‘ए’ डिभिजन लिग : छैटौँ चरणका खेल आजदेखि

Football
लाेकपाटी न्यूज

काठमाडौं, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् ।

लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपीएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जीत निकाल्न सकेको छैन । विभागीय टिम एपीएफले मात्र एक जीत निकालेको छ ।

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जीत दर्ता गर्न सकेको छ । एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालिकाको ११ औं स्थानमा छ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्नेछन् । नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । छैटौँ चरणका खेलअन्तर्गत बुधबार मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्