प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिँदा उचित हुन्छ : जबरा

pashupati samser jabara
लाेकपाटी न्यूज

काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे-जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे। उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन् । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ। उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ।’

साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए। उनले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भिर आरोप लगाए। उनले भने, ‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो, तर, सरकारले कुनै पनि किसिमको सेवा दिन सकेन। सरकार सेवा दिने कुरामा असफल भयो।’

अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए। उनले भने, ‘अहिले व्यापक भ्रष्टाचार बढेको छ। सरकाले काण्डै काण्ड घटाएको छ। ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ। न्यायालयमा त झनै बढि राजनीतिकरण भयो।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ।

उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे। उनले भने, ‘अमेरिकी सहयोग एमसीसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो।’ त्यस्तै, प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदा पनि कुनै किसिमको खबरदारी गर्न नसकेको उनको अर्को आरोप छ।

उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए। उनले आफूहरुले सबै पक्षलाई स्वीकार्य हुने गरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्