सामाजिक शिक्षा नेपाली भाषामा किन ?

dr.-basanta-gautam-1
लाेकपाटी न्यूज

डा. वसन्त गौतम

केही दिन पहिलामात्र ‘अन्नपूर्ण पोस्ट’को शनिबारीय प्रकाशन ‘फुर्सद’मा एउटा आलेख आएको थियो ‘हामीपछि को बोल्ला यो भाषारु’ शीर्षकमा। उक्त आलेख सम्भवत अन्तिम कुसुण्डाभाषी २ दिदीबहिनीका बारेमा थियो।

जनसंख्या घट्दै जानु, कुसुण्डाको अन्य जातिमा बिहेबारी भएपछि कुसुण्डा भाषा छाडेरउतैको भाषा अपनाउनु, राज्यले संरक्षण नगर्नु र राज्यको शिक्षा प्रणालीमा कुनै हिसाबले पनि यो भाषा नसमेटिनुले गर्दा कुसुण्डा भाषा लोप हुने स्थितिमा पुगेको छ। कुसुण्डा भाषा हाम्रो समाजको एउटा सम्पत्ति हो तर हाम्रो बेहोसीले यो लोप हुँदैछ।

भाषा जोगिन कि त्यो दैनिक जीवनमा प्रयोगमा हुनुपर्छ कि त्यसमा अध्ययन अध्यापन हुनुपर्छ। कुसुण्डा भाषाका हकमा हामीले न त्यसको व्यावहारिक प्रयोगको निरन्तरतालाई प्रोत्साहित गर्न सक्यौं न त्यसलाई अध्ययन/अध्यापनको विषय नै बनायौं। हामीले हाम्रो सामाजिक शिक्षा प्रणालीको एउटा अंग बनाउन सकेको भए कुसुण्डा भाषा र संस्कृति लोप हुने स्थितिमा पुग्ने थिएन।

गएकोे मातातीर्थ औंशीलाई हाम्रा बच्चाले ‘ह्याप्पी मदर्स डे!’ भनेर मनाए। त्यस्तै कुशे औंशीलाई उनीहरुले ‘ह्याप्पी फादर्स डे१’ भनेर मनाए। यो ‘मदर्स डे’ र ‘फादर्स डे’ ले हाम्रो सांस्कृतिक मान्यतालाई कसरी प्रतिनिधित्व गर्न सक्छ, विचारणीय छ। बच्चाले आजका बाबुआमाबाट मातातीर्थ औंशी र कुशे औंशीको परम्परा र दर्शनका बारेमा केही सुने होलान् भन्ने सम्भावना पनि कम छ किनभने अभिभावक र बच्चाबीचको संवाद ज्यादै कम हुँदै गएको छ समाजमा।

समाजका परम्परा र विशेषताको वर्णन अंग्रेजीमा सम्भव हुँदैन र नेपाली भाषामै फर्किनुपर्छ। यस्तो खालको नेपांग्रेजी पाठले बच्चाको सिकाइ प्रक्रियालाई गञ्जागोल पारिदिन्छ। त्यस्तै, आजभोलि हामी जन्मदिन मनाउँदैनौं, केक काटेररमैनबत्ती निभाएर ‘बर्थ डे’ मनाउँछौं। हाम्रो संस्कृति ‘काट्ने’ र ‘निभाउने’ संस्कृति होइन, हाम्रो संस्कृति त दीयोको ज्योतिको निरन्तरताको संस्कृति हो भन्ने कुरा हाम्रो पुस्ताले नै बिर्सन थालिसकेको छ भने अहिले विद्यालय पढिरहेको पुस्तालाई त थाहा हुने कुरै भएन।

कुनै एक विद्यालयमा कक्षा ६ मा पढाइने सोसल स्टडिज पुस्तकको ‘आवर फेस्टिभल्स’ पाठमा तिहारको बारेमा बताइएको छ रभैलीर द्यौसीमा भट्याइने कुरालाई रोमन नेपालीमा लेखेर इटालिकमा राखिएको छ। त्यस्तै, कक्षा ७ को उही विषयको पुस्तकको ‘सम इम्पोर्टेन्टआस्पेक्ट्स अफ आवर ट्रेडिसन्स’ पाठमा चौतारो, पाटीपौवा, पीपल, बर, समी, गुठी, पर्म आदिजस्ता शब्दलाई रोमन नेपालीमा लेखेर इटालिकमा राखिएको छ। सोही पुस्तकको ‘आवर फोल्क कल्चर’ भनिएको पाठको ‘फोल्क डान्स’ खण्डको झण्डै आधा भाग रोमन नेपाली इटालिकमा छ।

यी केही प्रतिनिधि उदाहरणहरु मात्र हुन् कक्षा १ देखिकै ‘सामाजिक शिक्षा’ विषयलाई ‘सोसल स्टडिज’का नाममा अंग्रेजीमा पढाउँदा हाम्रो समाजका परम्परा र विशेषताहरुको वर्णन अंग्रेजीमा सम्भव हुँदैन र नेपाली भाषामै फर्किनुपर्छ। यस्तो खालको नेपांग्रेजी पाठले बच्चाको सिकाइ प्रक्रियालाई गञ्जागोल पारिदिन्छ। यसरी लेखिएको रोमन नेपालीका कारण बच्चामा ती शब्दको गलत उच्चारणको बानी लाग्ने सम्भावना पनि धेरै हुन्छ। अचेलका विद्यार्थीले ‘योग’लाई ‘योगा’ र ‘वेद’लाई ‘वेदा’ भन्नुको कारण यस्तै नेपांग्रेजी पाराको सामाजिक शिक्षाको पढाइ हो।

सामाजिक शिक्षाको महत्वलाई ख्याल गर्दै विगतदेखिनै विद्यालय शिक्षामा यो विषयलाई अनिवार्य विषयको रुपमा पढाइँदै आएको छ। हाल यो विषयलाई ‘सामाजिक अध्ययन’ पनि भन्न थालिएको छ। यो विषयले विद्यार्थीलाई परिवार, समाज, देश, संस्कृति, परम्परा, सभ्यता, राजनीतिकप्रशासनिक प्रणाली, भूगोल आदि विवध विधाका बारेमा ज्ञान दिन्छ। यो विषयले विद्यार्थीलाई आफ्नो परिवेश चिन्न र बुझ्न मद्दत गर्छ र विद्यार्थी त्यही बुझाइको जगमा उभिएर विश्वलाई चिहाउन सक्ने पनि बन्छ। पेसाका हिसाबले विद्यार्थी भोलि गएर शिक्षक, प्रशासक, डाक्टर, इन्जिनियर, राजनीतिकर्मी आदि जे बने पनि यदि उनीहरुले समाजलाई चिन्न सकेनन् भने उनीहरुको व्यक्तित्व अपूर्ण हुन्छ।सामाजिक शिक्षाको उचित पठनपाठनले विद्यार्थीलाई समाज चिनाउँछ रउनीहरुमा समाजप्रतिको आत्मविश्वास र संवेदना जगाउँछ। यो आत्मविश्वास र संवेदनाले परिवार, समाज र देशकै लागि धेरै सकारात्मक योगदान दिन सक्छ।

सामाजिक शिक्षा परिवार, समाज, राज्यको अध्ययन हो। विद्यार्थीले कक्षाकोठामा यी संरचनाहरुका बारेमा सैद्धान्तिक र विवरणात्मक कुराहरु सिक्छन् र व्यावहारिक सिकाइ भने परिवार, समाज र राज्यसँगको अन्तक्रियाबाट प्राप्त गर्छन्। कक्षाकोठाको अध्ययन अंग्रेजी भाषामा र व्यावहारिक अन्तक्रिया नेपाली वा स्थानीय भाषामा हुँदा सिकाइ प्रभावकारी हुन सकेको छैन। यसै पनि हाम्रा विशिष्ट सांस्कृतिक र परम्परागत मान्यताहरुको सोझो अंग्रेजी अनुवाद सम्भव छैन, जुन तहको अंग्रेजीमा अनुवाद गर्न सकिन्छ त्यो बच्चाले राम्ररी बुझ्न सक्दैनन्। यसैले विद्यार्थीका लागि सामाजिक शिक्षा भनेको अंग्रेजीमा लेखिएका अनुच्छेदघोकेर जाँचमा ओकल्नु र जाँचपछि बिर्सनु बनेको छ।

समाज, संस्कृति र इतिहास कुनै पनि व्यक्तिको अस्तित्वका आधार हुन्। आफ्नो अस्तित्वलाई परिभाषित गर्ने विषय आफ्नै भाषामा नपढी कुनै विदेशी भाषामा पढ्नुपर्दा बुझाइ त कमजोर हुन्छ नै, विद्यार्थीमा आफ्नो देश र समाजप्रतिको गौरवबोध सिर्जना हुन पाउँदैन। यसको परिणाम स्वरुप उनीहरुको राष्ट्रिय स्वाभिमान र नागरिक चेतनामा समेत कमी आउँछ। विदेशी भाषामा नेपाली समाजको वास्तविक वस्तुस्थिति र यहाँका सम्भावनाहरुको सहीपहिचान गराउन नसकिने हुँदा उनीहरुमा देशमा केही हुन नसक्ने निराशाभाव सिर्जना हुन्छ रविदेश पलायनको मानसिकता प्रभावशाली बन्छ। यो मानसिकतलाई चिर्न सानै उमेरदेखि बालबलिकामा हाम्रो समाजका संभावनाहरुका बारेमा उत्सुकता जगाउन सक्नुपर्छ जुन कुरा सामाजिक शिक्षा नेपालीमा पढाउँदामात्र सम्भव छ।

त्यस्तै यी ‘सोसियल स्टडिज’मा नेपालको राजनीतिक प्रणाली, प्रशासन, कानुन आदिका बारेमा पनि पढाइन्छ।विद्यार्थीले यी विषयका शब्दावली अंग्रेजीमा मात्र सिक्छन्। व्यवहारमा र सञ्चार माध्यममा आउने नेपाली शब्दावली उनीहरुले बिल्कुलै जानेका हुँदैनन्। यसरी अंग्रेजीमा पढाइने सामाजिक शिक्षाले हाम्रा बालबालिकालाई देशको राजनीति, प्रशासन र कानुनको ज्ञानबाट विमुख बनाइदिन्छ। उनीहरु सरकारी कार्यालयमा आवश्यकपर्ने एउटा सामान्य निवेदनसमेत लेख्न नजान्ने हुन्छन्।

पञ्चायती व्यवस्थाको अन्त्यपछि हामीले अँगालेको शिक्षा प्रणालीमा अंग्रेजी हावी भएको छ। विद्यार्थीको अंग्रेजी राम्रो बनाउनका लागि भन्दै हामी ‘नेपाली’ एउटा बाहेक सबै विषयलाई अंग्रेजीमै पढाइरहेछौं र हाम्रो अंग्रेजी मोहान्धता देख्दा यस्तो लाग्छ कुनै दिन हामी ‘नेपाली’ भनिने यो विषयलाई समेत अंग्रेजीमा पढाइदिन पनि पछि नपरौंला। तर सबै विषय लटरपटरअंग्रेजीमा पढाउँदैमा विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ भन्ने छैन। राम्रो शिक्षण विधि छ भने एउटा विषयमात्रै अंग्रेजीमा पढाए पनि विद्यार्थीको अंग्रेजी भाषाको स्तर राम्रो हुन्छ, शिक्षण विधि गतिलो छैन भने जतिवटा विषय अंग्रेजीमा पढाए पनि सिकाइको प्रभावकारिता हुँदैन।

अहिले हाम्रा विद्यार्थी नेपालीमा अत्यन्त कमजोर हुँदै गएका छन्। विद्यार्थीको नेपाली भाषा सबलीकरणका लागि अमेरिकी सहयोगमा परियोजना सञ्चालन हुनेसम्मको लज्जास्पद स्थिति सिर्जना भएको छ। विद्यार्थीको नेपाली यस्तरी कमजोर हुनुको प्रमुख कारण हामीले नेपाली भाषामा एउटा मात्र विषय पढाउनु हो। ‘नेपाली’ नाम दिएर जुन विषय नेपाली भाषामा पढाइन्छ, त्यो व्याकरणकेन्द्रित हुन्छ ।व्याकरणकेन्द्रित पढाइले नियम सिकिन्छ, भाषा सिकिन्न। वास्तविक नेपाली भाषा सिक्ने हो भने नेपाली समाज बुझ्नुपर्छ र त्यसका लागि समाज, संस्कृति, राजनीति आदि नेपालीमा पढ्नुपर्छ। व्याकरणकेन्द्रित ‘नेपाली’ पढाइमात्रैले नेपाली भाषामा लेखिएका साहित्यिक वा गैरसाहित्यिक नेपाली कृतिहरु पढ्न/बुझ्न सक्ने भाषिक क्षमता विद्यार्थीले प्राप्त गर्न सक्दैनन्। हाम्रो अहिलेको शिक्षण पद्धति निरन्तर रहने हो भने अबको २०र२५ वर्षपछि नेपाली सहित्यले पाठक नै नपाउने स्थिति समेत सिर्जना हुन सक्छ।

सामाजिक शिक्षा अंग्रेजीमा नपढाउँदैमा विद्यार्थीको अंग्रेजी कमजोर हुने पनि होइन। अंग्रेजी भाषा, विज्ञान, गणित, कम्प्युटर, स्वास्थ्य शिक्षाजस्ता विषयका माध्यमबाट विद्यार्थीको अंग्रेजी क्षमता निर्माण भइहाल्छ। हामीले सामाजिक शिक्षालाई पनि नेपालीमा पढाएर विद्यार्थीको नेपाली भाषिक क्षमता अभिबृद्धि गर्‍यौं भने त्यसले प्रकारान्तरमा विद्यार्थीको अंग्रेजी भाषा सिक्ने क्षमतामा पनि सुधार हुन्छ। मातृभाषामा जति राम्रो पकड भयो उति नै अन्य भाषाहरु सिक्न सहज हुने तथ्य अनुसन्धानबाट प्रमाणित भइसकेको छ।

सामाजिक शिक्षाको अध्यापनलाई खस नेपाली भाषामै मात्र सीमित नराखी देशका अन्य राष्ट्रभाषामा पनि बिस्तार गर्नुपर्छ। आवश्यकताअनुसार निश्चित तहसम्मको सामाजिक शिक्षालाई स्थानीय भाषामै पठनपाठन गराउन सकिन्छ। नेपाली बाहेकको मातृभाषा बोल्ने समुदायको सघन बस्ती भएका स्थानमा कम्तीमा ३ कक्षासम्मको सामाजिक शिक्षालाई मातृभाषामै पढाउने र त्यसपछि नेपालीमा पढाउने गर्न सकिन्छ। घरमा नेपाली नबोल्ने बच्चालाई विद्यालयमा टिकाइराख्न र उनीहरुको सिकाइ प्रभावकारी बनाउन यसले धेरै सहयोग गर्छ। यसो गर्दा स्थानीय भाषाहरुको संरक्षणमा टेवा पुग्ने कुरामा पनि सन्देह छैन।

संघीय सरकारका शिक्षा मन्त्रीद्वारा हालै प्रस्तुत गरिएको ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५’ मा पनि यस विषयमा उल्लेख गरिएको छ ।उक्त २२ बुँदे नीति तथा कार्यक्रमको बुँदा नं. २ को उपबुँदा (च) मा ‘नेपाली कला, संस्कृति, साहित्य, सामाजिक अध्ययन लगायतका पहिचानमूलक विषयहरू राष्ट्रभाषामा अध्ययन/अध्यापन गराउने व्यवस्था गर्ने’ लेखिएको छ। राष्ट्रिय नीति निर्माण तहमै यो विषयले यसरी ध्यान पाउनुले निश्चय पनि आशावादी हुन सकिन्छ तर कार्यान्वयनको पाटोमा मन्त्रालय र सम्बन्धित निकायले कत्तिको तदारुकता देखाउँछन् त्यो नहेरी खुसी हुने आधार भने छैन। देशमा एक से एक उत्कृष्ट नीति तथा कार्यक्रमहरु बन्ने तर कार्यान्वयन नभई हराएर जाने पुरानो रोग हावी छ। अर्कोतर्फ, यो नीति तथा कार्यक्रमलाई सामुदायिक विद्यालयमा मात्र सीमित नराखी संस्थागत विद्यालयलाई समेत समटे्न सक्दा अझ राम्रो हुन्थ्यो। कम्तीमा ‘नेपाली कला, संस्कृति, साहित्य, सामाजिक अध्ययन लगायतका पहिचानमूलक विषयहरू राष्ट्रभाषामा अध्ययन’अध्यापन गराउने व्यवस्था गर्ने’ भन्ने बुँदालाई सबै विद्यालयका लागि अनिवार्य गरिनुपर्छ।

हाम्रो शिक्षा नीतिमा भाषिक माध्यमसम्बन्धी कुनै व्यवस्था छैन। अहिले पनि कुन विषय कुन भाषामा पढाउने भनेर कतै तोकिएको छैन। संस्थागत विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको प्रमुख कारण उनीहरुले अंग्रेजी माध्यम अँगाल्नुलाई मान्यो समाजले। र विद्यार्थीको संख्या घट्दै गएपछि यो समस्याबाट पार पाइने आशामा सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमलाई अँगाल्न थालेका छन्। अहिले कतिपय सामुदायिक विद्यालयमा २ धारमा पढाइ हुन्छ, एउटा नेपाली माध्यमका नाममा र अर्को अंग्रेजी माध्यमको नाममा। एउटै विद्यालयमा ‘२ वटा विद्यालय’ हुने यस्तो बिडम्बनापूर्ण स्थिति निर्माण हुन पुगेको छ।

संस्थागत विद्यालयको स्तर राम्रो हुनु र उनीहरुतिर अभिभावकको आकर्षण बढ्नुको कारण अंग्रेजी माध्यममात्र नभई उनीहरुको चुस्त व्यवस्थापन पनि हो भन्ने कुरा सामुदायिक विद्यालय स्वयं र राज्यले बुझेनन् वा बुझेर पनि बुझ पचाए। अहिलेकै जस्तो दलीय राजनीतिले आक्रान्त भद्दा व्यवस्थापनशैली र दलीय झोले शिक्षकहरु कायम राखीरहे जुन भाषामा पढाएपनि सामुदायिक विद्यालयले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने छैनन्। व्यवस्थापन सुधारेका केही सामुदायिक विद्यालय नेपाली माध्यमबाटै पनि उत्कृष्ट बनेका छन्।

संक्रमणकालको अन्त्य भएको भनिएको अबको समयमा राज्यले नयाँ शिक्षा नीति तर्जुमा गर्ने क्रममा शिक्षणको भाषिक माध्यमका बारेमा पनि स्पष्ट उल्लेख गर्नुपर्छ। कुन–कुन विषय नेपालीमा पढाउनै पर्ने, कुन–कुन विषय अंग्रेजीमा पढाउनैपर्ने र कुन विषयको माध्यम भाषा रोज्न विद्यालय स्वतन्त्र हुने भन्ने कुरा नीति र नियमावलीमै तोकिनुपर्छ। यस्तो व्यवस्थाका लागि अब केन्द्रीय सरकारको मुख ताकिरहनु पनि पर्दैन। संविधानले दिएको अधिकार प्रयोग गर्दै गण्डकी प्रदेश आफैं नयाँ शिक्षा नीतिको निर्माणमा लाग्न सक्छ रयो कुरामा देशको नेतृत्व लिन सक्छ।

गौतम ‘सामाजिक शिक्षा नेपालीमा’ अभियान–२०७५ मा आवद्ध छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्