के हो ‘मिटु’ ? ‘मिटु’को नेपाली ‘ट्रेन्ड’

dinesh aryal
केही समय अघि भारतका एक चर्चित ‘संस्कारी’ अभिनेता आलोकनाथलाई मिटुको प्रकरणले छोयो । त्यसको नतिजा यस्तो भयो कि उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्कासित नै हुनुपर्यो । फिल्म तथा टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए ।
लाेकपाटी न्यूज

– दिनेश अर्याल

सन् २०१७ मा एक हलिउड अभिनेत्रीले ट्विट पोस्ट गरिन्, जसमा भनिएको थियो, “यदि कोही तपाईहरु यौनजन्य उत्पीडनमा पर्नुभएको छ भने मिटु लेखेर आफ्नो अनुभव रिप्लाइमा लेख्नुहोस् ।” त्यसको केही समय नबित्दै धेरै देशका अधिकांश महिलाहरुले आफ्नो अनुभवहरु सामाजिक सञ्जालको माध्यमबाट शेयर गर्न थाले । खासगरी हलिउडभित्र भएको मुख्य यौन दुव्र्यवहारका घटना सार्वजनिक हुन थालेपछि विश्वभरि नै ‘मिटु’ अर्थात् यौन दुव्र्यवहारको सिकार ‘म पनि’ भन्ने अभियान सुरु भएको हो ।

केही समय अघि भारतका एक चर्चित ‘संस्कारी’ अभिनेता आलोकनाथलाई मिटुको प्रकरणले छोयो । त्यसको नतिजा यस्तो भयो कि उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्कासित नै हुनुपर्यो । फिल्म तथा टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए ।

अन्तरास्ट्रिय स्तरमै मिटुको व्यापक चर्चा हुन थालेपछि यो कुरा भारत हुँदै सुटुक्क नेपाल पनि छिर्यो । नेपाली महिला पत्रकारहरु जागिरको क्रममा तथा समाचार संकलनको क्रममा विभिन्न व्यक्तिद्वारा मौखिक तथा सांकेतिक यौन दुव्र्यवहारको सामना गरिरहनुपरेको बताउन थालेका छन् । यसबाट यो प्रष्ट हुन्छ, कि मिटु अभियानले महिलाहरुको यौन दुव्र्यवहारको पीडालाई खुलेर शेयर गर्न सहयोग गर्यो । आफूमाथि भएको यौन दुव्र्यवहारलाई सहेर बस्ने कैयौं महिलाहरु अहिले मिटुको ऐक्यवद्धताका कारण अपराधीको नाम खुलस्त पार्न तयार छन् ।

यद्यपि, हालका दिनमा मिटुको प्रभाव नेपालम त्यति धेरै परिहालेको त छैन । तर, यसले बिस्तारै नेपाली महिलाहरूको समस्यालाई उजागर गर्ने तथा थोरै भए पनि महिला उत्पीडनको विरुद्ध उभिन सम्बन्धित पक्षहरुलाई पनि गम्भीर ध्यानाकर्षण गराउला नै । ढिलो नै भए पनि दूब्र्यवहार गर्नु बिल्कुल गलत हो भन्ने नेपाली समाजले बुझ्ला र बुझ्नैपर्छ ।

मिटु अभियानमा आफूलाई परेको यथार्थ समस्या उजागर गर्ने हिक्मत जुटाउन हामीकहाँ अझै केही समय लाग्न सक्छ । जबसम्म पीडितले आफूलाई परेको वा भोगेको अनुभव पर्दाफास गर्न तयार रहन्नन्, यसको असर देखिँदैन ।

मिटु अभियान राम्रो हो । तर, यसका पनि केही अन्य पक्षहरु पनि छन् । पीडितलाई झनै बेइज्जत र खिल्ली उडाएर कतै भट्टीमा रक्सी गफ, क्याफेमा चियागफ, चौतारीमा टोलछिमेकले कुरा काट्ने, कोठेगफ गर्ने अनि नकरात्मक कुराले नै बढी ब्यापकता लिनसक्छ ।

तापनि ढिलै भए पनि तथा जस्तोसुकै अवस्थाबाट मिटुको ट्रेन्डका कारण अपराधकर्म बाहिर सार्बजनिक भएपछि पीडितले केही राहत भने पक्कै पाउनेछ भने पीडक सजाय पनि पाउनेछ भनी आशा गर्न सकिन्छ ।