ट्राफिक नियम पालना गर्ने मन्त्री गोकर्ण बिष्ट

gokarna bista
लाेकपाटी न्यूज

काठमाडौं, मङ्सिर । नियोजित रुपमा मिसन चलाएर वर्तमान सरकारको चर्को आलोचना गर्नेहरू पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । धेरै प्रचार नचाहने तर आफ्नो जिम्मेवारी पूरा गर्ने बानी भएका उनै मन्त्री ट्राफिक नियम उलङ्घन नगर्ने मन्त्रीमा पर्छन् ।

प्रायजसो मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलाई गाडी हुइँक्याउन लगाउँछन् । तर, मन्त्री विष्ट अरू सर्वसाधारणजस्तै जाममा पनि रोकिन्छन् । मंगलबार थापाथली चोकमा रातो बत्तीको जाममा बसिरहेको समयमा मन्त्रीको गाडी देखियो ।

सवारी चालकहरुले मन्त्रीको गाडी लाइनमा देखेपछि कौतुहलता देखाए । त्यही बेला पत्रकार रामेश्वर बोहराको क्यामरामा गाडी कैद भयो । क्यामेरामा फोटो कैद गरेपछि पत्रकार बोहराले गाडीभित्र हेरे, त्यहाँ श्रममन्त्री बिष्ट रहेछन् ।

उनले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल बनेको छ । धेरैले त्यसलाई रिट्वीट गरिरहेका छन् भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन् ।

बोहराले ट्वीटरमा लेखेका छन्, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्र गति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ !’

bohara-1