‘सरकारले हिन्दु धर्मलाई प्रहार गर्‍यो’ : कमल थापा

Kamal Thapa
लाेकपाटी न्यूज

जनकपुरधाम, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् ।

मिडिया नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावानप्रतिको प्रहार हो भने ।

सरकारको नौ महिनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले धारणा राखे ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए ।

उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौं केन्द्रित हुनेछ भने । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभई नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।