धर्म, भौतिकवाद र मार्क्सवादको सम्बन्ध

Karl Marx-5
लोकपाटी न्यूज

विश्वमा धर्म सम्वन्धि मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ। यस क्रममा मूलतः धर्म सम्वन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ। त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण। साँचो र यथार्थ कुरा त के हो भने यस उदाहरणलाई मार्क्सवादका बिरुद्ध दुरुपयोग गर्नेहरुले जानीबुझिकनै त्यसको पूरा सन्दर्भ नदिई आंशिक रुपमा त्यसलाई प्रस्तुत गर्ने र ठूलो भ्रम फिजाउँदै आएका छन्। यो भ्रान्त धारणबाट मुक्त हुनु पनि कम्युनिष्ट तथा प्रगतिशील अग्रगामी आन्दोलन र आन्दोलनकारीहरुका निमित्त एकदमै महत्वपूर्ण कुरा हो।

निश्चय नै अरु दर्शनहरुले जस्तो मार्क्सवादले संसारलाई बुझ्ने र ब्याख्या गर्ने कुरामा मात्र आफूलाई सीमित राख्दैन। यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ। त्यसै कारणले मार्क्सवादका प्रणेता कार्ल मार्क्सले भने, ‘दार्शनिहरुले आजसम्म संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या मात्र गरे, मूल कुरो त यस्तो संसारलाई बदल्नु हो।’ ठीक यसै कारणले वास्तवमा अरु आफ्ना पूर्ववर्ती दर्शनहरुभन्दा मार्क्सवाद एकदमै भिन्न र बिशिष्ट छ। वस्तुतः यो एउटा रचनात्मक सामाजिक विज्ञान हो। विश्वको बौद्धिक विकासको समुच्च सम्पदाको सही अर्थमा सदुपयोग गरेर मार्क्सवादले यस्तो वैज्ञानिक सामाजिक सिद्धान्त र पद्धति मानव समाजलाई प्रदान गरेको छ, जसले सामाजिक शोषण, भेदभाव, अन्याय, असमानता, अन्धविश्वास र कुरीतिहरुलाई आमूल रुपमा बदलेर नयाँ मानव समाज निर्माणको मार्गदर्शन गर्दछ। यस प्रकार मानव समाजलाई मुक्ति, समानता र समुन्नतिका निमित्त यसले प्रष्ट दिशानिर्देश गर्दछ। अरु दर्शनहरुभन्दा यी नै कुरामा मार्क्सवाद फरक र बिशिष्ट रहेको तथा ज्ञान र व्यवहारको सही विवेचना गर्ने कालभेदी विचार हो।

मानव समाजप्रति अत्यन्तै जिम्मेवार मार्क्स र एंगेल्सका गम्भीर, गहन र जिम्मेवारीपूर्ण रचनाहरु अर्थात् मार्क्सवाद फ्रान्सेली समाजवाद, जर्मन दर्शन र भौतिकवाद तथा अग्रेजी अर्थशास्त्रको सही किसिमको संश्लेषण र विकास गरेर विकसित भएको हो। रचनात्मक विज्ञानको रुपमा मार्क्सवादले वास्तवमा समस्त रचनात्मक चिन्तनलाई यसरी समन्वित गर्दछ। अनि शोषणमा आधारित बिश्व सामाजिक व्यवस्थालाई मात्र होइन, बरु त्यसलाई बदल्ने क्रान्तिकारी लक्षलाई साकार तुल्याउने कारबाहीलाई समेत स्पष्ट रुपमा पथ प्रदर्शन गर्दछ। आफ्नो स्वभाविक यस्तो प्रकृतिबाटै वास्तवमा मार्क्सवाद भौतिक, रचनात्मक र द्वन्दात्मक स्वभावको सामाजिक सिद्धान्त हो भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । अतः यो जडसुत्रवाद विरोधी छ।

वस्तुगत यथार्थमा आधारित यो एउटा यस्तो विश्व दृष्टिकोण हो, जसले सामाजिक मुक्तिको परिकल्पनालाई अंगिकार र मुक्तिकामी आदर्शलाई प्रष्टसँग अभिब्यक्त गर्दछ। ऐतिहासिक स्थितिमा परिवर्तन ल्याउने बिभिन्न प्रवृत्तिहरुलाई केलाउने र बुझ्ने यो एउटा प्रभावकारी र ठोस आधारमा खडा भएको सशक्त हतियार हो। यसले जनताका संघर्षहरुका कार्यक्रमगत लक्ष्यहरुको पनि ब्याख्या गर्दछ। अनि बद्लिदा ऐतिहासिक अवस्थाहरुको आवश्यकताअनुरुप यसले आवश्यक र सान्दर्भिक कुरालाई स्वीकार गर्ने र आत्मसात गर्ने क्षमता राख्दछ। यही नै यो सामाजिक विज्ञानको निरन्तरताको नियम हो।

एउटा रचनात्मक सामाजिक बिज्ञानको नाताले मानव जातिको प्रगतिको आधारमा यसरी मार्क्सवादले स्वयंलाई समृद्ध पार्दछ। यस सन्दर्भमा मार्क्स र एंगेल्सले जे भनेका छन्, ती कुराहरुलाई उल्लेख र रेखाङ्कित गर्नु आवश्यक र सान्दर्भिक हुन्छ। त्यो हो – ‘आजसम्मको सम्पूर्ण ज्ञानको इतिहासको सिलसिलामा धर्म बिचारधाराकै एउटा सबैभन्दा प्रभूत्वशाली तत्व बनेर आएको छ।’ यस कारणले शोषक तथा शोषित बर्ग बीचको संघर्षको अभिब्यक्ति पनि धार्मिकरुपमा समेत हुँदै आएको पाइन्छ। त्यसैले समाजमा आज पनि परिरहेको धर्मको प्रभावलाई बुझ्नु मार्क्सवादका लागि त्यत्तिकै प्रासांगिक हुन्छ, जति अन्य विचारधात्मक रुपहरुलाई बुझ्नु प्रासांगिक हुन्छ।

यसका अतिरिक्त धर्मको सधै नै एउटा मानतावादी अन्तरबस्तु रहने गरेको छ। यो कुरा स्वयं मार्क्सले पनि स्वीकारेका छन् कि मानिसको हित हुने कुनै पनि कुरा उनका निमित्त पराई कुरा होइन र हुँदैन। यी नै महत्वपूर्ण कुराहरुलाई राम्ररी ध्यानमा राखेर समाजमा धर्मको भूमिका र यसबारे मार्क्सवादी अवधारणा बुझ्न र ब्याख्या गर्न सही, सरल र सजिलो हुन्छ। वास्तवमा विश्वका महान दार्शनिक एवं सिद्धान्तकार कार्ल मार्क्सले स्पष्ट रुपमा के भनेका छन् भने ‘‘धार्मिक पीडा एकै पटक वास्तविक पीडाको पनि अभिव्यक्ति तथा वास्तविक पीडाको बिरुद्ध विरोध प्रदर्शन पनि हो। धर्म उत्पीडित प्राणीको चित्कार–सुस्केरा हो। एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मबिहीन स्थितिको त्यो आत्मा हो। त्यो जनताको अफिम हो।’’ (धर्म मार्क्स एंगेल्स, हेगेलको अधिकार सम्बन्धि दर्शनको आलोचनामा योगदान, पृष्ठ ५१।)

धर्म यदि अफिमै हो भने पनि त्यो यस कारणले हो कि त्यसमा एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने अद्भूत क्षमता हुन्छ, जस्तो ब्यक्तिलाई लठ्ठ पार्ने क्षमता अफिममा हुन्छ। कुनै पनि उत्पीडनमा परेका मानिसलाई धर्मले एउटा काल्पनिक संसारमा, जुन कल्पना लोक मात्र हो, लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिममा हुन्छ। यसरी कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनिक राहतको रुपमा पलायनको बाटो प्रस्तुत गर्दछ। त्यसका लागि एउटा हृदयहीन संसारमा हृदय, एउटा आत्माबिहीन स्थितिमा आत्मा जुटाइदिन्छ। ठीक यही कारणले धर्म त्यो अफिम हो, जसको जनताले स्वयं आफूलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ, जबसम्म जनता यस्तो स्थितिमा फँसेका हुन्छन्।

जुन कुरा उनीहरुलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ। वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन् भने ‘सम्पूर्ण धर्म मानिसको दैनन्दिन जिन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरुको मानिसहरुको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन।’ (ड्युहरिंग मत खण्डन।) यस प्रकार सारतः धर्मको मार्क्सवादी अवधारणा त्यसको समग्र दार्शनिक आधारसँग जोडिएको छ। मानिसको साँचो स्वतन्त्रता तथा मुक्ति के हो, यस सोझो र महत्वपूर्ण प्रश्नको उत्तरको खोजी गर्दै कार्ल मार्क्सले के विचार गरे भने क्रान्तिको हेगेलवादी विचारलाई छोडिदिनु पर्दछ। उनको समयमा त्यस विचारको प्रतिनिधित्व फायरबाखले गर्दथे। मार्क्सले हेगेलको त्यो विचारलाई परित्याग गरे र उनी बहुतै महत्वपूर्ण निष्कर्षमा पुगे। त्यो निष्कर्ष यस्तो थियो, ‘मानिसको चेतना समाजिक स्थितिबाट निर्धारित हुन्छ, न कि त्यसको उल्टो (मानिसको चेनताले सामाजिक स्थिति बनाउँदछ भन्ने कुरा)। मानिसको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन। त्यसको बिपरीत मानिसको सामाजिक अस्तित्व नै उसको चेतनाको निर्धारक हो।’ (राजनीतिक अर्थशास्त्रको आलोचनाबाट।)

वस्तुतः यसरी आधारभूत महत्वको निष्कर्ष निकाल्दै मार्क्स भन्दछन्, अधार्मिक आलोचनाको आधार हो, मानिसले धर्मको निर्माण गर्दछ। धर्मले मानिसलाई बनाउने होइन, अर्को शब्दमा, चिन्तन तथा त्यसबाट निस्कने बौद्धिक ब्यवहारको दृष्टिबाट मानवीय चेतनाका अरु प्रत्येक अभिब्यक्तिहरुझै नै धर्म पनि मानवीय समाजिक अस्तित्वकै परिणाम हो न कि त्यसको सामाजिक अस्तित्वको कारण। यस अवधारणाले धर्मलाई कुनै स्वयं वस्तुको रुपमा स्वीकार्दैन। धर्मलाई कुनै यस्तो वस्तु मान्दैन, जुन इतिहासमा समाजको गति चालक शक्तिबाट स्वतन्त्र रहेको होस्। हुन पनि ठीक यसै कारणले मार्क्सवादले कोपर्निकस तथा एकलब्यको उत्पीडनको दोष धर्ममाथि थोपर्दैन। त्यसले त ती सबै धार्मिक भाषामा अभिब्यक्त सामाजिक शक्तिहरु तथा आन्दोलनहरुलाई स्वभाविक अभिब्यक्तिको रुपमा लिन्छ। किनकि सम्पूर्ण ज्ञात इतिहासमा धर्म विचारधाराको एउटा प्रभूत्वशाली तत्वको रुपमा रहेको छ।

अनि जबसम्म यो विचारधाराको रुपमा बनिरहन्छ प्रगतिशील तथा प्रतिक्रियावादी विचार, शासक वर्गको निहित स्वार्थ तथा शोषित वर्गका मागहरु सबै कुरा समान रुपले मानिसहरुको मानसपटलमा प्रतिबिम्बित भइरहनेछन्। मार्क्सवादले जहाँ सुफी, भक्ति आदि धार्मिक सुधार आन्दोलनहरुको सकारात्मक तथा प्रगतिशील अन्तरवस्तुलाई चिन्दछ, त्यही तिनीहरुको सीमालाई पनि रेखांकित गर्दछ कि कसरी कुन प्रकारका आन्दोलनले धर्मका सीमाभित्र सीमित भएर परिवर्तन ल्याउन सक्तैन, जबसम्म त्यो सामजिक परिस्थितिमा परिवर्तन ल्याउन सकिँदैन, त्यो कुनै खास धार्मिक रुपमा प्रभूत्वको स्थितिमा अभिब्यक्त भइरहेको हुन्छ, त्यसबेलासम्म त्यस खास धार्मिक रुप तथा त्यससँग जोडिएका उत्पीडनलाई समाप्त पार्न सकिने छैन।

यसरी धार्मिक सुधार आन्दोलनको सकारात्मक अन्तरवस्तुलाई पहिचान गर्नुका साथसाथै मार्क्सवाद धर्मको इतिहासलाई पनि मानव सभ्यता तथा त्यसै अनुरुप मानव चिन्तनको विकासको सीमा राख्न सफल र समर्थ भएको छ। प्रष्ट छ, यसरी धर्म कुनै अलौकिक वस्तु रहेको छैन। यस सम्बन्धमा एंगेल्सले प्रष्ट भनेका छन्, ‘धर्म त्यस्तो प्रतिबिम्ब हो, जसमा लौकिक शक्तिहरुले परलौकिक रुप लिन्छन्।’ अर्थात् पारलौकिक शक्ति बन्दछन्। इतिहासको प्रारम्भमा यस्तो प्रतिबिम्ब प्रकृतिका शक्तिहरुको नै हुने गर्दथ्यो। हाम्रो आफ्नै सन्दर्भमा सूर्य, अग्नि, वायु, नाग आदिको मूर्ति पूजाको आदिम रुप देख्न र बुझ्न यसै प्रसंगमा सकिन्छ। बैदिक कर्मकाण्डहरु सारतः यज्ञमा आधारित छन्, जुन अग्नि जगाउने एउटा रुप नै हो।

तर धेरै समय बित्न नपाउँदै प्रकृतिका ती शक्तिहरुका साथै सामाजिक शक्तिहरु पनि सक्रिय हुन थाल्दछन्। ती सामाजिक शक्तिहरु पनि मानिसका सामु प्राकृतिक शक्ति जस्तै बाहिर तथा प्रारम्भमा अगम्य लाग्ने शक्तिकै रुपमा आउँदछन्। सतही रुपमा ती शक्तिहरुमाथि पनि त्यसरी नै त्यस्तै प्रकारको प्राकृतिक आवश्यकताको रुपमा हावी रहन्छन्, जसरी प्रकृतिका शक्तिहरु त्यसमाथि हावी र प्रभावी रहने गर्दै आएका थिए। ती काल्पनिक प्राणीहरुमा जो आरम्भमा केवल प्रकृतिकै रहस्यपूर्ण शक्तिलाई प्रतिबिम्बित गर्दथे, यस बिन्दुमा पुगेपछि सामाजिक गुण पैदा हुन्छ। ती इतिहासको शक्तिको प्रतिनिधि बन्दछन्।

समाज विकासको अझ अगाडिको अवस्थामा पुगेर अनेकौं प्रकारका देवताहरु सम्पूर्ण प्राकृतिक तथा सामाजिक गुणयुक्त एउटा सर्वशक्तिशाली ईश्वरमा स्थानान्तरित हुन जान्छन्। यो ईश्वर निराकार मानवकै प्रतिविम्ब हो। एकेश्वरवादको जन्म यसै प्रकारले भएको थियो। ऐतिहासिक रुपमा यो उत्तरकालीन युनानीहरुहरुको भ्रष्ट दर्शनको अन्तिम उपज थियो। फेरि त्यसले यहुदीहरुको बिशिष्ट जातिय देवता ‘जेहोवा’ को रुपमा अवतार लियो। यो सुविधाजनक, शुद्ध र सार्वभौमिक रुपले संयोजनीय रुपमा ती बाह्य प्राकृतिक तथा सामाजिक शक्तिहरुका साथ जसले तिनमाथी शासन गर्दछ, मानिसको तत्कालीन अर्थात् भावनात्मक सम्बन्धको रुपमा धर्म त्यति बेलासम्म कायम रहन सक्तछ, जबसम्म मानिस ती शक्तिहरुको नियन्त्रणमा बाँधिइरहेको हुन्छ।

तर के कुरा बारम्बार देखिसकिएको छ भने बर्तमान विश्व–पूँजीवादी समाजमा एउटा बाह्य शक्तिको रुपमा मानिसमाथि ती आर्थिक परिस्थितिहरुकै शासन हुन्छ, जसको सृष्टि स्वयं मानिसले नै गरेका हुन्। उनीहरुमाथि उत्पादनका ती साधानहरुको शासन हुन्छ, जसको निर्माण स्वयं उनीहरुले गरेका हुन्छन् वा गरेका छन्। यसकारण ती प्रतिबिम्बहरु परावर्तक क्रियाको वास्तविक आधार बनिरहन्छन्, जसले धर्मलाई जन्म दिन्छ। अनि त्यसको साथसाथै स्वयं धार्मिक प्रतिविम्ब पनि कायम रहन्छ। (ड्युहरिंग मत खण्डन, फेडरिक एंगेल्स।)

यसरी मार्क्सावदले इतिहासको वैज्ञानिक ढंगले विश्लेषण गर्दै महान समाजिक संघर्षहरुमा धर्मको जटिल भूमिकालाई देख्न र बुझ्न सक्यो। इसाई धर्मको मूल ती जनआन्दोलनहरुमा पाइन्छ, जुन बिद्रोह रोमन साम्राज्यको पतनपछि उठेको थियो। त्यसैगरी इस्लाम धर्मको उदयको सिलसिलामा मार्क्स र एंगेल्स ‘बेदुइहरु’ र ‘नागर’ जनताका बीचका आन्तरिक संघर्षहरु र अबिसिनियाबाट अरब प्रायद्वीप मुक्त गराउने तथा लामो समयदेखि निस्क्रिय भएको ब्यापारिक बाटो फेरि कब्जा गर्ने बढ्दो अरब जातीय चेतनालाई रेखाकित गरेका छन्। त्यसैगरी ‘प्रोटेस्टान्ट’ धार्मिक सुधार मतको उदयलाई पतनशील सामन्ती व्यवस्था र उदीयमान पूँजीपति वर्गबीच चलिरहेको जटील वर्ग संघर्षको अभिब्यक्तिको रुपमा हेरिएको थियो। प्रोटेस्टान्ट धर्मप्रतिको अमिटता उदीयमान पूँजीपति बर्गको अजेयतासँग गाँसिएको छ। (एंगेल्स, फायरबाख)

मार्क्स र मार्क्सवादीरुका लागि धर्म ती समाजिक परिस्थितिहरुको उपज हो, जुन सामाजिक परिस्थितिमा मानिस रहेको हुन्छ र अहिले पनि रहिरहेको छ। धर्मको इतिहास एक अर्थमा मानवीय विकासको इतिहासको प्रतिविम्ब पनि हो। त्यसैले चेतनाका अन्य रुपझै धर्म स्वतः सम्पूर्ण वस्तु होइन, वास्तविक संसारको नै प्रतिविम्ब हो। जबसम्म मानिसले प्रकृतिका शक्ति र सामाजिक शक्तिहरु, जसले उनीहरुको दैनिक अस्तित्वलाई निर्धारण गर्दछन्, तथा उनीहरुको भाग्यलाई सञ्चालन गर्दै रहेको देखिन्छ, ती दुबैलाई बुझ्दैनन्, एउटा अलौकिक तथा संसार बाहिरको सत्ताको कल्पनाको आवश्यकता भइरहन्छ।

यसरी धर्मले मानिसहरुका लागि राहत, सौन्दर्य र आश्वासनको यस्तो एउटा संसार बसाइदिन्छ जुन कुरा मानिसले आफ्नो वास्तविक जीवनमा प्राप्त गर्ने गर्दैन। यसको साथै कुनै खास चरणमा समाजमा चलिरहेको वर्ग संघर्ष पनि त्यस बेलासम्म धार्मिक भाषामा अभिब्यक्त गर्न सकिन्छ, जबसम्म धर्म विचारधाराको नै सबैभन्दा प्रमुख रुप बनिरहन्छ। अहिले जहाँसम्म कुनै खास चरणमा भइरहेको बर्ग संघर्षको धर्ममा अभिब्यक्तिको प्रश्न छ, त्यो अभिब्यक्ति जुन सीमासम्म पुगेको छ, त्यसै हदसम्म शासक वर्गीय विचारधाराका अन्य रुपहरु जस्तै धर्म पनि शासक र शोषक वर्गको हतियार पनि बन्दछ र त्यस खास शासनको बैधता सावित गर्ने साधन पनि।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्