अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय

Indrahang_rai
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध ८ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ। राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो।

गत तिहारमा देउसी खेल्न बोलाएर युवतीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले यसअघि नै राईलाई दोषी ठहर गरिसकेको थियो।

बिहीबार कैद सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार राईविरुद्ध पीडित युवतीलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसलामा उल्लेख गरिएको छ।

राईले एक युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए। पीडित युवतीको उजुरीका आधारमा राईलाई गत कात्तिक १२ गते प्रहरीले पक्राउ गरेको थियो। बलात्कार मुद्दामा पक्राउ परेलगत्तै अनेरास्ववियूले राईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिसकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्