सुनवल खानेपानीको मूल्य समायोजन

लोकपाटी न्यूज

नवलपरासी। सुनवल खानेपानी तथा सरसफाइ संस्थाले खानेपानीमा पहुँच पुर्‍याउने उद्देश्यले महसुल दस्तुर तथा नयाँ धारा जडानमा मूल्य समायोजन गरेको छ। आम उपभोक्ताको चाहना र गुनासोलाई सम्बोधन गर्दै खानेपानीमा मूल्य समायोजन गरिएको हो।

चैत्र १ गते देखि लागू हुने गरी न्यूनतम मासिक महसुल दस्तुर ५० र नयाँ धारा जडानमा १० हजार १० रुपैयाँ कायम गरिएको खानेपानी संस्थाका नवनिर्वाचित अध्यक्ष खड्क बस्नेतले जानकारी दिए।

सुनवल खानेपानी तथा सरसफाइ संस्थाको सातौँ साधारण सभा तथा पाचौं अधिवेशनपछि बसेको पहिले बैठकले उक्त निर्णय गरेको हो। निर्वाचनका क्रममा आम उपभोक्तासँग गरेको प्रतिबद्धता अनुरूप मूल्य समायोजनसँगै एक घर एक खानेपानीको अभियानमा जोड दिइएको अध्यक्ष बस्नेतले बताए।

स्वच्छ खानेपानी आम जनताको पहुँचमा पुर्‍याउने, गरिब परिवारलाई किस्ताबन्दीमा खानेपानी जडान गर्ने, अति विपन्न परिवारहरूका लागि खानेपानी संस्थाले बनाएको मापदण्डमा रही सम्बन्धित वडा कार्यालयको सिफारिसमा निःशुल्क खानेपानी जडान गरिने समेत उनले जनाकारी दिए। यही फागुन १० गते सम्पन्न निर्वाचनमा नेकपाको प्यानल विजयी भएको थियो।

सुनवल खानेपानी तथा सरसफाइ संस्था अन्तर्गतका उपभोक्ताले न्यूनतम मासिक शुल्क १ सय ५० र नयाँ धारा जडानमा १५ हजार १० रुपैयाँ तिर्दै आएका थिए। खानेपानीमा मूल्य समायोजन गर्ने निर्णयबाट आम उपभोक्तालाई राहत मिल्ने विश्वास गरिएको खानेपानीका सदस्य रमेश नेपालीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्