प्रकाश दाहालको भावुक लेख : ‘गजुरी आउँदा अप्रिय खबर पाएँ’

prakash dahal
लाेकपाटी न्यूज

पार्टी हेडक्वार्टरको सञ्चार सेटमा फोन आयो। यो फोन दिदीको थियो र अरु बेलाको जस्तो सामान्य फोन थिएन। बरु त्यो उहाँलाई क्यान्सर भएको फोन थियो। बुबा र म स्तब्ध भयौँ। त्यो दिन हाम्रो परिवारका लागि एकदम भयावहको दिन थियो। धर्ती भासिएझै आकाश खसेझै भएको भान हुन्थ्यो।

त्यो अप्रिय समाचारले मलाई पिरोलिरहेको थियो । मेरो प्रिय दिदीको ममतामयी अनुहार झल्झली मेरो मानसपटलमा दौडिरहेको थियो । उहाँलाई भेट्ने तीब्र इच्छा थियो । तर म, त्यसो गर्न पनि सक्दिनथें । महान् जनयुद्धका क्रान्ति नायक बुबाको सुरक्षाको जिम्मेवारीका कारण मेरो सानोभन्दा सानो कमजोरीको कारण पार्टी र क्रान्तिलाई ठूलो क्षति हुने हुँदा जतिसुकै ठूलो पीडा सङ्कटमा पनि आफूलाई सम्हाल्दै अघि बढ्नुबाहेक मसँग कुनै विकल्प थिएन ।

त्यतिखेर पार्टी हेडक्वाटर रोल्पाको दुम्ला गाउँमा थियो । आफै भावुक अवस्थामा रहनुभएका बुबा ममीको अनुहार हेर्दा झनै भावुक हुनुहुन्थ्यो । त्यसै पनि बुबा भावुक स्वभावको हुनुहुन्छ । तर, जति लुकाउन खोजे पनि मनभित्रको पीडा बेचैनीका साथ अनुहारमा तरङ्गित भएको प्रष्टै देखिन्थ्यो । हाम्रो परिवारले झेल्ने हरेक दुःखकष्टसँग जुध्ने मेरी ममी आम महिलाभन्दा निकै कठोर र सहनशील हुनुहुन्छ । तर, यो समाचारले कुन आमाको हृदय पोल्दैन होला र ?

दिदीको उपचारका लागि भारत जाने योजनाअनुसार म पार्टी हेडक्वार्टर रोल्पामै छोडेर पञ्जाबतर्फ निस्किएँ । दिदी भिनाजु प्रवासी पार्टी कमिटीको जिम्मेवार ठाउँमा हुनुहुन्थ्यो । उहाँहरुको बसाई पञ्जाबमा थियो । चरम सङ्कटकालको अवस्थामा भारत जानु कम चुनौतिपूर्ण थिएन । रोल्पाबाट नेपाल सीमा पार गर्न त्यति सजिलो थिएन । बाटोभरि कतै जनसेनाको त कतै सेनाको चेकपोष्ट थियो । रोल्पाबाट हामी आठ दिन हिँडेर कपिलवस्तु पुग्यौँ । दिदीको त्यस्तो अवस्था आइसकेपछि हामीलाई हरेक सेकेण्डको महत्व हुन्थ्यो ।

त्यहाँबाट हामी सिधै पञ्जाब गयौँ । पञ्जाब पुगिसकेपछि दिदी भिनाजुसँग सल्लाह गरेर मुम्बइको टाटा मेमोरियल अस्पतालमा दिदीको उपचार गर्ने निर्णयमा पुग्यौँ । उक्त अस्पताल क्यान्सरको उपचारका लागि निक्कै राम्रो मानिन्थ्यो । टाटा अस्पतालमा चिकित्सकको सल्लाहमा सर्जरीपश्चात् केमोथेरापी गर्ने निर्णय भयो । उपचार प्रक्रिया सकारात्मक रिजल्टतिर उन्मूख भएको हुँदा केही राहत महशुस हुन्थ्यो नै । भनिन्छ, ‘केमोथेरापीको पीडा सहन निक्कै गाह्रो हुन्छ रे । तर, कति पीडादायी हुन्छ भन्ने कुरा बिरामीबाहेक अरु कसैले महशुस गर्नसमेत नसक्ने हुन्छ ।

अलिकति अवस्था राम्रो भएपछि डाक्टरको सल्लाहपछि हामी दिदीलाई लिएर हामी पञ्जाब फर्कियौँ । थेरापीले ग्रसित शरीर, कपालबिहीन मुडुलो अनि दिदीको मलिन अनुहार देख्दा मुटु भक्कानिन्थ्यो । बुबा ममी त्यतिबेला नै १२ बुँदे समझदारी र दलहरुसँगको वार्ताका लागि भारत आउनुभयो र दिदीलाई भेट्नुभयो । सर्वहारा वर्गको मुक्तिका लागि निरन्तर वर्ग दुश्मनसँग लड्ने दिदीको ईच्छाशक्तिलाई क्यान्सरले घुँडा टेकाउँदै थियो । क्यान्सर हावी भइरहँदा पनि रोगसँग लड्दै जीवनको बाँकी दिन अविष्मरणीय र सुन्दर बनाउँदै जिउनुबाहेक मेरी दिदीसँग अरु विकल्प थिएन । नेपालमा लडाइँ चर्कंदै थियो । हाम्रो परिवारका निम्ति निकै प्रतिकुल अवस्था थियो । बुवा आमा सबै परिवार बसेर दिदीको पीडामा साथ दिने अवस्थासमेत थिएन ।

बिरामी दिदीलाई छोडेर फेरि हामी आ–आफ्नो कार्यक्षेत्रमा फर्कियौं । परिवारको जेठो सन्तान हुँदा जिम्मेवारी पनि बढी थियो दिदीमा । हामी जन्मिनुभन्दा पहिले नै बुबा भूमिगत हुनुहुन्थ्यो । घरको सबै जिम्मेवारी ममीमा थियो । स–साना छोराछोरीको जिम्मेवारीले आमालाई थिच्ने गथ्र्यो भने बुबा कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो । दिदी हामीहरुभन्दा ठूली भएको हुँदा आमाको आधा जिम्मेवारीको हिस्सेदारी दिदीको काँधमा थियो । अझ मेरो जिम्मेवारी, स्याहारसुसारको जिम्मेवारी त सबै दिदीले नै उठाउनु पथ्र्यो । ममी दिनभर मेलापातमा नै व्यस्त रहने हुँदा घरमा दिदीले नै मेरो हेरविचार, भोक, तिर्खाको ख्याल राख्नुहुन्थ्यो । जन्म आमाबाट भएपनि मेरो लागि दिदी आमा समान हुनुहुन्छ ।

उहाँको स्वभाव हामीहरुको भन्दा फरक थियो । जस्तोसुकै पीडा भएपनि बुबा आमालाई कहिल्यै दुःखी बनाउनु भएन । औषधिको सेवनबाट स्वास्थ्यमा आएको सुधारले हामीलाई केही भने पनि खुसी बनाउँथ्यो । शान्ति वार्ताको दौरानमा पार्टी हेडक्वार्टर काठमाडौँमा सरेसँगै बल्ल हाम्रो परिवारमा सहज भेटघाट हुन थाल्यो । निरन्तर औषधि सेवनको सहारामा उहाँको स्वास्थ्य अवस्था राम्रै हुँदै गइरहेको थियो । उहाँ हामीसँग म बिरामी नभएको भए बुबालाई पार्टी र क्रान्तिमा साथ दिने ईच्छा थियो भन्ने गर्नुहुन्थ्यो । झण्डै दुई दशक बुवाको भूमिगत जीवनपछि मात्र हाम्रो परिवार एक ठाउँमा बस्न पायो । हामी सबै जना खुसी नै थियौँ । तर, त्यो खुसी लामो समय टिक्न नपाउँदै पाँच वर्षपछि एकाएक दिदीलाई चिकित्सकले बोन क्यान्सरको आशङ्का देखायो । नेपालमै सबै प्रविधि उपलब्ध नहुँदा दिदीलाई दिल्लीको फोटिज अस्पताल पु-यायौँ ।

पहिला स्तन क्यान्सर र पछि बोन क्यान्सर भन्ने कुराले हामीलाई सबैभन्दा बढी दुख थप्यो । यो अवस्था हुनु भनेको चौंथो स्टेजको क्यान्सर हो । आफ्नो अवस्थालाई जतिसक्यो आत्मासाथ गर्दै सामान्य बनाउने प्रयत्न दिदीले गरिरहनु भएको थियो । अस्पतालामा जाँचपछि हामी रिपोर्टको प्रतिक्षामा थियौँ । रिर्पोट लिन चिकित्सकले बोलायो । तर, प्रष्ट विषय राख्न मानेन । दिदी त्यहाँ भएर उसले हामीलाई केही नभनेको रहेछ । दिदीलाई सान्त्वना मात्र दियो । दिदी बाहिर निस्केपछि मात्र दिदीको बारेमा हामीलाई जानकारी दियो । उहाँको क्यान्सर झन् बढेछ । ‘यहाँ उपचार सम्भव छैन, अमेरिका लिएर जानोस्, म रिफर गरिदिन्छु’ भन्यो ।

हामी रिपोर्ट लिएर नेपाल फर्कियौँ । दिदीको स्वास्थ्य अवस्था जटिल भएकाले अमेरिका उपचारका लागि जाने निर्णयमा पुगियो । निर्णय अनुसार म, दिदी र भिनाजु अमेरिका पुग्यौँ । त्यहाँ स्टोन क्यापिटङ् अस्पतालमा दिदीको चकअप भयो । बोन क्यान्सर नभएर स्तन क्यान्सरको प्रभाव बोनतिर परिसकेको र त्यसको बारेमा पहिल्यै थाहा नहुँदा अहिलेसम्म औषधिले नियन्त्रण गरे पनि क्यान्सर अन्तिम चरणमा पुगिसकेको अवस्था रहेछ । त्यहाँ दिदीलाई अर्मोन थेरापी सुरु गरियो । आठ दश वर्ष यो थेरापीले रोग नियन्त्रण गर्ने चिकित्सकको सल्लाह थियो । अठार दिनमा उपचार सकेर हामी नेपाल फर्कियौँ ।

दिदीको स्वास्थ्यमा केही सुधार आएको भान हुन्थ्यो । तर, त्यो पनि लामो समय टिक्न सकेन । केही महिनापश्चात् नै दिदी फेरि थलिनुभयो । दोस्रो संविधानसभाको चुनावमा म बुवासँग हिड्नुपर्ने अवस्था थियो । सबै परिवार आ–आफ्नो ठाउँमा चुनावी अभियानमा होमिएका थियौँ । दिदीलाई फेरि भारत लैजाने निर्णय भयो । दिदी फोटिस अस्पतालको बेडमा मृत्युसँग सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । पार्टीको काम छोडेर म फेरि भारत गएँ । त्यहाँ दिदीको ‘किमो’ चलिरहेको थियो । हामी सबै परिवारका सदस्यहरु दिल्ली दिदीलाई भेट्न गइरहेका थियौँ । उहाँलाई समान्य उपचार मात्र चलिरहेको थियो । उहाँको शरीर सुन्निएको र पेट निक्कै फुलिसकेको थियो । केही समयपछि अब सामान्य घरमै बस्नसक्ने र ‘केमो’ दिनका लागि बेलाबेला भारत जानुपर्ने चिकित्सकले सल्लाह दियो । त्यसपछि दिदिलाई घर ल्यायौँ ।

फेरि ‘केमो’का लागि दिदीको स्थिति जटिल र शरिरमा विभिन्न समस्या देखिन थाल्यो । अस्पतालमा थेरापी भइरहेको थियो । उहाँको शरीरमा प्लेटलेट्स कमी भयो । दिल्लीको अपरिचित ठाउँमा म र भिनाजूलाई धेरै समस्या भयो । एक दुई पिन्ट रगतले पुग्दैनथ्यो । हरेक दिन प्लेटलेट्स घटिरहेको थियो । दिदीको शिथिल शरीरलाई केमो धान्नै समस्या थियो । थप मुखमा आएको घाउले झन समस्या निम्त्यायो । यस्तो अवस्थामा पनि बुवा आमालाई फोनबाट भए पनि साथ दिनुहुन्थ्यो । केही दिनको अस्पताल बसाइको क्रममा केमोले धान्न नसक्ने अवस्थामा दिदी पुग्नुभयो ।

शरीरभित्रको रोगलाई आफ्नो ईच्छाशक्तिले आजसम्म लड्दै आएपनि अवस्था खस्किदै गइरहेको थियो । अन्ततः चिकित्सकले बिरामीको अन्तिम अवस्थाको जानकारी दियो, जुन हाम्रा लागि पीडादायी थियो । हामी छाँगाबाट खसेझैं भयौँ । त्यो दिन रातिसम्म म सम्हालिन सकिनँ । दिदीको कोठामा पसेर दिदीलाई हेर्न पनि सकिनँ । रातभर दिदीको चिन्ताले एकोहोरो पिरोलिरह्यो । चिकित्सकले थप उपचार गर्न नसक्ने र परिवारमा खुसीसाथ बस्न सल्लाह दिएको थियो ।

हामी भोलिपल्ट नै नेपाल फर्कने निर्णयमा पुग्यौँ । दिदीलाई ह्वीलचेयरमार्फत् प्लेनसम्म पु-यायौँ । नेपाल विमानस्थलमा आएपछि दिदीलाई घरमा भन्दा पनि अस्पताल कसरी पु-याउने भन्ने चिन्ता थियो । हामीले एयरपोर्टबाट एम्बुलेन्समा ओम अस्पताल लग्यौँ । दिदीको यो अवस्था ‘सेमी कोमा’को अवस्था थियो । ‘कोमा’मा जाने अवस्था हुन्छ भन्ने चिकित्सकको जानकारीले परिवारमा चिन्ता हुन्थ्यो । दिदीको वास्तविक अवस्थालाई स्वीकार्नुबाहेक अरु विकल्प हामीसँग थिएन ।

अमेरिकामा दिदीको उपचारमा संलग्न चिकित्सकसँग कुनै विकल्प हुन्छ कि भन्ने आशामा सम्पर्क भइरहन्थ्यो । तर, उहाँ दिदीको उपचारमा संलग्न चिकित्सक आफै अचम्मित थियो । किनभने उनको अनुभवमा हर्मोन थेरापी गरेको बिरामी यति छिटै थलिएको यो पहिलो घटना थियो रे । तर, यो अवस्थामा जे–जति उपचार गरियो, त्योभन्दा अगाडि क्यान्सर रोगको कुनै उपचार विधि निस्किएको रहेनछ । हामीले हरेस खाएनौं र निरन्तर उपचारमा जुटिरह्यौँ । तर, चिकित्सकले दिदी ठीक हुन नसक्ने जानकारी दिइसकेको थियो ।

ओम अस्पतालमा जीवन मृत्युको सङ्घर्षबाट क्रमिक सुधार हुँदा फेरि हामीमा खुसी आयो । उहाँको स्वास्थ्यमा आएको सुधार कल्पनाभन्दा बाहिरको हुनु स्वभाविक नै थियो । ‘सेमी कोमा’मा भएको अवस्थामा पनि उहाँले बेडमा ट्वाइलेट कहिल्यै गर्नुभएन । उहाँले दिल्लीबाट नेपाल आएको पनि थाहा पाउनुभएको रहेनछ । कहिलेकाही उहाँले बेसुरको कुरा गरे पनि पार्टीको चिन्ता लिनुहुन्थ्यो । किरण काका, बादल काका, विप्लव काका भेट्न आउँदा पनि उहाँले पार्टी एकताको कुरा गर्नुभएको थियो । दिदीमा पीडा पचाउन सक्ने अवस्था राम्रो थियो । त्यही भएर पनि उहाँले रोगसँग लड्नुभयो । सिरिञ्जको डामले हात सुन्निएको थियो । यस्तो अवस्थामा भेन निस्क्रिय हुने रहेछ । त्यसैले स्लायन चढाउन र ब्लड निकाल्न धेरै प्रयास गर्नुपथ्र्यो ।

हरेश खाएर आशा नै मारेको अवस्थामा दिदी यसरी घर फर्कने अवस्था आउँदा परिवारमा खुसी छाएको थियो । दिदीलाई घर ल्याउने निर्णय भयो । म लामो समय चितवन फार्ममा नगएको हुँदा म र मामा चितवन गयौँ । त्यही दिन दिदीलाई घरमा ल्याइएको थियो । दिदीले आफैं घर वरिपरि हेर्नुभयो । बेलुकी घर परिवारसँग बसेर कुराकानी गर्नुभयो । दिदीको अस्पताल बसाइमा आमाले पकाएको लोकल कुखुराको झोल खाने ईच्छा थियो । दिदीले दुई पिस मासु र झोल खानुभयो । के थाहा त्यो रात परिवारसँगको अन्तिम रात भन्ने, भोलिपल्ट दिदीलाई श्वास लिन गाह्रो भयो भनेर अस्पताल लगेको खवर आयो । मामा र म काठमाडौं हिडिहाल्यौँ । आउँदाआउँदै दिदीलाई भेन्टिलेटरमा राखेको खवर आयो । अब भने दिदीको अन्तिम हो भन्ने मैले कल्पना गरेको थिएँ । म जतिसक्दो छिटो दिदीलाई भेट्न जाने चाहनामा गाडी तेज रफ्तारमा चलाइरहेको थिएँ ।

हामी गजुरी आइपुग्दा दिदीले संसार छाडेको खबर थाहा पायौँ । अब मैले आफूलाई सम्हाल्नुबाहेक अरु कुनै विकल्प थिएन । हामीलाई सिधै पशुपति आउने खबर दिइयो । बाटो जाम भएको कारण केही ढिलो पशुपति पुग्यौँ । दिदीको भौतिक शरीर मात्र मेरो प्रतीक्षामा थियो । छेउमा सबै परिवार रोइरहेका थिए । आमाको साथ गुमाएका मेरा भाञ्जीहरु रोएको देख्दा म बेहोसजस्तै बनें । मैले आफूलाई समेत सम्हाल्न सकिनँ । आमाजस्तै प्यारी दिदीको अन्तेष्टीको त्यो पीडा मेरो जीवनको सबैभन्दा ठूलो पीडा थियो । त्यो पीडा म कहिल्यै भुल्न सक्दिनँ ।

दिदी अहिले हाम्रो माझमा हुनुहुन्नँ । भौतिक रुपमा सदाका निम्ति टाढा हुनु भएपनि दिदीलाई मष्तिष्क र हृदयमा राखिराख्छु । जीवनको सङ्घर्षपूर्ण विषम् घडीमा होस् या खुसीका पलहरुमा सदैव तपाईको साथ रहेको आभाष मेरो जीवनमा रहिरहनेछ दिदी ।