प्राधिकरणका २ कर्मचारी कुटिए, न्यूराे अस्पतालमा भर्ना

NEA
लाेकपाटी न्यूज

सिरहा, २० मंसिर । सिरहामा विद्युत चुहावट रोक्न गएका दुई कर्मचारीलाई स्थानीयद्वारा कुटिएका छन् । सिरहा नगरपालिका-१३ स्थित गम्हरीया फुलबरीयामा विद्युत चोरी नियन्त्रण गर्न पुगेको टोलीमध्ये सिनियर मिटर रिडर कामेश्वर कुसियैत र जुनियर हेल्पर अरुण यादवलाई स्थानीयले कुटेका हुन् ।

स्थानीय महिला र पुरुषले कर्मचारीलालई कुटेको नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका पीडित जुनियर हेल्पर अरुण यादवले बताएका छन् । सिरहा नगरपालिका वडा नं १३ स्थित फुलबरीया गमहरियाका पवितर यादवको काकाको घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको हुदाँ करिब एक/डेढ महिला पूर्व विद्युत कर्मचारीले घरको मिटर खोली ल्याएका थिए ।

घरधनीले हालसम्म मिटर जडान नगरी घरमा विद्युत बालिरहेको समयमा बुधबार राति करिब ९ बजेको समयमा विद्युत चुहावट नियन्त्रण अभियानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी) को संयुक्त टोली उक्त पवितर यादवको काकाको घरमा गई ढोका ढकढकाउँदै ढोका खोल्न भन्दा घरको महिला, पुरुषहरु मिली विद्युत कर्मचारीलाई मिटर खोल्ने हो भन्दै गाली गलोज गर्दै कुटपिट गरेका हुन् । पवितर यादव, घुरन यादव, श्याम ठाकुर लगायतको समूहले लाठी, मुक्का लगायतले कुटपिट गरी घाइते बनाएको पीडित कर्मचारी यादवले बताए ।

घाइते जुनियर हेल्पर अरुण यादवलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ भने सिनियर मिटर रिडर कामेश्वर कुसियैतलाई थप उपचारको लागि विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख अवधेश दुवे जानकारी दिएका छन् ।