निर्मला हत्या प्रकरणमा अमेरिकाको चासो

Nirmala Panta
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कानून उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ।

बुधवार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी वार्षिक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरूबारे अनुसन्धान गरेको तर कानूनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको औंलाएको छ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुरक्षा अधिकारीहरूले पछिल्ला वर्षहरूमा प्रदर्शन नियन्त्रणका नाममा अत्यधिक शक्ति प्रयोग गरेको समेत बताए। नेपाल सरकार र सरकारका प्रतिनिधिहरूले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सूची नै प्रकाशित गरेको छ।

जसमा जुन २० मा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज भनिएका कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ। विभिन्न मानवअधिकारवादी सङ्गठनले यो इन्काउन्टर नक्कली भएको बताए पनि अहिलेसम्म कुनै प्रहरी अधिकारीविरुद्ध कारबाही नगरिएको विषय रिपोर्टमा समावेश छ। निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषय पनि रिपोर्टमा उल्लेख छ।

यस्तै भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा पनि प्रश्न उठाइएको छ। जातीय आधारमा हुने भेदभाव, केही आदिवासी समूहलाई भएको भेदभाव, रोजगारका सन्दर्भमा भएको भेदभावलाई पनि रिपोर्टमा उल्लेख गरिएको छ। पछिल्ला वर्षमा समलिंगी तथा तेस्रो लिंगीमाथि हुने दुर्व्यवहार घटनामा कमी आएको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्