‘होटलमा नाँच्दैमा गणतन्त्र उल्टिन्नँ’ : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र होटलमा नाँच्दैमा र विदेशमा गुहार माग्दैमा गणतन्त्र नउल्टिने बताएका छन् ।

बिहीबार लुम्बिनीमा सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने, ‘हामीले संविधानमा सनातनदेखि चल्दै आएको संस्कृति संरक्षणको कुरा गरेका छौं । धार्मिक स्वतन्त्रताको सम्मान गरिएको छ । राज्यले धर्मका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगरोस् भन्ने व्यवस्था गरिएको छ । हाम्रो संविधान मौलिक र सन्तुलित छ । त्यसैले कोही पनि शक्ति यो संविधान उल्टाउनेतिर सोच्न जरुरी छैन ।’

कार्यक्रममा प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक व्यवस्था र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बा हुन् । यी एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा ढल्दा अरु तीनवटा पनि बाँकी रहँदैनन् । गणतन्त्र ढाल्न कोहीकोही विदेशीसँग गुहार माग्दै हिँडेको, होटलमा नाँच्दै हिँडेको सुनेको छु । होटलमा नाँच्दैमा गणतन्त्र उल्टिन्नँ ।’

प्रचण्डले अहिलेको वामपन्थी सरकारबाहेक कसैले पनि राजनीतिक स्थिरता दिन नसक्ने बताए । उनले भने, ‘सरकारले धेरै गर्न सकेन होला । तर, यसको विकल्प अरु हुन सक्दैन । हिजोको जस्तै देशलाई द्धन्द्धमा फर्काउने कसैले सोचेको छ भने त्यो आत्मघाती सोचाइ हो । त्यतातिर सोचेर टाउको नदुखाउँदा हुन्छ ।’