारी गराएका हुन्। साथै उनले नागरिकहरुलाई अत्यावश्यक काममा बाहेक यात्रा नगर्न पनि अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्