नेपाल आतंकवादको निशानामा ३३ औं नम्बरमा, भारत र चीन पनि असुरक्षित !

muslim militants
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २० मंसिर । नेपाल आतंकवादको निशानामा विश्वको ३३ औं नम्बरमा पर्ने एक प्रतिवेदनले उल्लेख गरेको छ । बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’का अनुसार दक्षिण एशियाली मुलुक नेपाललगायत भारत, पाकिस्तान र अफगानिस्तान आतंकवादबाट प्रभावित राष्ट्रमा पर्छन् ।

इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी)ले प्रत्येक वर्ष आतंकवादको निशानामा पर्न सक्ने राष्ट्रहरुको सूची निकाल्ने गरेको छ । यसको मुख्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ । यसको शाखा कार्यालयहरु न्यूयोर्क, मेक्सिको सिटी र हेगमा पनि छन् ।

यस सूचीको शीर्षस्थानमा इराक रहेको छ भने दोस्रो नम्बरमा एशियाली मुलुक अफगानिस्तानलाई राखिएको छ । त्यस्तै तेस्रो र चौथो नम्बरमा क्रमश: नाइजेरिया र सिरया परेका छन् । पाकिस्तान पाँचौं नम्बरमा पर्दा सोमालिया छैटौं नम्बरमा रहेको छ । छिमेकी मुलुक भारत आतंकवादको निशानामा पर्ने सूचीको सातौं नम्बरमा परेको छ । यमन, इजिप्ट र फिलिपिन्स क्रमश: आठौं, नवौं र दशौं नम्बरमा परेका छन् ।

चीन भने यो सूचीको ३६ औं नम्बरमा राखिएको छ ।

विश्वको शक्तिशाली राष्ट्रको रुपमा लिइएको अमेरिका र बेलायत यस सूचीको २० औं र २८ औं नम्बरमा रहेका छन् ।