कांग्रेसमा गुटवन्दी : कुन नेता कता, को–कति शक्तिशाली ?

nepali congres team
लाेकपाटी न्यूज

काठमाडौं/लोकपाटी टिप्पणी । वि.सं. २०५८ मा नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्ने नेता थिए शेरबहादुर देउवा । तर, २०६२/२०६३ को जनआन्दोलनपछि देउवाले नेपाली कांग्रेससँग पार्टी एकता गरे ।

कमैले सोचेका थिए, ‘पार्टी फुटाएर हिँडेको नेता फेरि कांग्रेसकै सभापति बन्नेछ ।’ तर, धेरैको आंकलनविपरीत १३ औं महाधिवेशनमा तिनै देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए । यो नेपालमा मात्र होइन, विश्व राजनीतिमै बिरलै पाइने घटना थियो ।

तर, १३ औं महाधिवेशनबाट ‘पार्टीसत्ता’ हत्याएका देउवाले कांग्रेसलाई गति दिन भने सकेनन् । महाधिवेशन भएको तीन वर्ष बितिसक्दा पनि उनले कांग्रेसका पदाधिकारी टुंगाउन सकेका छैनन् । भातृ संगठनहरुको स्थिति ‘भाँड’मै छ । नेविसंघ र तरुण दलका नेताहरुको महाधिवेशन कुर्दैमा कपाल फुल्न लागेको चर्चा चल्छ पार्टी कार्यालय सानेपामा । तर, पनि सभापति देउवाले ठोस पहल लिएका छैनन् ।

देशकै पूरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस । तर, भित्रभित्रै गुटगुटैले जेलिएको छ । महाधिवेशनका बेला देखिने तीन समूह (देउवा–पौडेल–सिटौला) अहिले दर्जन वरिपरिका गुटमा विभक्त छन् । नेताहरु सिद्धान्तको बहसमा छैनन् । तर, कांग्रेसभित्रको ‘गुट सङ्घर्ष’ सार्वजनिक रुपमै छताछुल्ल हुने गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति ७२ सदस्यीय छ । ९ जना आमन्त्रित सदस्य देउवाले आफ्नै ‘कोटरी’का मनोनित गरेका छन् । पूर्ण र आमन्त्रित गरी ८१ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिमा नेताहरु १० गुटमा बाँडिएका छन् । यस्ता छन् कांग्रेसका १० समूह र उनीहरु बीचको शक्ति सङ्घर्ष ।

देउवा समूह : नेपाली कांग्रेसमा सबैभन्दा शक्तिशाली समूह देउवा समूह नै हो । हाल यो समूहमा उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, चित्रालेखा यादव, महेश आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, डा. मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, एनपि साउद, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय ‘डिना’ छन् ।

त्यसैगरि भीष्मराज आङ्दाङ्वे, जीवन बहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, अजय चौरासिया, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, किशोरसिंह राठोर, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, सुजाता परियार, पार्वता डिसी ‘चौधरी’ केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, देवेन्द्रराज कंडेल, वीरबहादुर बलायर, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाई, बहादुर सिंह ‘लामा’, लक्ष्मी परियार, अमृत अर्याल, अत्तरकमल मुसलमान गरी ४८ जना केन्द्रीय सदस्य देउवा समूहमा रहेका छन् ।

त्यस्तै आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएका नन्दकुमार दुत्त, कुमार खड्का, सूर्यबहादुर केसी, बालकृष्ण पाण्डे, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल पनि देउवा समूहकै नेता हुन् ।

पौडेल समूह : बाह्रौं महाधिवेशनसम्म संस्थापन मानिएको यो समूह अहिले कमजोर अवस्थामा छ । यसका प्रमूख नेता हुन् रामचन्द्र पौडेल । गत निर्वाचन पौडेल आफैं तनहुँ–१ बाट पराजित भएपछि पौडेलका अधिकांश नेता देउवातिर लागे ।

अहिले यो समूहमा कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, नरहरि आचार्य, मनबहादुर विश्वकर्मा, धनराज गुरुङ, किरण यादव, ध्यानगोविन्द रञ्जित, शिवप्रसाद हुमागाइँ गरी १२ जना केन्द्रीय सदस्य रहेका छन् ।

सिटौला समूह : कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला १३ औं महाधिवेशनमा आफै सभापतिको प्रत्यासी बनेपछि कांग्रेसमा तेस्रो समूह अस्तित्वमा आयो । सिटौला समूहमा गगनकुमार थापा, प्रदीप पौडेल लगायतका नेताहरु छन् । संगठनका दृष्टिले कमजोर देखिए पनि ‘गुटीय समीकरण’मा सिटौला समूह निर्णायक मानिन्छ ।

खड्का समूह : कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्का जीवित रहँदा उनको शक्तिशाली समूह थियो । तर, उनको मृत्युपछि धेरै नेता तितरवितर भए । अहिले पनि पुष्पा भुसाल, शंकर भण्डारी, मोहन बस्नेत र शिला शर्मा खड्काले खुमबहादुरको समूह पुनर्जागृत गर्न खोजेको कांग्रेस वृत्तमा चर्चा छ । तर, आफ्नै समूह नभएको अवस्थामा देउवा वा पौडेल कसलाई साथ दिने भन्ने विषयमा यो समूह अन्यौलमै रहेको स्रोत बताउँछ ।

कोइराला परिवार : कांग्रेसका संस्थापक नेता गीरिजाप्रसाद कोइरालाको अवसानपछि कोइराला समूहको सर्वमान्य नेतामा विवाद देखिन्छ । अहिले कांग्रेस महामन्त्री छन् डा. शशांक कोइराला । उता सुजाता कोइराला सरकारको उपप्रधानमन्त्री भइसकेकी छिन् । उमेरका हिसाबले शशांकभन्दा डा. शेखर कोइराला केही वर्ष जेठा छन् ।

बिपीपुत्र भएका हिसाबले शशांकले कोइराला परिवार आफैमा केन्द्रित गर्न चाहन्छन् । तर, शेखरले नेतृत्व गर्ने ईच्छा छोडिसकेका छैनन् । यस समूहमा शशांक, शेखर, सुजाताका साथै कुलबहादुर गुरुङ, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, बद्री पाण्डे, कल्याण कुमार गुरुङ, गुरुराज घिमिरे, डा. डिला संग्रौला गरी १० जना नेताहरु छन् । आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला पनि कोइराला परिवारकै टिममा रहेको चर्चा हुने गर्दछ । महेश आचार्य पनि यो समूहप्रति उदार देखिन्छन् ।

गच्छदार समूह : दोस्रो जनआन्दोलनपछि कांग्रेस छोडी मधेशी फोरममा गएका विजय कुमार गच्छदार गत निर्वाचनअघि कांग्रेसमै फर्किए । फोरममा जाँदा कांग्रेसका नेता महन्त ठाकुर लगायत ठूलो शक्ति बाहिरिएको थियो । तर, फर्कदा गच्छदार लगभग एक्लैजस्ता भए । फोरम फुटाएर फोरम (लोकतान्त्रिक) बनाएका गच्छदारले अघिल्लो वर्ष कार्तिकमा कांग्रेससँग पार्टी एकताको घोषणा गरेका थिए ।

अहिले गच्छदारको पक्षमा कोही पनि केन्द्रीय सदस्य छैनन् । गच्छदारले आफूले उपसभापति पाउने लोभमा फोरम लोकतान्त्रिकका कोही पनि नेतालाई केन्द्रीय समितिमा लविङ नगरेका हुन् । सभापति देउवासँग बार्गेनिङ गरी उनले संसदीय दलको उपनेता र पार्टी उपसभापति दुवै पदमा कब्जा जमाएका छन् ।

‘पाँच भाइ’ समूह : कांग्रेसभित्रको यो समूह अलग्गै समूह होइन । बरु, कांग्रेसका युवाहरुको उपसमूह हो । यो समूहमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे र बद्री पाण्डे रहेका छन् । ‘पाँच भाइ’ समूहले कांग्रेसमा लोकतान्त्रिक अभ्यास हुनुपर्ने, नेतृत्व युवाहरुलाई हस्तान्तरण हुनुपर्ने र पार्टी शुद्दिकरण हुनुपर्ने भन्दै विभिन्न अभियान चलाउँदै आएको छ ।

कांग्रेसका घोषित यी सात समूहका अतिरिक्त पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि अलग्गै समूहको कसरत गर्दै आएका छन् । उनी अहिले सभापति देउवाका विरुद्ध देश दौडाहामा समेत निस्किएका छन् । उनलाई ध्यानगोविन्द रञ्जित, राजन केसी लगायतका नेताहरुले साथ दिँदै आएका छन् ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि अलग्गै समूह निर्माणको प्रयास गर्दै आएका छन् । त्यसैगरि देउवानिकट मानिने उपसभापति बिमलेन्द्र निधिले पनि आफ्नो छुट्टै समूहका लागि कसरत गरिरहेका छन् । कांग्रेसको ८१ सदस्यीय केन्द्रीय समितिमा हरिप्रसाद नेपाल र राध्यचन्द्र यादव भने कतै नखुलेको बताइन्छ ।

कांग्रेसका समूहरुमध्ये देउवा शक्तिशाली देखिए पनि तल्लो तहमा उनीप्रति असन्तुष्टि बढ्दै गएको छ । स्थानीय निर्वाचनमा माओवादीसँग सहकार्य गर्नु गल्ती भएको, संघीय र प्रादेशिक निर्वाचनको रणनीति बनाउन नसकेको, पार्टी संगठन ‘कोमा’मा राखेको, संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै सभापति देउवाको तीब्र आलोचना भइरहेको छ ।

केन्द्रीय समितिमा देउवाको बहुमत रहे पनि महाधिवेशनमा परिणाम उल्टो आउनसक्ने एकथरिको अनुमान छ । देउवा रणनीतिक रुपमा कमजोर रहे पनि उनीइतरको सर्वमान्य नेता नहुँदा देउवाले ‘राज’ गरिरहेको नेताहरुको विश्लेषण छ ।