धुलिखेलमा फ्रि वाइफाई

Free wifi
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक, १७ मंसिर । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाई सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाई सेवा शुरु गरिएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाई सेवा विस्तार गरिने जानकारी दिँदै भने, ‘धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ ।’

प्रमुख ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाई सेवा उपलब्ध गराइनेछ । उनले भने, ‘नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, साइक्लिङ सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौँ ।’

फ्रि वाइफाई कार्यक्रमअन्तर्गत पहिलो चरणमा नगरको सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरी फ्रि वाइफाई जडान गरिने भएकोे छ । नगरपालिकाका अनुसार एक पटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाइफाइको क्षमता विस्तार गरिने छ ।