कोरोना सचेतनाका लागि एक हजार स्वयम्सेवक खटाइने

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। कोभिड १९ (कोरोना) भाइरसको संक्रमण हुन नदिने विषयमा सचेतना जगाउन शिक्षा र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा एक हजार स्वयम्सेवक परिचालन गर्ने भएको छ।

स्वास्थ्य विषय अध्ययन गरेका व्यक्तिलाई स्वयम्सेवकको रुपमा परिचालन गरिनेछ। शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार एमबीबीएस, बीपिएच, नर्सिङलगायत स्वास्थ्यसँग सम्बन्धित अन्य विषय पढेकालाई कोरोना भाइरसबारे चेतना जगाउन टोल टोलमा पठाइनेछ।

यसका लागि शिक्षा मन्त्रालयले सहसचिव दीपक शर्मा र स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीलाई संयोजक तोकेको छ। चिकित्सा शिक्षा आयोगलाई पनि यो अभियानमा सहभागी गराइनेछ। स्वास्थ्संग सम्बन्धित विभिन्न विषयहरु पढाइरहेका मेडिकल कलेजसँग समन्वय गरेर अभियान चलाइने सरकारी तयारी छ।

पहिलो चरणको योजना अनुसार स्वयमसेवकले कोरोना भाइरस के हो भन्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउनेछन्। त्यसपछि भाइरसको संक्रमण भएर भयावह अवस्था आएमा के गर्ने भन्ने विषयमा जानकारी गराउने केसीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्