प्रचण्डपथको औचित्य र महत्व

Mohan Baidya
सिद्धान्तको विकासमा जडसुत्रवाद हमेशा वाधक बन्न पुग्दछ। अर्कोतिर अनुभववादले क्रान्तिका व्यवहारिक अनुवभवहरुतिर पुरै जोड दिएको त हुन्छ। तर त्यसले क्रान्तिका अनुभवहरुद्वारा प्राप्त नयाँ अन्तरवस्तुलाई आत्मसात गर्ने र त्यसलाई सिद्धान्तको स्तरमा उठाउनेतर्फ पटक्कै ध्यान दिँदैन। सारतः त्यसले सिद्धान्तलाई नै लत्याउन पुग्दछ। सिद्धान्तबाट विचारको विकास प्रक्रियामा हामी यी दुवै प्रकारका गलत चिन्तनप्रति पूरा सतर्क रहनुपर्दछ।
लोकपाटी न्यूज

मोहन वैद्य ‘किरण’

क्रान्तिका व्यावहारिक अनुभवहरुका बीचवाट क्रान्तिकारी सिद्धान्तको जन्म र विकास हुन्छ। क्रान्तिकारी सिद्धान्तको पथ प्रदर्शनबाट क्रान्तिले नयाँ उचाई हासिल गर्दछ। विश्व क्रान्तिका समृद्ध अनुभवहरुका बीचबाट मार्क्सवाद, लेनिनवाद, माओवाद जन्मिएको हो र ठीक यही कुरा प्रचण्डपथका बारेमा पनि लागू हुन्छ। आफ्नो विकासको प्रक्रियामा क्रान्तिले अनेकौं आवरोह अवरोह पार गर्दै अग्रगति हासिल गर्दै जान्छ र त्यसलाई अर्को गुणात्मक उत्कर्षमा पुर्‍याउनका लागि सिद्धान्तले पनि अर्को गुणात्मक उत्कर्ष हासिल गर्नु अनिवार्य हुन्छ।

क्रान्ति र क्रान्तिकारी सिद्धान्त बीचको द्धन्द्धात्मक सम्बन्ध यस्तै हुन्छ। हामीले यो सम्बन्धलाई राम्रोसँग बुझ्न जरुरी छ। व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहार फेरि पनि व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहार यो ज्ञान प्राप्तिको द्धन्द्धात्मक प्रक्रिया हो र क्रान्तिकारी सिद्धान्तको विकास पनि यसै प्रक्रियामा आधारित रहेको छ। हामीले प्रचण्डपथको वैचारिक संश्लेषण र त्यसको विकास प्रक्रियालाई पनि यसरी नै बुझ्नुपर्दछ।

नयाँ ढंगले वैचारिक संश्लेषण र त्यसको विकासको प्रक्रियालाई ठीकसँग बुझ्नका लागि दुई प्रकारका गलत चिन्तनका विरुद्ध संघर्ष चलाउँदै जानुपर्दछ, ती चिन्तन हुन जडसुत्रवाद र अनुभववाद। जुन गतिमा क्रान्तिको विकास हुँदै जान्छ, त्यसै गतिमा सिद्धान्तको पनि विकास हुँदै जानु आवश्यक हुन्छ। परन्तु जड्सुत्रवादले यो कुरा बुझ्न सक्दैन। जड्सुत्रवादले सिद्धान्तमा त निकै जोड दिन्छ। तर सिद्धान्तलाई क्रान्तिका अनुभवहरुद्वारा हासिल नयाँ अन्तरवस्तुले समृद्ध तुल्याउने कुराको पूरै विरोध गर्दछ। यसरी हेर्दा सिद्धान्तको विकासमा जडसुत्रवाद हमेशा वाधक बन्न पुग्दछ। अर्कोतिर अनुभववादले क्रान्तिका व्यवहारिक अनुवभवहरुतिर पुरै जोड दिएको त हुन्छ। तर त्यसले क्रान्तिका अनुभवहरुद्वारा प्राप्त नयाँ अन्तरवस्तुलाई आत्मसात गर्ने र त्यसलाई सिद्धान्तको स्तरमा उठाउनेतर्फ पटक्कै ध्यान दिँदैन। सारतः त्यसले सिद्धान्तलाई नै लत्याउन पुग्दछ। सिद्धान्तबाट विचारको विकास प्रक्रियामा हामी यी दुवै प्रकारका गलत चिन्तनप्रति पूरा सतर्क रहनुपर्दछ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा जडसुत्रवाद र अनुभववादका दुष्परिणाम भोग्नु परेका प्रशस्तै उदाहरण पाइन्छन्। यस प्रकारको दुष्परिणामका अन्तिम कडीका रुपमा होक्जापन्थी जडसुत्रीय संशोधनवाद र अनुभववादी वा वहुलवादी संशोधनलाई लिन सकिन्छ। नेपाली सन्दर्भमा भन्नुपर्दा जडसुत्रीय संशोधनवादका एमवि सिंह र अनुभववादी वा वहुलवादी संशोधनवादका एमाले नेतालाई ठेट प्रतिनिधिका रुपमा लिन सकिन्छ। आज नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा वैचारिक संश्लेषणको त्यस प्रकारका जड्सुत्रीय संशोधनवाद र अनुभववादी वा वहुलवादी संशोधनवादीका विरुद्धको निर्मम वैचारिक संघर्षको श्रृंखला रहेको छ।

आज हामी महान् जनयुद्धका सात गौरवशाली वर्षपार गरी आठौं वर्षा प्रविष्ट भइसकेका छौं। यो अवधिमा हामीले महान् उपलव्धिका रुपमा नयाँ विचार, नयाँ ढंगको पार्टी, नयाँ जनसेना र नयाँ जनसत्ता प्राप्त गरेका छौं। आज हामीसँग सिंगो पार्टी जनमुक्ति सेना र जनसमुदायको त्याग, वीरता, वलिदानका असंख्य अत्कृष्ट गतिविधि र उदात्त कीर्तिमानका भण्डार छन्। यो अवधिमा हामीले वैचारिक तथा राजनीतिक क्षेत्रमा प्रतिक्रियावाद र संशोधनवादलाई क्षतविक्षत तुल्याएका छौं र व्यावहारिक क्षेत्रमा पनि चुरचुर पारेर थकाएका छौं। अहिले हामी राजनीतिक र फौजी दुवै दृष्टिले रणनीतिक सनतुलनको चरणमा खडा हुन पुगेका छौं। दुई विशाल शक्तिशाली देशहरुका वीचमा खडा एक सानो भूपरिवेष्टित देश नेपालमा यो एक प्रकारको विलक्षणता नै हो। नेपाली जनयुद्धको यो सात वर्षको अवधि राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा पनि अत्यन्तै विलक्षण र भव्य रहेको छ। यथार्थमा भन्नुपर्दा नेपाली जनयुद्ध मात्र नेपाली होइन, विश्वको २१औं शताव्दीको जनयुद्धको एक उदात्त आदर्श र मोडेल बन्न गएको छ।

विश्व सर्वहारा क्रान्तिको इतिहासमा विशिष्ट प्रकारका मोडलहरु बन्ने गरेका छन्। मार्क्सको जमानामा पेरिस कम्युन, लेनिनको समयमा महान् अक्टुवर समाजवादी क्रान्ति, माओको समयमा येनानको आधार इलाका र महान् सर्वहारा सांस्कृतिक क्रान्ति (यस्तै मोडेल वा नमुना) थिए। रोल्पा, रुकुमका आधार इलाकाहरुले माओकालिन नेपाललाई सम्झाउने गरेका छन्। संक्षिप्तमा भन्नुपर्दा विश्व सर्वहारा वर्ग र न्यायप्रेमी जनसमुदायका निम्ति नेपाली जनयुद्धले एक उत्कृष्ट मोडेल वा नमुनाको भूमिका निर्वाह गरेको छ।

मोडेल वा नमुना विविध क्षेत्र र विविध ढंगका हुने गर्दछन्। मोडेल भनेको कुनै आदर्श, आस्था वा इच्छित भविष्यको एक उत्कृष्ट रेखाङ्कन हो। यस प्रकारको मोडेल वा नमुना कुनै उत्कृष्ट विचार, संगठन, नीति, योजना र काम कार्वाहीका रुममा अभिव्यक्त हुने गर्दछ। यहाँ हामीले भन्न खाजेको मोडेल क्रान्तिको आदर्श, आस्था र इच्छित भविष्यको एक सुन्दर तथा मुर्त रेखाङ्कनसँग सम्वन्धित रहेको छ।

आज हामीले मार्क्सवाद लेनिनवाद माओवादको जगमा खडा भई तथा त्यसभन्दा पनि अझ माथि उठ्तै नेपालमा कसरी क्रान्ति सम्पन्न गर्ने र सम्भावित प्रतिक्रान्तिलाई कसरी रोक्ने भन्नेबारे एक उत्कृष्ट सन्दर्भमा हामीले प्रचण्डपथका रुपमा वैचारिक संश्लेषण गरेर मोडेल निर्माणको सैद्धान्तिक आधार तयार पारेका छौं। त्यसै वैचारिक आधारमा हामीले महा्न जनयुद्धका राजनीतिक तथा फौजी कार्यदिशा, तिनका विभिन्न योजना, रणनीति र कार्यनीतिका श्रृंखला तयार पार्दै र तिनलाई दृढ संकल्पका साथ कार्यान्वयन गर्दै आएका छौं। यसै प्रक्रियामा नयाँ ढंगलको पार्टी नयाँ जनसेना र नयाँ जनसत्ता बनेका छन्। यी सबै मिलेर नेपाली माओवादी जनयुद्ध बनेको छ र यो वर्तमान विश्वका विभिन्न जनयुद्धहरुमध्ये अग्रिम पंक्तिमा रहेको छ। नेपाली जनयुद्धवाट विश्व सर्वहारा वर्ग र मुक्तिकामी जनसमुदायले अत्यन्तै ठूलो आशा र अपेक्षा गरेका छन्। ठीक यसै अर्थमा नेपाली जनयुद्ध आजको विश्वमा एक सुन्दर मोडेल बन्न गएको छ। हामीले कुनै मनोगत इच्छावाट अभ्रिप्रेरित भएर मोडेल निर्माण गर्न गएका होइनौं, अपितु नेपालमा विश्व क्रान्तिको एक आधार इलाका बनाउने वस्तुगत आवश्यकताअनुरुप महान् जनयुद्धको प्रक्रियामा लाग्दा यसो हुन गएको हो र यसलाई हामीले विश्व सर्वहारा वर्गले पूरा गर्नुपर्ने एक महान् ऐतिहासिक दायित्वका रुपमा लिएका छौं।

आज नेपाली जनयुद्ध राष्ट्रिय दृष्टिले मात्र होइन, अन्तर्राष्ट्रिय दृष्टिले हेर्दा पनि एक संगीन ऐतिहासिक मोडमा खडा छ। अहिलेको रणनीतिक सन्तुलन र वार्ताको प्रक्रियामा आउँदा नेपाली जनयुद्धका सामू इतिहासमा कहिल्यै देखा नपरेका महान् सम्भावना र गम्भिर चुनौति खडा छन्। देश भित्रको स्थितिलाई हेर्दा हामी करीब विजयको सन्निकट छौं र हाम्रा लागि क्रान्तिकारी परिस्थिति धेरै नै अनुकूल छ। प्रतिक्रियावादी वर्ग, तिनका संगठन तथा जनाधार र पुरानो सत्ता आसन्न ध्वंश र महाविपत्तिको स्थितिमा छन्। उज्जवल भविष्य बोकेको नयाँ वर्ग र जनसमुदाय, तिनका संगठन र नयाँ जनसत्ता शक्तिशाली लहरका रुपमा विकसित र स्थापित हुँदै गएका छन्।

परन्तु अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति भने हाम्रा लागि धेरै नै प्रतिकूल रहेको छ। नेपालको प्रतिक्रियावादी वर्गको अस्तित्व र पुरानो राज्यसत्तालाई बचाउनका लागि आर्थिक, राजनीतिक र फौंजी रुपमा अमेरिकी साम्राज्यवादले नेपाली धर्तीमा सिधै र नाङ्गै हस्तक्षेप गर्न गइरहेको छ। अहिले नेपाली जनसमुदाय र अमेरिकी साम्राज्यवादका बीच आम्नेसाम्नेको टक्कर चल्न गइरहेको छ। विश्व सर्वहारा वर्ग र न्यायप्रेमी जनसमुदायको नेपाली जनयुद्धप्रति व्यापक राजनीतिक तथा नैतिक समर्थन रहेपनि आवश्यकताअनुरुप भौतिक सहयोग प्राप्त हुन सक्ने स्थिति छैन। यही नै आज हाम्रो लागि एक गम्भीर चुनौती बन्न गएको छ।

प्रतिकूलतालाई अनुकूलतामा कसरी फेर्र्ने यही नै अहिले हाम्रो लागि गम्भीर चासोको विषय हो। क्रान्तिका लागि अन्तर्राष्ट्रिय रुपमा पनि महान् सम्भावनाका ढोकाहरु खुल्दैछन्। अमेरिकी साम्राज्यवादको एकछत्र हैकम र एक ध्रुवीय विश्व व्यवस्थालाई तोड्दै जाने बहुध्रुवीय प्रयासहरु अगाडि बढ्दैछन् र विश्व जनसमुदाय पनि विष्फोटको प्रक्रियातर्फ लामवद्ध हुँदैछन्। विश्वका कम्युनिष्ट क्रान्तिकारीहरुले पनि आत्मगत तयारीको दिशामा आवश्यक पाइला चाल्दैछन्। तर यति सबै भएर पनि ती प्रयास अहिलेको हाम्रो खाँचो टार्न अपर्याप्त रहेका छन्। अहिलेको प्रतिकूलतालाई अनुकूलतामा फेर्नका लागि यो बेला हामीले आफ्नै तर्फबाट विशेष पहल र प्रयत्न गर्नुबाहेक कुनै अर्को विकल्प छैन।

यो बेला हामीले विज्ञानलाई आधार वनाएर र त्यसमा भर परेर अगाडि बढ्नुपर्दछ। त्यो विज्ञान भनेको मार्क्सवाद लेनिनवाद माओवाद र प्रचण्डपथ हो। नेपाली धर्तीमा मार्क्सवाद लेनिनवाद माओवादको प्रयोग गर्दा प्रचण्डपथ जन्मिएको हो। महान् जनयुद्धलाई अहिलेको रणनीतिक सन्तुलनको अवस्थामा ल्याई पुर्‍याउनमा प्रचण्डपथको नेतृत्वकारी भूमिका रहेको छ। जनयुद्धको यो सिंगो अवधिमा मालेमावाद र प्रचण्डपथद्वारा निर्देशित पार्र्टी नीति योजना र निर्णयको वैज्ञानिकता सानदार रुपमा पुष्टि भइसकेको छ। यस अर्थमा हामीलाई के विश्वास छ भने प्रचण्डपथलाई ठीकसँग बुझ्ने र लागू गर्ने कामलाई गम्भीरतापूर्वक लिएमा जनयुद्धलाई विजयको अर्को शिखरमा पुर्‍याउन अवश्यै सकिन्छ।

प्रचण्डपथलाई ठीकसँग वुझ्ने र लागू गर्ने कुरामा विभिन्न पाटा छन्, तीमध्ये वर्तमान सन्दर्भमा मुख्यतः दुई पाटामाथि विशेष ध्यान दिन आवश्यक छ। ती दुई पाटा हुन्, पहिलो – अन्तरविरोधहरुको सही पहिचान र सिर्जना गर्ने काम। राष्ट्रिय रुपमा अन्तरविरोधहरुको सही पहिचान, परिचालन र सिर्जना गर्ने काममा हामीले महत्वपूर्ण सफलता हासिल गर्दै आएका छौं र अब हामीले यो कामलाई अन्तर्राष्ट्रिय रुपमा समेत शानदार रुपमा अगाडि बढाउन जरुरी छ।

दोश्रो – रणनीतिमा दृढ र कार्यनीतिमा लचकदार बन्ने काम। विगत सात वर्षको अवधिमा हामीले रणनीतिक दृढता र कार्यनीतिक लचकताको द्धन्दवादलाई राजनीतिक र फौंजी दुवै क्षेत्रमा कुशलातापूर्वक प्रयोग गर्दै आएका छौं। तर पनि यो अवधिमा मुख्यतः रणनीतिक दृढतातर्फ नै हाम्रो विशेष जोड रहिआएको छ। परन्तु अहिले हामी आवश्यकतानुसार देश, क्रान्ति र जनताका सर्वौत्तम हितका नीम्ति अत्यधिक लचकदार पनि बन्न सक्नु पर्दछ। अग्रगामी छलाङ हान्ने उद्देश्य प्राप्तिका लागि कहिलेकाहिं केही पछाडि र्फकन पनि आवश्यक हुन्छ।

परन्तु, यहाँ प्रश्न प्रचण्डपथलाई बुझ्ने र लागू गर्ने मात्र होइन। अपितु मुख्य प्रश्न त प्रचण्डपथलाई अर्को नयाँ उचाइमा विकसित गर्ने हो। हामीले प्रचण्डपथको रुपमा वैचारिक संश्लेषण गरेको दुई बर्ष पूरा भइसकेको छ। यो अवधिमा वैचारिक क्षेत्रमा विभिन्न पाटाहरुमा जनयुद्धको नयाँ उचाइसँगै प्रचण्डपथको विकास हुँदै गएको छ। पार्टी केन्द्रमा पछिल्ला हरेक योजनाको निर्माण र तिनको कार्यान्वयनको बीचबाट प्रचण्डपथ विकसित हुँदै गएको छ र त्यसले अर्को नयाँ संश्लेषणको माग गर्ने बेला आउनै लागेको छ।

२१ औं शताब्दीमा पार्टी जनसेना र जनसत्तालाई वैचारिक र सांगठानिक दृष्टिले अर्को नयाँ उचाइमा कसरी उठाउने, क्रान्ति, जनयुद्ध र जनवादको अवधारणालाई कसरी विकास गर्ने, आजको युगमा क्रान्ति कसरी सम्पन्न गर्ने र सम्भावित प्रतिक्रान्तिलाई कसरी रोक्ने ? यी आजका नेपाली र विश्व क्रान्तिका गम्भीर चुनौती हुन्। यिनको सही समाधानको लागि हामीले एकातिर क्रान्तिलाई निरन्तर अगाडि बढाउने र अर्कोतिर प्रचण्डपथलाई अर्को उचाइमा विकसित तुल्याउने दिशामा गम्भीरतापूर्वक सोच्न जरुरी छ। अनिमात्र नेपाली जनयुद्ध नेपाल र विश्वकै सामू क्रान्तिको वास्तविक मोडेल बन्न सक्छ ।

सिंगो क्रान्ति र महान् जनयुद्धका सामू उपस्थित गम्भीर चुनौतिहरुको सामना गर्दै महान् सम्भावनाहरु पहिल्याउन र भीषण प्रतिकूलताहरुलाई अनुकूलतामा फेर्र्दै अगाडि बढ्नका लागि वर्तमान सन्दर्भमा प्रचण्डपथलाई ठीकसँग बुझ्ने, लागू गर्ने र विकसित तुल्याउने कुराको विशेष महत्व छ। ठीक यो विन्दुमा आउँदा जड्सुत्रवाद र अनुभववाद वा बहुलवाद विरुद्धको संघर्षले अर्को नयाँ प्रक्रियामा प्रवेश गर्ने सम्भावना पनि प्रवल रहेको देखिन्छ। युद्धविराम र वार्ताको यो जटील प्रक्रियामा क्रान्तिका भित्र र बाहिरका दुश्मनहरुले अनेकौं षड्यन्त्रहरु गर्न सक्तछन्। यो स्थितिमा जड्सुत्रवादबाट सिद्धान्तको रक्षा र रणनीतिक दृढताको नाममा सिद्धान्तको विकास र कार्यनीतिक लचकताको नाममा क्रान्तिकारी सिद्धान्त र रणनीतिकै पत्यिाग गर्ने खतरा पैदा हुन सक्तछ।

यहाँनिर हामी सतर्क बन्नुपर्दछ। क्रान्तिले विचारको विकास गर्दछ र विचारले क्रान्तिको विकास गर्दछ। क्रान्ति र विचार विचको द्धन्द्धात्मक सम्बन्धलाई ठीकसँग बुझ्ने र तिनको विकास गर्ने काम गम्भीर खतराहरुका बीचमा खेलेर मात्र हुन सक्दछ र त्यसका निम्ति हामी तयार रहनु पर्दछ। २१ औं शताब्दीको मोडेलको रुपमा जनयुद्ध र प्रचण्डपथको अग्रगामी विकासका निम्ति कुनै पनि क्षेत्रमा देखापर्ने चुनौतिलाई स्वीकार गर्नु र त्यसको सामना गर्न तयार रहनु बाहेक हामीसँग अर्को विकल्प छैन।

(माओवादी नेता वैद्यले २०६० सालमा लेखेको लेख।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्