‘मेरो दृष्टिमा बुटवल र दाङका जनता बराबर हुन्’ : प्रचण्ड

Prachandaa
लाेकपाटी न्यूज

काठमाडौं, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दृष्टिमा बुटवल र दाङका जनता बराबर भएको बताएका छन् ।

लुम्बिनीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अस्ति म कपिलवस्तु गएँ, त्यहाँका नेता र जनताले प्रदेशको राजधानी तिलौराकोट हुनुपर्छ भन्नुभयो । मैले भनें, तिलौराकोटको तपाईहरुको माग जायज छ । तर, त्यही हुन्छ भन्न म सक्दिनँ । आज तपाईहरुले पनि त्यही माग गर्नुभयो, म तपाईहरुको मागको सम्मान गर्छु ।’

प्रचण्डले थपे, ‘बुटवलमा अहिले अस्थायी राजधानी छ । दाङ पनि राजधानीका लागि उपर्युक्त ठाउँ हो । तर, म अहिले यही नै राजधानी हुनुपर्छ भन्ने पक्षमा छैन । राजधानी तोक्ने अधिकार प्रदेश सभालाई छ । हामीले त्यो पूर्ण सम्मान गर्छौं । मेरो दृष्टिमा बुटवल र दाङका जनता बराबर हुन् । सबैप्रति मेरो समान भावना र दृष्टि रहन्छ ।’

प्रचण्डले पाँच नम्वर प्रदेशको नाम लुम्बिनी हुनसक्ने बताए । उनले भने, ‘लुम्बिनी भन्दा सबैले आफ्नोपन महशुस गर्छन् । यो सबैको साझा पहिचान पनि हो । अब हामीले यसको पूर्वाधार विकासमा जोड गर्नुपर्दछ । समृद्ध लुम्बिनी बनाउन संकल्प गर्नुपर्छ ।’