दर्शनशास्त्रको क्षेत्रमा कार्ल मार्क्सको योगदान

Hast Bahadur KC
मार्क्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो, यो सर्वहारावर्गको दर्शन हो। तर यो अन्य दर्शनहरुझै अल्पसंख्यकहरुको, शोषकहरुको दर्शन नभएर बहुसंख्यकहरुको, सर्वहाराहरुको दर्शन हो।
लोकपाटी न्यूज

हस्तबहादुर के.सी.

कार्ल मार्क्स (सन् १८१८–१८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारा वर्गका महान् सिद्धान्तकार हुनुहुन्छ। आफ्ना अनन्य मित्र एवं सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नुभयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो। मार्क्सवादले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको संघर्ष गर्नका सैद्धान्तिक, राजनीतिक र सांगठानिक रुपले उत्प्रेरित गर्ने काम गर्‍यो।

प्रकृति, समाज, राज्य व्यवस्था, आदिका बारेमा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ। मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो। यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता मानिन्छन्।

सर्वहारा वर्गका अर्का महान् नेता भी.आइ. लेनिनको भनाइअनुसार “मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो।’ मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वको संश्लेषणबाट भएको छ।

मार्क्सको दर्शनको सम्बन्धमा

मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो। मार्क्सको दर्शनको सिद्धान्त भौतिकवाद हो। मार्क्सवादी दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ। मार्क्सवादी दर्शनले चेतनालाई वस्तु जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ। मार्क्सवादी दर्शनको पद्धति द्वन्द्ववाद हो। एंगेल्सले द्वन्द्ववादलाई बहसको कला बताउनुभएको छ।

एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात विपरीतहरुको एकता र संघर्षको नियम, मात्राको गुण र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियमको उल्लेख गर्नुभएको छ।

मार्क्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुबीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ। त्यस्तै मार्क्सको राजनीतिक अर्थशास्त्र श्रम मूल्यको सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ। साथै मार्क्सको वैज्ञानिक समाजवाद–वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको छ।

मार्क्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा मार्क्सको अतुलनीय योगदान रहेको छ। तर, यस लेखनमा भने दर्शनशास्त्रको क्षेत्रमा वस्तुतः मार्क्सले पु¥याउनुभएको अतुलनीय योगदानका बारेमा उल्लेख गर्ने प्रयत्न गरिएको छ।

(क) द्वन्द्वात्मकः भौतिकवादका क्षेत्रमा मार्क्सको योगदान

द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्दछ। द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ। यहाँ भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वका रुपमा अध्ययन गर्दछ भने द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ। तसर्थ यी दुवै अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवादमा हुन्छ।

हामीले पदार्थ के हो ? भन्नेबारेमा अध्ययन गर्न जरुरी हुन्छ। पदार्थ के हो ? भन्ने विषयमा लेनिन भन्नुहुन्छ, “पदार्थ त्यस वस्तुपरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक प्रवर्ग हो, जुन मान्छेमा उसका संवेदनाहरुद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरुवाट स्वतन्त्र रुपले अस्तित्वमान रही तिनीद्वारा प्रतिलिपि, फोटो चित्रित र प्रतिबिम्बित गरिन्छ।”

लेनिनको भनाइअनुसार हामीले पदार्थलाई मान्छेको मनबाहिर स्वतन्त्र रुपले अस्तित्वशील छ। पदार्थ संवेदनाहरुद्वारा हाम्रो मनमा प्रतिबिम्बित हुन्छ भनेर बुझ्नु पर्दछ। हामीले गति के हो ? भन्ने विषयमा पनि अध्ययन गर्नुपर्छ। गति के हो ? भन्नेबारेमा एंगेल्स भन्नु हुन्छ, “ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था, आन्तरिक गुण, स्थान परिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियाहरुको रुपमा बुझ्नु पर्दछ।”

साथै गति के हो ? भन्ने विषयमा अर्को ठाउँमा एंगेल्स भन्नुहुन्छ – “गति स्वयं एक अन्तर्विरोध हो। (एंगेल्स, ड्युहरिङ मतखण्डन पृ.१९३ प्रगति प्रकाशन मस्को)। हामीले समग्रमा के कुरा बुझ्नुपर्दछ भने गति भनेको पदार्थको अस्तित्वको अवस्था, गुण र सबै परिवर्तनको कारक तत्व हो। साथै गति पदार्थमा विद्यमान अन्तरविरोधको नाम हो। पदार्थ भनेको वस्तु हो, भौतिक अस्तित्व हो। हामीले पदार्थलाई यही रुपमा बुझ्नुपर्दछ।

मार्क्सले हेगेलमा रहेको आदर्शवादी चिन्तनलाई प्mयाँकी दिनुभयो र उनको द्वन्द्ववादलाई लिनुभयो। त्यसै गरी फायरवाखमा रहेको अधिभूतवादी चिन्तनलाई फ्याँकी दिनुभयो र उनको भौतिकवादलाई लिनु भयो र हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद (जो विधिशास्त्रको रुपमा थियो) लाई लिएर मार्क्सले द्वन्द्वात्मक भौतिकवाद बताउनुभयो। भनिन्छ “टाउकोले टेकेर उल्टो गरी उभिएको द्वन्द्वात्मक भौतिकवादलाई सुल्ट्याएर खुट्टाले टेकेको सुल्टो बनाइदिनुभयो। यसरी मार्क्सले द्वन्द्वात्मक भौतिकवादलाई विकास गरेर दर्शनशास्त्रका क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादलाई स्थापित गरेर दर्शनका क्षेत्रमा अर्थात् द्वन्द्वात्मक भौतिकवादको दार्शनिक फाँटमा मार्क्सले महत्वपूर्ण योगदान गर्नुभयो। यो मार्क्सको पहिलो योगदान हो।

दर्शनशास्त्रको मुख्य विशेषता भनेको समय सापेक्षता र वर्गीय पक्षधरमा नै हो। दर्शनशास्त्रको विकासको इतिहासको बारेमा मार्क्सले दर्शनशास्त्रलाई आप्mनो समयको “बौद्धिक सार तत्व हो” भन्नुभएको छ।

मार्क्सवादी दर्शन र सर्वहारावर्गको विश्वदृष्टिकोण हो। माथि पनि उल्लेख गरिएको छ, यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ। मार्क्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो। सामाजिक–आर्थिक पूर्वाधार प्रकृति विज्ञानका पूर्वाधार र सैद्धान्तिक पूर्वाधार यो दर्शन जन्मका प्रमुख पूर्वाधार हुन्छन्।

दर्शनशास्त्र प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान हो। यसलाई मार्क्सले नितान्त नयाँ र वैज्ञानिक ढंगले विकसित गर्नुभएको छ। मार्क्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नुभयो। पूँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुको आपसी सम्बन्धको अध्ययन गर्ने विज्ञानको रुपमा लिएका थिए। तर यसलाई मार्क्सले उल्ट्याई दिनुभयो। र मूल्यको श्रम सिद्धान्तलाई मार्क्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजको आधारमा समृद्ध तुल्याउनु भयो।

सामाजिक तथा वैज्ञानिक व्यवस्थाका रुपमा रहेको वैज्ञानिक समाजवाद, जुन वर्ग संघर्ष, बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वर्गहरुको विलोपको सिद्धान्तमा आधारित रहेको छ। मार्क्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गर्नुभयो।

दार्शनिक फाँटमा क्रान्ति

मार्क्सद्वारा विशेषतः द्वन्द्वात्मक भौतिकवादको अनुसन्धानले दार्शनिक फाँटमा ठूलो र क्रान्ति ल्यायो। यस विषयमा मोहन वैद्य किरण लेख्नुहुन्छ, ‘‘प्राचीन युनानका सहज भौतिकवाद र द्वन्द्ववादद्वारा विशेषत काण्डदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो। हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो। तर उनी आदर्शवादी थिए। त्यस्तै फायरवाखमा भौतिकवादको चरम विकास भएको थियो। तर उनी अधिभूतवादी र धार्मिक नैतिक क्षेत्रमा आदर्शवादी थिए। मार्क्स–एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नुभयो। त्यस्तै उहाँहरुले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई परिमार्जित, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशीला तयार पार्नुभयो।”

कमरेड किरणको यी भनाइहरु ठीक विश्लेषण रहेका छन्। साथै मार्क्सद्वारा दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नका निम्ति मार्क्सभन्दा पहिले प्रकृति विज्ञान र इतिहासवारे विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद जुन व्याप्त थिए र प्रकृति विज्ञान र इतिहास विज्ञानका क्षेत्रमा वास्तविक अन्तः सम्बन्धको सट्टा काल्पनिक तथा रहस्यमय अन्तःसम्बन्धको पक्षपोषण गरिन्थ्यो। तर मार्क्सले ठीक यसै ठाउँमा प्रहार गर्नुभयो र काल्पनिक, रहस्यमय अन्तः सम्बन्धको सट्टा वास्तविक र वैज्ञानिक अन्तः सम्बन्धको मान्यता प्रस्तुत गरी प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्ति गरी स्वतन्त्र विज्ञानको हैसियत प्रदान गर्नुभयो र दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभयो।

त्यस्तै इतिहास विज्ञानको क्षेत्रमा तमाम काल्पनिक समाजवादी तथा साम्यवादीहरुले पुँजीवादी उत्पादनबाट मजदुरहरुको मुक्तिको रुपमा अवश्यै देख्तथे। तर त्यसलाई वैज्ञानिक सिद्धान्तको रुप दिन सकेका थिएनन्। त्यस्तै हेगेलले इतिहासलाई अधिभूतवादबाट मुक्त गरी द्वन्द्ववादको रुप त अवश्यै प्रदान गरे। तर इतिहास सम्बन्धी उनको धारणा मूलतः आदर्शवादी थियो। त्यो स्थितिमा इतिहासको भौतिकवादी मान्यताको आविष्कार गर्नुभयो र मार्क्सले भन्नुभयो “मानिसको चेतनाले त्यसको अस्तित्व निर्धारण गर्दैन, अपितु यसको उल्टो त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारण गर्दछ।” यसरी इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स–एंगेल्स कुन निष्कर्षमा पुग्नुभयो भने “आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्गसंघर्षको इतिहास हो।”

यसरी मार्क्स–एंगेल्सद्वारा वर्गसंघर्षको सिद्धान्तको आधारमा इतिहास विज्ञानको क्षेत्रमा काल्पनिक अन्तः सम्बन्धका ठाउँमा वास्तविक अन्तः सम्बन्ध गरियो र यस आधारमा कुन मर्म उद्घाटित हुन्छ भने मार्क्स–एंगेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक र अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध कायम गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरुलाई राम्रोसँग उद्घाटन गर्नुभयो। यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारा वर्गको वैचारिक शास्त्रका रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादूर्भाव हुन पुग्यो, त्यो पुरानो ढंगको दर्शनशास्त्र नभई नयाँ विश्वदृष्टिकोण बन्न पुग्यो। जुन मार्क्सवादी दृष्टिकोण बन्न पुग्यो। यो नै सर्वहारा वर्गको विश्व दृष्टिकोण हो।

संसारमा धेरै प्रकारका दर्शन छन्। प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा मार्क्सवादी दर्शनको सम्बन्धमा पनि लागू रहन्छ। मार्क्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो यो सर्वहारावर्गको दर्शन हो। तर यो अन्य दर्शनहरुझै अल्पसंख्यकहरुको, शोषकहरुको दर्शन नभएर बहुसंख्यकहरुको, सर्वहाराहरुको दर्शन हो। त्यसैले मार्क्सवादी दर्शनलाई स्टालिनले “मार्क्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण”को रुपमा परिभाषित गर्नुभएको छ।

मार्क्स–एंगेल्सद्वारा मार्क्सवादको प्रतिपादन भएपश्चात विश्वको आमूल रुपान्तरणका लागि ऐतिहासिक जिम्मेवारी वहन गरिरहेका सर्वहारावर्गको प्रयासलाई उक्त दर्शनले सैद्धान्तिक आधार निर्देशन प्रदान गरेको छ। त्यसमा सर्वहारावर्गले संसारलाई ठीक ढंगसँग बुझ्ने र त्यसलाई बदल्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ। यस विषयको महत्वलाई दर्शाउँदै लेनिन अगाडि लेख्नुहुन्छ, “मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रुपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ।”

त्यस्तै मार्क्सवादका वारेमा स्वयम् मार्क्सले लेख्नुहुन्छ “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ।”

मार्क्सको दर्शन सर्वहारावर्गको सैद्धान्तिक शक्तिशाली हतियार सावित भएको छ। द्वन्द्वात्मक भौतिकवाद भनिएको उक्त दर्शन सम्पूर्ण मार्क्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तको आधार रहेको छ। मार्क्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओले अगाडि लेख्नुहुन्छ– “मार्क्सवाद ज्ञानका अनेकौं शाखाहरुबाट बनेको छ, मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ मार्क्सवादी दर्शन हो। यदि त्यसलाई मनन् गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन,हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्कमात्र गरी रहेका हुनेछौं। द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सके पछि थुप्रै दुःखकष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन्।”

माथि मार्क्स, लेनिन, माओद्वारा मार्क्सवादप्रति उल्लेख गरिएका संश्लेषणहरु वस्तुपरक र वैज्ञानिक रहेका छन्।

मार्क्सवाद एक गतिशील विज्ञान हो। यस विषयमा मार्क्स स्वयंले “मार्क्सवाद कुनै जडसूत्र होइन, यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो” भनेर भन्नुभएको छ। यो निरन्तर सिर्जनात्मक रुपले विकसित भइरहेको छ। आज मार्क्सवाद एक्लो छैन।

पहिलो मार्क्सवादको विकासको चरण। मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवाद र मार्क्सवाद –लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ। यो निरन्तर सृजनशील विकासको चरणमा छ। यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेध इकाइका रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद रहेको छ। माओवादलाई आजको विश्वको मार्क्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन।

मार्क्सको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो। दर्शनशास्त्रका क्षेत्रमा मार्क्सको योगदानका वारेमा चर्चा गरिरहँदा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा नै मार्क्सको महत्वपूर्ण र अतुलनीय योगदान रहेको छ। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो। यस विषयमा मोहन वैद्य किरण अगाडि लेख्नुहुन्छ, “सर्वहारा वर्गको चिन्तन तथा विश्वदृष्टिकोणको नाम हो–द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद। यो दर्शन फायरवाख र हेगेलसहित विगतका सबै दर्शनभन्दा गुणात्मक रुपमा भिन्न छ। मार्क्सले एकातिर फायरवाख सहितको यान्त्रिक भौतिकवादको आलोचना तथा खण्डन गर्नुभयो भने अर्कोतिर हेगेलको आदर्शवादी द्वन्द्ववादलाई सुल्टो तुल्याउनुभयो। मार्क्सको द्वन्द्ववाद उहाँको आप्mनै भनाइअनुसार सारमा आलोचनात्मक र क्रान्तिकारी रहेको छ। यस प्रकारको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद असली सारतत्व मार्क्सको शब्दमा विश्वको केवल व्याख्या मात्र होइन, अपितु त्यसलाई बदल्नु हो।”

यहाँनेर फ्रेडरिक एंगेल्सले यस प्रकारको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी विश्वदृष्टिकोणको रुपमा उल्लेख गर्नुभएको छ। यसका साथै मार्क्सवादी दृष्टिकोणको महत्वमाथि प्रकाश पार्दै लेनिन भन्नुहुन्छ, ‘मार्क्सको शिक्षा सर्वशक्तिमान छ, किनभने त्यो सत्य छ त्यो सम्पूर्ण तथा समग्रतापूर्ण छ र मानिसलाई एक यस्तो अखण्ड विश्वदृष्टिकोण प्रदान गर्दछ, जुनसुकै पनि प्रकारको अन्धविश्वास, प्रतिक्रियावादी प्रकृत्ति या पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ।” यस द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादवारे स्टालिन भन्नुहुन्छ, “द्वन्द्वात्मक भौतिकवाद मार्क्सवाद–लेनिनवादी विश्वदृष्टिकोण हो। यसलाई द्वन्द्वात्मक भौतिकवाद भन्नुको कारण के हो भने प्रकृतिका परिघटनालाई हेर्ने यसको दृष्टिकोण, त्यसको अध्ययन गर्ने र त्यसलाई बुझ्ने यसको तरिका द्वन्द्वात्मक छ। प्रकृतिक परिघटनाहरुको व्याख्या गर्ने यसको सिद्धान्त, त्यस सम्बन्धि यसको धारणा भौतिकवादी छ।

ऐतिहासिक भौतिकवाद भनेको सामाजिक जीवनको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको विस्तार हो। सामाजिक जीवनका परिघटनामा समाज र त्यसको इतिहासको अध्ययन गर्नमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको प्रयोग हो।”

मार्क्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको महत्वलाई स्पष्ट पार्ने प्रसंगमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओले जुन सारगर्मित विचार प्रस्तुत गर्नुभएको छ त्यसको मर्मलाई राम्रोसँग बुझ्न जरुरी हुन्छ। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई विभिन्न कोणबाट बुझ्न र परिभाषित गर्न सकिन्छ। यो सर्वहारा क्रान्तिको विज्ञान भएकाले, कम्युनिष्ट पार्टीको विश्वदृष्टिकोण भएकाले, सर्वहारावर्गको संघर्षको दर्शन भएकाले र साथै अन्तविरोधको विज्ञान पनि भएकाले यसलाई समग्रता द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सवादी लेनिनवादी–माओवादी पार्टीको विश्वदृष्टिकोण भनिन्छ।

यसले क्रान्तिको विज्ञानको रुपमा प्रकृति, समाज तथा चिन्तनमा विद्यमान अन्तर्विरोधहरु र वर्गसंघर्ष तथा दुई लाइन सघर्षका समस्याहरुलाई सिद्धान्तः बुझ्ने र व्यवहारतः तिनको समाधान गर्दै गुणात्मक ढंगले अगाडि बढ्ने काममा सर्वहारावर्गको पथप्रदर्शन तथा सेवा गर्दछ। यसले प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरुलाई द्वन्द्ववादी ढंगले अध्ययन गर्दछ र यस प्रकारको भौतिकवादी व्याख्या तथा द्वन्द्ववादी अध्ययनका आधारमा समग्र चिन्तन प्रणालीलाई एकीकृत विश्वदृष्टिकोणका रुपमा संश्लेषण गर्दछ। वास्तवमा मार्क्सवादी विश्वदृष्टिकोणलाई परिभाषामा होइन, विश्लेषणात्मक ढंगले बुझ्ने र त्यसको संश्लेषण गर्ने प्रक्रियामा नै आत्मसाथ गर्दै जान जरुरी हुन्छ।

मार्क्सको दर्शन जो मार्क्सकै अत्यन्तै महत्वपूर्ण र अतुलनीय योगदानको रुपमा रहेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मूल विषयलाई यस प्रकारले प्रस्तुत गर्न सकिन्छ।

१. द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त – यसमा चिन्तनको सत्तासँगको सम्बन्धको प्रश्नलाई भौतिकवादी विश्वदृष्टिकोणको आधारमा व्याख्या, विश्लेषण गर्नुपर्छ। द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त अन्तर्गत द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्दछ। द्वन्द्वात्मक भौतिकवादवारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम पदार्थ र गति, दिशा र काल तथा पदार्थ र चेतनाबारे चर्चा गर्न आवश्यक हुन्छ।

पदार्थ र गतिका वारेमा मोहन वैद्य किरण अगाडि लेख्नुहुन्छ, “द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ। भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वको रुपमा अध्ययन गर्दछ। द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ। यी दुवै अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवादमा हुन्छ।”

त्यस्तै पदार्थ के हो ? भन्ने वारेमा लेनिन भन्नुहुन्छ, “पदार्थ त्यस वस्तुपरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक प्रवर्ग हो, जुन मान्छेमा उसका संवेदनाहरुद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरुबाट स्वतन्त्र रुपले अस्तित्वमान रही तिनीद्वारा प्रतिलिपित, फोटोचित्रित र प्रतिविम्बित गरिन्छ।”

त्यस्तै गति के हो ? भन्नेबारेमा एंगेल्स भन्नु हुन्छ–“ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था आन्तरिक गुण, स्थान परिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियाहरुका रुपमा बुझ्नुपर्दछ।” अर्को ठाउँमा एंगेल्स भन्नुहुन्छ, “गति स्वयं एक अन्तर्विरोध हो।”

त्यसैले हामीले समग्रतामा के बुझ्नुपर्छ भने गति भनेको पदार्थको अस्तित्वको अवस्था, गुण र सबै परिवर्तनको कारक तत्व हो र गति पदार्थमा विद्यमान अन्तविरोधको नाम हो। गति र पदार्थ एक अर्कोमा घनिष्ट रुपले गाँसिएका छन्। न जन्मन्छन् न मर्नेछैन नै। एक अवस्थाबाट अर्को अवस्थामा बदलिन्छन्। सम्पूर्ण विश्व यसै गतिशील पदार्थको उपज र अभिव्यक्ति हो।

पदार्थ भनेको वस्तु हो, भौतिक अस्तित्व हो। यसका विविध रुपहरु हुन्छन्। पदार्थ र गति सम्बन्धि यस प्रकारको अध्ययनबाट कुन कुरा पुष्टि हुन्छ भने विश्वको अस्तित्व द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा आधारित रहेको छ। र विश्वको जन्म विकासका लागि कुनै ईश्वर निरपेक्ष विचार, प्रमात्मा जस्ता काल्पनिक कुराको आवश्यकता पर्दैन। यसबाट आदर्शवाद मात्र होइन, यान्त्रिक भौतिकवादको पनि राम्रो खण्डन हुन्छ। साथै यस कुराको पुष्टि प्रकृति विज्ञानका नयाँ विकसित विभिन्न शाखाहरुबाट समेत राम्रोसँग हुँदै आएको छ।

यस अतिरिक्त अलवर्ट आइन्सटाइनद्वारा प्रतिपादित सापेक्षवादको सिद्धान्तले पदार्थको गतिको एकत्वको सिद्धान्तलाई नयाँ ढंगले थप पुष्टि गरेको छ। आइन्सटाइनको यस प्रकारको एकीकृत सिद्धान्त सम्बन्धि मान्यतालाई विकसित तुल्याउने क्रममा एक अगेज वैज्ञानिक स्टिफेन हकिङ्गसको आविष्कार अनुसार, बह्माण्ड नियम शासित छ। ब्रह्माण्डको अध्ययनमा दुई सिद्धान्त क्रियाशील रहँदै आएका छन्। सापेक्षतावादको सामान्य सिद्धान्त र क्वान्टमा यान्त्रिकी स्टिंफेन हकिङ्गसले यी दुवै सिद्धान्तलाई मिलाएर एक नयाँ सिद्धान्त अर्थात गुरुत्वको क्वान्टम सिद्धान्तको खोजीलाई आफ्नो उद्देश्य बताएका थिए।

यी समग्र अध्ययनहरुबाट के पुष्टि हुन्छ भने द्वन्द्वात्मक भौतिकवादीहरुले एकातिर प्रकृति विज्ञानमा हुने विकासमाथि ध्यान दिन जरुरी हुन्छ भने अर्कोतिर प्रकृति वैज्ञानिकहरुलाई भौतिकवादतर्फ आकर्षित गर्ने कुरामा पनि विशेष ध्यान दिनु पर्दछ।

विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तरगत कायम रहन सक्तछ। दिशा र कालवारे आदर्शवादी र भौतिकवादीहरुका बीच विवाद चल्नै आएको छ। यो दिशा र काल सम्बन्धि दर्शनशास्त्रको मूल प्रश्न हो। यस प्रश्नको जवाफ दिने क्रममा जसले दिशा र काल सम्बन्धि अवधारणाहरुलाई वस्तुगत पदार्थको अभिव्यक्ति मान्दछन्, ती भौतिकवादी हुन्, यसको उल्टो तिनलाई चेतना वा विचारको उपज मान्नेहरु आदर्शवादी हुन्।

दिशा र काल सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी मान्यताका बारेमा लेनिन भन्नुहुन्छ– विश्वका गतिमान पदार्थका अतिरिक्त अरु केही छैनन् र गतिमान पदार्थ दिशा र काल अन्तरगत नै गतिमान हुन सक्तछन्। दिशा र कालका मानव अवधारणाहरु विकसित हुँदै निरपेक्ष सत्यतर्फ बढ्दछन्, उत्तरोत्तर त्यसको नजिकै पुग्न जान्छन्।

पदार्थ र चेतनाबीच एकरुपता छ। पदार्थवाट चेतनाको विकास हुन्छ। चेतना पदार्थका गतिका सर्वोच्च रुप हो। पदार्थबाट जीवन, जीवनबाट मष्तिष्क र मष्तिष्कबाट चेतनाको जन्म हुन्छ।

आदर्शवादीहरु चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मान्दछन्। तर भौतिकवादीहरु पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन्। यान्त्रिक भौतिकवादीहरु पदार्थलाई पहिलो माने पनि चेतनालाई पदार्थको यान्त्रिक वा कोरा नक्कलको रुपमा ग्रहण गर्दछन्। तर द्वन्द्वात्मक भौतिकवादीहरु चेतनालाई पदार्थको सुसंगठित तथा गुणात्मक ढंगले विकसित प्रतिबिम्बनको उच्च अभिव्यक्ति मान्दछन्। प्रतिविम्बनका सबै रुपहरुमा उच्च रुप हो चिन्तन। यो मानिसमा मात्र हुन्छ। यसको अध्ययन निम्न तरिकाले गर्न सकिन्छ।

२. द्वन्द्वात्मक भौतिकवादको पद्धति। यसमा प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरुको द्वन्द्ववादी विश्वदृष्टिकोणको आधारमा अध्ययन गरिन्छ।

३. द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त। यसमा ज्ञानको स्रोत, स्वरुप, कसी र विधिवारे भौतिकवादी सिद्धान्त र द्वन्द्ववादका पद्धतिका आधारमा अध्ययन गरिन्छ।

४. ऐतिहासिक भौतिकवादको सिद्धान्त। यसमा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, पद्धति र ज्ञान–सिद्धान्तका आधारमा सामाजिक चिन्तनको सामाजिक सत्तासँगको सम्बन्धको प्रश्नवारे अध्ययन गरिन्छ।

यसका साथै द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त अन्तरगत आदर्शवाद र भौतिकवादका वीचमा भिन्नता निर्धारण गर्ने क्रममा दार्शनिक सिद्धान्तको अध्ययन गर्ने क्रममा हामी के पाउँछौ भने दार्शनिक सिद्धान्तहरु दर्शनशास्त्रको मौलिक प्रश्नसँग सम्बन्धित छन्। ती हुन भौतिकवाद र आदर्शवाद यी पनि विभिन्न धारामा विभाजित रहेका छन्। दार्शनिक सिद्धान्तलाई अद्धैतवाद, द्धैतवाद र बशुलवादका आधारमा पनि वर्गीकरण गरिएको छ। भौतिक तत्वको निषेध गरी आत्मिक वा अलौकिक तत्वलाई प्राथमिकता दिने सिद्धान्तको नाम आदर्शवाद हो। आदर्शवाद प्रारम्भदेखि अहिलेसम्म प्रतिक्रियावादी वर्गको दार्शनिक सिद्धान्त रही आएको छ। आदर्शवाद पनि विभिन्न धारमा विभाजित रहेको छ। जस्तै वस्तुनिष्ट आदर्शवाद, आत्मनिष्ट आदर्शवाद।

भौतिक तत्व वा पदार्थलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्ने सिद्धान्तलाई भौतिकवाद भन्दछन्। भौतिकवादले प्रारम्भिकदेखि अहिलेसम्म प्रगतिशील तथा अग्रगामी वर्गको सेवा गर्दै आएको छ। भौतिकवादका विविध धाराहरु रहेका छन्। जस्तैः स्वतः स्फूर्त भौतिकवाद। यान्त्रिक भौतिकवाद द्वन्द्वात्मक भौतिकवाद।

भौतिकवाद र आदर्शवादका बीचमा कैयौं दार्शनिक धाराहरु रहेका छन् ती हुन् : द्वैतवाद, आदि।

द्वन्द्वात्मक भौतिकवाद एक नयाँ छलाङ्गका बारेमा अध्ययन गर्न जरुरी हुन्छ। भौतिकवादको तात्पर्य प्रकृति र समाज जुन अवस्थामा छन्, तिनलाई त्यसरी नै बुझ्न हो। दर्शनशास्त्रको इतिहासमा भौतिकवादको तीन रुप पाइन्छन्। जस्तै ः स्वतः स्फूर्त भौतिकवाद, यान्त्रिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद।

यस विषयमा प्रकाश पार्दै मोहन वैद्य किरण लेख्नुहुन्छ “स्वतःस्फूर्त भौतिकवाद प्राचीन युनान, भारत र चीनमा विकसित भएको पाइन्छ। यसले सहज रुपमै भएपनि विश्वको द्वन्द्वात्मक र भौतिकवादी तस्विर प्रस्तुत गर्दै थियो। स्वतस्फूर्त भौतिकवादको बढि व्यवस्थित रुप प्राचीन युनानी भौतिकवाद थियो। तर त्यसका पनि सीमा थिए, त्यसले विश्वको विकासको तार्किक जवाफ दिन सक्तैनथ्यो। त्यसैको परिणाम आदर्शवाद विकसित हुन पुग्यो।

मध्ययुगमा ईश्वरवादका रुपमा आदर्शवाद प्रभावी रहयो। यान्त्रिक भौतिकवाद त्यसै आदर्शवादका विरुद्ध विकसित दार्शनिक धारा थियो। यसले विश्वको यान्त्रिक तस्वीर, प्रस्तुत गर्दथ्यो। यसले पनि आदर्शवादका विरुद्ध प्रभावकारी संघर्ष चलाउन सकेन। त्यो स्थितिमा मार्क्स एंगेल्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विकास भयो।

द्वन्द्वात्मक भौतिकवाद प्रकृति समाज र चेतना सबै क्षेत्रको दार्शनिक सिद्धान्त हो। नयाँ भौतिकवाद तत्वमीमांसा, ज्ञानमीमांसा, समाजवादसँग सम्बन्ध, दार्शनिक पक्षधरता द्वन्द्वात्मक भौतिकवादका सैद्धान्तिक विशेषताहरु हुन्।

नयाँ भौतिकवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो। द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ। द्वन्द्ववादले पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ। यस विषयमा मोहन वैद्य किरण लेख्नुहुन्छ– भौतिकवादले गतिशील पदार्थलाई विश्वको आदि कारण वा प्राथमिक तत्व मान्दछ। गति र पदार्थ एक अर्कोबाट कहिल्यै पनि अलगिँदैनन्। जब गति र पदार्थ एक अर्कोबाट अलगिँदैनन् भने त्यो स्थितिमा पदार्थमा विद्यमान गतिको अध्ययन गर्ने द्वन्द्ववाद र गतिशील पदार्थलाई प्राथमिक स्थानमा राख्ने भौतिकवाद कुनै पनि हालतमा अलगिन सक्तैनन्। द्वन्द्ववाद र भौतिकवादका बीच भिन्नता हुन्छ र अनि त्यो दर्शनको नाम द्वन्द्वात्मक र भौतिकवाद बन्न पुग्दछ। दर्शनको इतिहासमा एक अर्कोबाट अलगिएका द्वन्द्ववाद र भौतिकवादलाई एउटै ठाउँमा मिलाउने काम कार्लमार्क्स र फ्रेडरिक एंगेल्सले गर्नुभयो।”

द्वन्द्वात्मक भौतिकवाद नयाँ भौतिकवाद हुनुको कारण यो आदर्शवादका विरुद्ध मात्र होइन, स्वतः स्फूर्ती भौतिकवाद र यान्त्रिक भौतिकवादका विरुद्ध पनि परिलक्षित रहेको छ। पुरानो भौतिकवादभन्दा नयाँ भौतिकवाद कुन कुरामा फरक छ त ? यसबारेमा मार्क्स भन्नुहुन्छ, “दार्शनिकहरुले विभिन्न तरिकाले विश्वको व्याख्या गरेका छन्। तर प्रश्न विश्वालाई बदल्नु हो।” मार्क्सको यो विचार नै नयाँ भौतिकवादको आधारभूत प्रस्थापना हो। यसले स्वतःस्फूर्त र यान्त्रिक भौतिकवादले जस्तै विश्वको व्याख्या मात्र गर्दैन, अपितु मुख्यत विश्वलाई बदल्ने कुरा गर्दछ। ठीक यसैकारण मार्क्सको भौतिकवाद पुरानो भौतिकवाद नभई नयाँ भौतिकवाद बन्न गएको छ। वैज्ञानिक भौतिकवाद बन्न गएको छ।

तत्वमीमांसा दर्शनशास्त्रको एउटा मूल क्षेत्र हो। यसलाई तत्व दर्शन पनि भनिन्छ। अर्को महत्वपूर्णं कुरा के छ भने तत्वमीमांसाको क्षेत्रमा भौतिक भौतिकवादका आधारभूत मान्यताहरु रहेका छन्। जस्तैः पदार्थ प्राथमिक र चेतनाको द्वितीय भूमिका, पदार्थको स्वगतिशीलता, सत्ताको अद्धैतता तथा भौतिकता, ईश्वर वा कुनै अलौकिक शक्तिको निषेध।

समग्रमा भन्नुपर्दा द्वन्द्वात्मक भौतिकवादले प्रकृति र समाजलाई अर्थात विश्वलाई प्राथमिक दर्जामा राख्दछ र यसले चेतनाभन्दा बाहिर विश्वको स्वतन्त्र अस्तित्व अंगिकार गर्दछ। यसले विश्वको अद्धैतलाई भौतिकतामा स्वीकार गर्दछ। यो विश्वको भौतिक एकत्वको सिद्धान्त हो। यो नै द्वन्द्वात्मक भौतिकवादको तत्वमीमांसा हो।

त्यस्तै ज्ञानमीमांसा दर्शनशास्त्रको अर्को मूल क्षेत्र हो। यसलाई ज्ञान दर्शन पनि भनिन्छ। विचार वा ज्ञानको श्रोतको रुपमा भौतिक संसार। ज्ञानमीमांसाको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादले विचार वा ज्ञानको श्रोतको रुपमा भौतिक तथा सामाजिक संसारलाई अंगिकार गर्दछ। यसले अलौकिक शक्ति, परमचेतना वा आत्मालाई ज्ञानको श्रोत मान्दैन।

सत्ता र चेतनाको एकरुपताको प्रश्न द्वन्द्वात्मका भौतिकवादले सत्ता र चेतना, विषय र विषयी पदार्थ र चेतना र भौतिक जगत र मानसिक जगत वीचमा एकरुपता हुने कुरा अंगिकार गर्दछ। सत्ता र चिन्तनको यो एकरुपता द्वन्द्वात्मक एकरुपता हो। दर्शनलाई व्यवहारिक रुप दिनुको विशेष अर्थ छ र यो दुनीयाँ बदल्ने कुरामा आधारित रहेको छ। यो द्वन्द्वात्मक भौतिकवादको ज्ञान मीमांसा हो।

भौतिकवाको सिद्धान्त साम्यवादसँग जोडिएको छ। सर्वहारावर्गको विचारधारा समाजवादी विचारधारा हो। वर्ग समाजमा विचारधाराको स्वरुप वर्गीय हुन्छ। दर्शन, राजनीति, नैतिकता, कानून र सौन्दर्य चेतनामा आधारित सर्वहारावर्गको विचार प्रणाली नै समाजवादी विचारधारा हो। यसरी द्वन्द्वात्मक भौतिकवाद वैज्ञानिक समाजवाद र साम्यवादसँग घनिष्ट रुपमा जोडिन पुगेको छ।

दार्शनिक पक्षधरताका क्षेत्रमा वैचारिक पक्षधरता द्वन्द्वात्मक भौतिकवादको मूल विशेषता हो। यसले पूँजीवादका विरुद्धको संघर्षमा सर्वहारावर्गको पक्षधरता अंगिकार गर्दछ। यसले सिद्धान्तलाई बुझ्ने कुरालाई मात्रै होइन, त्यसलाई सर्वहारावर्गको हितका लागि व्यवहारमा प्रयोग गर्नुपर्ने कुरा बताउँछ। यस विषयमा माओ भन्नुहुन्छ ,“द्वन्द्वात्मक भौतिकवादको मार्क्सवादी दर्शनका दुई प्रमुख विशेषता छन्– एउटा यसको वर्गीय स्वभाव हो, यसले खुला रुपबाट द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको पक्षमा छ भनि स्वीकार गर्छ र अर्को यसको व्यवहारिकता हो, यसले व्यवहारमा सिद्धान्तको निर्भरतामाथि बल दिन्छ, सिद्धान्त व्यवहारमा आधारित हुन्छ र त्यसो हुँदा यसले व्यवहारलाई नै सघाउँछ भन्ने कुरामा बल दिन्छ।” माओको उक्त भनाइहरुबाट मार्क्सको भौतिकवाद उत्पीडित सर्वहारावर्ग र सिंगो मानव जातिको मुक्तिको दर्शन हो भन्ने कुरा प्रष्ट हुन्छ।

मार्क्स – एंगेल्सद्वारा द्वन्द्ववादका नियमहरुको निरुपण

द्वन्द्ववादका तीन नियम निरुपन गरिएको छ। मार्क्स एंगेल्सले द्वन्द्ववादलाई वस्तुमा विद्यमान अन्तः सम्बन्धको विज्ञानको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँहरुले द्वन्द्ववादलाई प्रकृति, समाज र चिन्तनका गतिका आम नियमहरुको विज्ञान बताउनुभएको छ। गति भनेको अन्तर्बिरोध हो र त्यो प्रकृति समाज तथा चिन्तनमा आम रुपमा व्याप्त छ।

द्वन्द्ववादको नियम सम्बन्धि अवधारणावारे एंगेल्सले “यो प्रकृति तथा मानव समाजको इतिहास हो, जसबाट द्वन्द्ववादका नियमहरुलाई ग्रहण गरिन्छ। ती ऐतिहासिक विकासका साथै स्वयं चिन्तनका सबैभन्दा सामान्य नियमहरु बाहेक अरु केही होइनन् भन्दै १. विपरितहरुको संघर्षको नियम, २. गुणको परिमाण र परिमाणको गुणमा रुपान्तरणको नियम, ३. निषेधको निषेधको नियम बताउनुभएको छ।

लेनिनले मार्क्सवादी मान्यतामा आधारित रही द्वन्द्ववादलाई पहिलो तीन र पछि सोह्र तत्वहरुमा विभाजित गरी तिनलाई विपरितहरु को एकरुपतामा संकेन्द्रित गर्नु भएको छ। माओले विपरितहरुको एकरुपताको नियम परिमाणको गुणमा रुपान्तरणको तथा नकार र सकारको नियमलाई तीन नियमका रुपमा उल्लेख गर्नुभएको छ। माओले मार्क्सवादी दर्शन संघर्षको दर्शन हुने र दुईको एक संयोजन समन्वय हुने र एक दुईमा विभाजन द्वन्द्ववादी वैज्ञानिक हुने कुरा बताउनुभएको छ।

यसरी अन्ततः विपरितहरुको एकरुपताको नियम नै द्वन्द्ववादको आधारभूत नियम बन्न जान्छ। मार्क्स एंगेल्सको द्वन्द्ववाद सम्बन्धि आधारभूत नियमका आधारमा पनि यही नै हो।

ऐतिहासिक भौतिकवादको क्षेत्रमा

ऐतिहासिक भौतिकवादको अनुसन्धान कार्लमार्क्सको आफ्नै आविष्कार हो। अर्थात् कार्ल मार्क्स ऐतिहासिक भौतिकवादका आविष्कारक हुनुहुन्छ। उहाँले वर्गीय चल्ने वर्गसंघर्षका नियमहरु पत्ता लगाउनुभयो।

ऐतिहासिक भौतिकवाद भनेको समाज विज्ञानका सामान्य नियमहरुको विज्ञान हो। यो सिद्धान्त समाजलाई भौतिकवादी ढंगले हेर्ने, बुझ्ने व्याख्या गर्ने र बदल्नका निम्ति पथप्रदर्शन गर्ने मार्क्सवादी लेनिनवादी माओवादी विश्वदृष्टिकोण हो। द्वन्द्वात्मक भौतिकवादको आधारमा इतिहासको भौतिकवादी व्याख्या गर्ने वैज्ञानिक दृष्टिकोणलाई ऐतिहासिक भौकिवाद भनिन्छ।

कार्ल मार्क्सद्वारा प्रतिपादन गरिएको ऐतिहासिक भौतिकवाद द्वन्द्वात्मक भौतिकवादको अभिन्न अंग हो। किनभने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सको दर्शन हो र यो नै सर्वहारा वर्गको विश्वदृष्टिकोण हो। खासमा समाज विकासको ऐतिहासिक प्रक्रियाका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानलाई ऐतिहासिक भौतिकवाद भनिन्छ। ऐतिहासिक भौतिकवादमा इतिहास तथा समाज विकासका उत्प्रेरक शक्तिहरुको अध्ययन गरिन्छ।

द्वन्द्वात्मक विश्वदृष्टिकोणको आधारमा मानव जातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा मार्क्सद्वारा ऐतिहासिक भौतिकवादको अनुसन्धान भएको हो। ऐतिहासिक भौतिकवादको खोजले इतिहासको अध्ययनमा विद्यमान आदर्शवाद र अधिभूतवादको अन्त्य गरिन्छ।

मार्क्सद्वारा ऐतिहासिक भौतिकवादको आविष्कारले इतिहासको क्षेत्रमा क्रान्ति 

कार्ल मार्क्सद्वारा ऐतिहासिक भौतिकवादको प्रतिपादन हुनु भन्दा पहिले इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद, आदर्शवाद र अधिभूतवाद व्याप्त थिए। प्रकृति दर्शनको जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्तःसम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तः सम्बन्धलाई स्थापित गरीदै आउने काम भएको थियो। फायरवाख र हेगेल दुवै आदर्शवादमा फसेका थिए। हेगेलको आदर्शवादलाई उल्ट्याउँदै आफ्नो प्रसिद्ध रचना ‘पवित्र परिवारमा मार्क्सले भन्नुभएको छ, “इतिहास केही होइन, अपितु लक्ष्योन्मुख मानिसको गतिविधि हो।

मार्क्सको यो विचारलाई उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग भन्न सकिन्छ। यस सम्बन्धमा आफ्नो प्रसिद्ध कृति जर्मन विचार धारामा मार्क्सले भन्नुभएको छ, “जीवन चेतनाद्वारा निर्धारण हुँदैन, अपितु चेतना जीवनद्वारा निर्धारित हुन्छ।” यी अभिव्यक्तिहरु मार्क्सका इतिहास सम्बन्धि विचारलाई इतिहास दर्शनको क्षेत्रमा एक महान् क्रान्तिका रुपमा ग्रहण गर्नु आवश्यक छ। ऐतिहासिक भौतिकवादको प्रतिपादनपछि यसले इतिहासको क्षेत्रमा ठूलो क्रान्ति ल्याइदियो र त्यस स्थितिमा इतिहासको क्षेत्रमा काल्पनिक या रहस्यमय अन्तःसम्बन्ध पनि स्वतः ध्वस्त हुनु पुग्यो र त्यो ठाउँमा वास्तविक अन्तःसम्बन्ध कायम भयो।

(ख) ऐतिहासिक भौतिकवादको विषयवस्तुका क्षेत्रमा मार्क्सवादको योगदान

ऐतिहासिक भौतिकवाद त्यो दार्शनिक एवं समाज विज्ञान हो, जसले इतिहासका गतिका सामान्य नियमहरुको अध्ययन गरिन्छ। यो अध्ययन ऐतिहासिक भौतिकवादको निश्चित प्रवर्ग हो। यसको अध्ययन ऐतिहासिक भौतिकवादका निश्चित प्रवर्ग पद्धति र सिद्धान्तसँग सम्बन्धित रहेको छ।

ऐतिहासिक भौतिकवादको पद्धति भौतिकवादी द्वन्द्ववादको पद्धतिमा आधारित छ। यो पद्धति सबैखाले अधिभूतवादम विरुद्ध खडा छ। ऐतिहासिक भौतिकवादको सिद्धान्त सामाजिक सत्ता र सामाजिक चेतनाबीच विद्यमान सम्बन्धको अध्ययन गर्ने दर्शनशास्त्रको भौतिक प्रश्नसँग सम्बन्धित रहेको छ। इतिहास सम्बन्धि दर्शनशास्त्रको यस प्रकारको मौलिक प्रश्नमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको सामाजिक सत्तालाई ज्ञेय, बोधगम्य बताउँछ। यसको अध्ययन उत्पादक शक्ति, उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा अन्तरविरोधमा आधारित रहेको छ भन्ने कुरा मार्क्सले स्थापित गर्नुभयो।

वर्ग, वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, वर्ग र राज्यको विलोपीकरणबारे

वैज्ञानिक समाजवादको क्षेत्रमा खास गरी समाजमा वर्गहरु हुन्छन् भन्ने कुरा पहिले नै सबैलाई थाहा भइसकेको थियो। वर्गीय समाजमा चल्ने वर्ग संघर्षलाई कसरी हल गर्ने भन्ने कुरामा मार्क्सले अध्ययन, अनुसन्धान गर्नुभयो। समाजमा चल्ने वर्गसंघर्षका वैज्ञानिक नियमहरु पत्ता लगाउनुभयो। वर्ग संघर्षले नै वर्ग वर्गहरुका बीचमा चल्ने वर्गसंघर्षको नियमहरु मार्क्सले अनुसन्धान गर्नुभयो।

समाजमा वैज्ञानिक अवस्थाहरु निर्धारण गरेर, मार्क्सले युग विकासका क्रमहरु निर्धारण गर्नुभयो। जस्तै आदिम साम्यवाही युग, दास युग, सामन्तवादी युग, पूँजीवादी युग र वैज्ञानिक समाजवादी युग गरी पाँच वटा युग विकासका क्रमहरुको वर्गीकरण गरिदिनु भयो र आदिम समाजवादी युगबाहेक अन्य सबै युगहरु वर्गीय समाज अन्तर्गत सञ्चालन भएका युगहरु भएको वैज्ञानिक ढंगले पुष्टि गरिदिनु भयो। मार्क्सले समाज विकासका गतिका नियमहरु निर्धारण गरेर युग विकासका क्रम बमोजिम समाजवादमा पुग्ने र त्यो साम्यवाद वर्गविहिन, राज्यविहिन समाज व्यवस्था हुने कुरा बताउनुभयो। र उत्पादन सम्बन्ध र वर्गसंघर्ष नै समाज परिवर्तनका मुख्य कडी भएको सुनिश्चित गर्दै मानव समाज साम्यवादमा पुगेपछि क्रमशः वर्गको विलोपीकरण हुने राज्यको विलोपीकरण हुने समाज विज्ञानका गतिका निश्चित नियमहरु पत्ता लगाएर, मार्क्सले स्थापित गरी दिनुभयो। अर्थात् मानव समाज वैज्ञानिक साम्यवादमा पुगेर वर्गहरुको विलोपीकरण हुने, राज्यहरुको विलोपीकरण हुने कुराको वैज्ञानिक ढंगले संश्लेषण भयो।

ऐतिहासिक भौतिकवादका क्षेत्रमा मार्क्सको योगदानहरु के–के हुन् भन्ने कुरा आउँछ। पहिलो मार्क्सले समाज विज्ञान र इतिहास विज्ञानका क्षेत्रमा ग्रहण अध्ययन गर्नुभयो, समाज विकासका र परिवर्तनका गतिका नियमहरु पत्ता लगाउनु। दोस्रो मार्क्सले वर्ग संघर्ष अनिवार्य छ र वर्गसंघर्ष चलाउनको निम्ति सर्वहारावर्गसँग आफ्नै पार्टी अर्थात् सर्वहारावर्गको राजनीतिक अग्रदस्ता कम्युनिष्ट पार्टीको आवश्यकता औल्याउनुभयो। र पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनु भयो। तेस्रो वर्ग संघर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र संघर्षमा जानैपर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्छ, भन्दै मार्क्सले इतिहासबाट प्राप्त शिक्षा जस्तै फ्रान्सको वर्गसंघर्ष, पेरिस कम्युन लिँदै मार्क्सले सर्वहारावर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्नुभयो। सर्वहारावर्गको अधिनायकत्व किन आवश्यक छ ? भन्ने कुरामा (१) वर्ग विभेद अन्त्य गर्नका लागि, (२) वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्ध अन्त्य गर्नका लागि (३) उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरुको उन्मुलन गर्नका लागि र (४) सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरु, जो हुन् तिनीहरुलाई क्रान्तिकारीकरण गर्नका लागि पुँजीवाद समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि समाजवाद संक्रमणकाल हो भन्ने शिक्षा दिनुभयो।

मार्क्सले फ्रान्समा वर्गसंघर्ष र पेरिस कम्युनबाट शिक्षा लिँदै सर्वहारावर्गले वर्गसंघर्षको माध्यमबाट पुरानो राज्यसत्तालाई चकनाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता मार्क्सले विकसित गर्नुभयो। मार्क्सले इतिहासको अध्ययन गर्ने क्रममा “आदिम साम्यवादलाई छोडेर आजसम्मको मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो” भन्ने प्रमाणित गरी दिनुभयो। ऐतिहासिक भौतिकवादका क्षेत्रमा मार्क्सका महत्वपूर्ण योगदानहरु यिनै हुन्।

मार्क्स –एंगेल्सद्वारा संशोधनवादीहरुका विरुद्ध भने कठोर संघर्ष

मार्क्स र एंगेल्सले प्रथम अन्तर्राष्ट्रियमा घुसेका प्रोडोनवादीहरु र लासालवादीहरु जस्ता अवसरवादीहरु र ब्लांकीवादीहरु जस्ता आतंकवादीहरुका विरुद्ध भीषण वैचारिक संघर्ष गर्नुभयो। र प्रथम अन्तर्राष्ट्रियलाई विघटन गरेरै भएर पनि मार्क्सवाद र मार्क्सवादी दर्शनको रक्षा र विकासमा महत्वपूर्ण योगदान गर्नुभयो। ती अवसरवादी, आतंकवादी एवं संशोधनवादीहरुका विरुद्ध भीषण वैचारिक संघर्ष गरेर क्रान्तिकारी मार्क्सवादको रक्षा र विकास गर्नु परेको विषयमा एंगेल्सले भन्नुभएको छ “सर्वहारावर्गको विकास जहाँकही पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ जस्तो कि मार्क्स र म आफैले पनि अरु कसैसँग भन्दा बढी नक्कली समाजवादीहरु विरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौं।” एंगेल्सका यी भनाइहरु सार्वभौम छन्।

कार्ल मार्क्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) ले कम्युनिष्ट लिगमार्फत् सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी मार्क्सवादको प्रतिपादन गर्नुभयो। कम्युनिष्ट घोषणापत्रमार्फत विश्व सर्वहारा कालमा पहिलोपटक आफ्नो मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त प्राप्त गर्‍यो।

मार्क्सले पहिलो नम्बरमा जुन आफ्नो दर्शनको रुपमा रहेको द्वन्द्वात्मक भौतिकवादको अनुसन्धान गरेर यसलाई विकसित तुल्याउनुभयो। दोस्रो नम्बरमा मार्क्सले दर्शनशास्त्रका क्षेत्रमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर समाज विकासका सामान्य विज्ञानका रुपमा समाज विकासको ऐतिहाकि प्रक्रियाको गतिका सामान्य नियमहरुको अनुसन्धान गर्ने र ती नियमहरुलाई स्थापित गर्ने कार्य गरेर मार्क्सले दर्शनशास्त्रका क्षेत्रमा महत्वपूर्ण र अतुलनीय योगदान पुर्‍याउनु भएको छ।

(लेखक केसी मार्क्सवादी चिन्तक हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्