प्राङ्गरिक मलका लागि एक अर्ब : राज्यमन्त्री चौधरी

ramkumari chaudhary
लाेकपाटी न्यूज

काठमाण्डौं, १९ मङ्सिर। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले माटो नै मानव जीवनको जिउने मुल आधार भएको बताएकी छिन् ।

विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रममा चौधरीले उक्त कुरा बताएकी हुन् । खाद्यान्न उत्पादनको मुख्य स्रोत माटो नै भएको र पृथ्वीको उत्पादक माटो बन्न करोडौं वर्ष लागेकाले माटोलाई बचाउनु नै उत्पादनको दीर्घकालीन आधार भएको उनको तर्क थियो ।

‘माटो नै समस्त मानव सभ्यताको एक मात्र ठोस आधार हो’ राज्यमन्त्री चौधरीले भनिन्, ‘माटोमा रासायनिक मल र विषादीको प्रयोगले यसको गुणस्तर र उत्पादकत्व खस्कँदै गइरहेको छ । प्राङ्गारिक मल प्रयोगबाट मात्र यसको प्रदुषण रोक्न सकिन्छ ।’

चौधरीले प्राङ्गारिक मलका लागि एक अर्ब बजेट बिनियोजन गरिएको पनि बताइन् । ‘बि द सोलुसन, टु स्वाइल पोलुसन’ भन्ने मुल नाराका साथ विश्वभरि मनाइने यो कार्यक्रम नेपालले पनि मनाएको हो ।

राष्ट्रिय किसान आयोग, कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद्, माटो विज्ञान महाशाखा, नेप्लिज सोसाइटी अफ सोइल साइन्सको संयुक्त आयोजनामा माटो दिवस मनाइएको हो । कार्यक्रमपूर्व प्रभातफेरि पनि गरिएको थियो ।

कार्यक्रममा किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, आयोगका सदस्यहरु, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसी, नार्कका टेक बहादुर गुरुङ लगायतको उपस्थिति थियो ।