सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

PM_CM_Meeting
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथामबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइएको छ। मुख्यमन्त्रीहरुलाई कोरोना संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफलमा बोलाइएको हो।

उनीहरु आज काठमाडौं आइपुग्दै छन्। दिउँसो एक बजे सिंहदबारमा छलफल हुने जनाइएको छ। विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

‘सबै प्रदेशमा अहिलेसम्म भइरहेका काम र अबको रणनीतिबारे छलफल केन्द्रित हुनेछ,’ ढकालले भने। मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ।

त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ। यसअघि २९ फागुनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन १९ वटा निर्णय गरेको थियो।

सरकारले स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ। प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्