घेराबन्दी ताेडेर मेलम्ची ल्याइछाड्ने मन्त्री बीनाकाे सङ्कल्प

Bina Magar
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर । मन्त्री भएलगत्तै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेकी खानेपानी मन्त्री बीना मगर अहिले भने चौतर्फी घेराबन्दीमा परेकी छिन् ।

मेलम्ची परियोजना सम्पन्न गर्न नचाहने र मन्त्री बीनासँग असन्तुष्ट पक्षले उनीविरुद्ध घेराबन्दी कसेका हुन् । मन्त्री भएलगत्तै मेलम्ची परियोजनाको अवलोकनका क्रममा मन्त्री बीना मगरले निर्माण कार्यको सम्पूर्ण बेलिबिस्तार मागेपछि आयोजना र निर्माण कम्पनीले दर्शैंसम्म मेलम्चीको पानी सुन्दरीजलमा खसाल्न सकिने दावी गर्दै रिपोर्ट गरे । यो रिपोर्ट मात्रै विश्वास गरिहाल्ने आधार भने थिएन । तर, यही बीचमा विश्व बैंक, मेलम्ची आयोजना, ठेकेदार, परामर्शदातालगायतको संयुक्त बैठकले दशैंअघि नै मेलम्चीको पानी सुन्दरीजल ल्याई पुर्‍याउन कार्ययोजना नै तयार गरे ।

कार्ययोजना अनुसार, मेलम्ची निर्माणको कार्यलाई विभिन्न भागमा बाँडेर सोही अनुरुप कार्य गर्न दैनिक कार्यतालिका नै निर्माण गरिएको थियो । यो कार्यतालिका अनुरुप काम भइरहेको भए अहिलेसम्म मेलम्चीको पानी आइसक्ने अवस्था हुन्थ्यो ।

मन्त्रीको निरन्तर ताकेता र खबरदारीसँगै यो कार्यतालिका अनुरुप दैनिकरुपमा धमाधम काम शुरु भएको थियो । तर, मन्त्रालय स्रोतका अनुसार यही बीचमा मन्त्रीलाई असफल पार्ने खेल शुरु भयो । मेलम्ची आए मन्त्रीले चौतर्फी प्रशंसा पाउने कुराबाट अत्तालिएका समूहहरुले समग्र निर्माण कार्यमा हस्तक्षेप शुरु गरे ।

स्रोतका अनुसार मन्त्रालय भित्रैबाट र बाहिरबाट योजनाबद्ध तरिकाले मेलम्चीको पानी समयमा नै आउन नदिने षड्यन्त्र शुरु भएको थियो । यति मात्रै होइन, मेलम्चीको कामलाई मन्त्रीको स्पिरिट अनुरुप कार्यतालिका प्रभावित गर्ने किसिमले खेल शुरु भयो । र, मन्त्रीले बारम्बार आफ्नो सचिवालयको टीमलाई मेलम्चीको अनुगमनमा पठाएपनि सोचे अनुरुपको काम अघि बढेन ।

‘कहिले के बहाना, कहिले के बहाना ?’ स्रोतल भन्यो, ‘निर्माण कम्पनी र परामर्शदाताको तहबाट बारम्बार अल्झ्याउने खेल भयो । र, मेलम्ची आयोजनाबाट समेत खासै कडाइका साथ अनुगमन र निर्देशन दिने काम भएन ।’

शुरुमा क्षतिपूर्तिको विषयमा निर्माण कम्पनीले बखेडा झिकेपछि मन्त्रीले परराष्ट्रको च्यानलसमेत प्रयोग गरेर उक्त कम्पनीको हेडक्वार्टरबाट उच्च प्रतिनिधि बोलाएर वार्ता गरिन् । यो चानचुने प्रयास थिएन । मन्त्रीको सबै कोशिस कार्यतालिका अनुरुप पानी आओस् भन्ने थियो । त्यतिखेरको पहलले केही गति लियो पनि । तर, पछि फेरि उस्तै भयो । मन्त्रीको निर्देशन सम्बन्धित कर्मचारीले मनैबाट पालना नगर्ने र मन्त्रालयको कर्मचारी नेतृत्वले समेत यसमा खासै पहल नगरेपछि मन्त्रीलाई बदनाम गर्न चाहनेहरुले मौका पाएको स्रोतको दावी छ ।

मन्त्री बीना मगर आफ्ना निकटतम् प्रतिद्वन्द्वीबाट अत्यधिक भोट ल्याएर जितेकी सांसद हुन् । कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट विजय हासिल गरेकी मन्त्रीले खानेपानी तथा सरसफाईका क्षेत्रमा कार्ययोजना नै निर्माण गरेर उदाहरणीय कार्य गर्ने संकल्प बोकेको स्रोतको दावी छ । तर, कतिपय कुराहरु सोचेजस्तो भएनन् । एकातिर नेकपा अध्यक्षको बुहारी भएका कारण अध्यक्षलाई निशाना बनाउने पक्षहरुले उनको बदनाम गर्न खोजे भने अर्कोतर्फ विगतदेखि नै खाइपाइ आएकाहरुले समेत मन्त्रीको एक्सन देखेर उनलाई असफल बनाउन खोजेको स्रोतको भनाइ छ ।

मन्त्रीका बारेमा भ्रम छर्न काम एकीकृत सूचना संयन्त्र नहुँदा समेत भएको केहीले टिप्पणी गरेका छन् । आयोजनाको कार्य प्रगतिका बारेमा आयोजना प्रमुखको एउटा भनाइ हुनु र मन्त्रालयको सचिवको अर्को दावी भएबाट झन् अन्यौलता सिर्जना भएको केहीले टिप्पणी गरेका छन् ।

मेलम्ची ढिलो हुनुमा मन्त्री मगरको कुनै हात नभएको र उनको अथक प्रयासपछि पनि यिनै तत्वहरु सक्रिय भएका कारण ढिलाई भएको स्रोत बताउँछ । प्राय:जसो मन्त्रीहरुको चासो आफ्ना कार्यकर्ता भर्ना गर्न रहने प्रवृति रहेको अवस्थामा मन्त्री मगरले मन्त्री भएपछि त्यता चासो दिइनन् । बरु उनको चासो मात्र मेलम्ची थियो ।

तर, चौतर्फी घेराबन्दी पारिएपनि मन्त्री मगरले आफूले संकल्प भने पूरा गर्ने बताएकी छिन् । काम मगर्दै जाने क्रममा नियत सफा भएपनि प्राविधिकरुपमा कतिपय कुरामा ढिलाई हन्छ । सोचे अनुरुपको काम अघि बढ्दैन । तर, नियत र मन सफा भए यसले एकदिन राम्रो परिणाम ल्याउने मन्त्रीको बुझाई छ ।
तुलनात्मकरुपमा हेर्दा मेलम्ची आयोजनाको यति लामो यात्रामा पहिलोपटक यति बढी चासो र कार्यप्रगति भएको कुरा भने कसैले नकार्न सक्दैनन् । यो सबै काम मन्त्री मगरले विशेष चासो र सतर्कता नअपनाएको भए हुने थिएन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्