कानून व्यवसायीमा आदर्श र इमान्दारिता हरायो : प्रधानन्यायाधीश

omprakash mishra
लाेकपाटी न्यूज

काठमाडौँ, १७ मङ्सिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन कायम राख्न इमान्दारीपूर्वक काम गर्न कानून व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल कानून समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘स्वतन्त्र न्यायपालिका र कानूनको शासन स्थापनामा वरिष्ठ अधिवक्ता स्व. कुसुम श्रेष्ठको योगदान’ विषयक कार्यक्रममा उनले भने, “समाजका हरेक क्षेत्रले आदर्श र इमान्दारीपूर्र्वक काम गर्ने कुरा स्वर्गीय श्रेष्ठको जीवनीबाट सिक्नुपर्छ ।”

प्रधानन्यायाधीश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानून व्यवसायीहरुमा इमान्दारिता र आदर्श हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालमा कानूनी राज्य स्थापनाका लागि वरिष्ठ अधिवक्ता स्व. श्रेष्ठले पुर्याएको अतुलनीय योगदानको प्रशंसा गरे ।

स्व. श्रेष्ठले नेपालको न्याय क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउनुभएको स्मरण पनि उनले गरे ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वर्गीय श्रेष्ठको जीवनीबाट अधिवक्ताले सिक्नुपर्ने पाटो धेरै भएको उल्लेख गर्दै नेपाल बार एशोसिएशनको स्थापनामा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।