आर्थिक संकट घोषणा गर्न निजीक्षेत्रको सुझाव 

dr. yubraj khatiwada
  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं, २ चैत। आर्थिक संकट घोषणा गरेर अघि बढ्न निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारलाई सुझाव दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडासँगको छलफलमा कोरोनाको विश्वव्यापी प्रभावले नेपालमा पनि प्रभाव पारेकाले आर्थिक संकट घोषणा गरेर अघि बढ्न सुझाव दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अल्पकालीन् र दीर्घकालीन् रणनीति तय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। कोरोनाको संकटले नेपालको व्यावसायिक गतिविधिमा प्रभाव पार्न थालेको र यसले अबको ९ महिनासम्म असर गर्ने भन्दै संकटबाट जोगिन गम्भीर भएर लाग्नुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन्। ढिला, चाँडो हामीलाई यसले प्रभाव पार्छ र त्यसका लागि अहिलेदेखि नै सक्रियतापूर्वक यसको जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ । छलफलमा सहभागी एक व्यवसायीले भने, अर्थतन्त्रमा विभिन्न किसिमका चुनौति आउँछन्, त्यसका लागि अहिलेदेखि नै काम गरौँ भन्ने नै हाम्रो भनाइ हो।

यसैगरी आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीले सरकारलाई सचेत गराएका छन्। भारतमा कोरोनाको प्रभाव बढ्दै गयो भने त्यसले नेपालमा भयावह अवस्था निम्त्याउने भन्दै अहिल्यै सचेत हुन आग्रह गरेका छन्।

छलफलमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा कोरोनाको जोखिम नदेखिसकेको भन्दै सरकारले संकट समाधानका लागि पूर्वतयारीका लागि नै विभिन्न क्षेत्रसँग छलफल गरिरहेको बताएका थिए। उनले अर्थतन्त्रमा अहिले नै ठूलो संकट नदेखिएको र कतिपय क्षेत्र अझै सामान्यरुपमा चलिरहेको पनि बताएका थिए।

सरकारले कोरोनाको जोखिम बढ्दै गए विभिन्न चरणमामा के गर्ने भनेर व्यवसायीलाई सन्देश दिन आइतबार व्यवसायीसँग छलफल गरेको थियो। व्यवसायीहरुले भने सरकारले अझै यो समस्यालाई नजरन्दाज गरिरहेको र गम्भीररुपमा नलिएको दावी गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्