चेम्वर र टोकियो युनिभर्सिटीबीच ९ बुंदे सम्झौता

japan and chembars
लाेकपाटी न्यूज

नेपाल चेम्वर अफ कमर्स र जापानस्थित टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड रिसर्च इन्स्टिच्युट बीच दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड रिसर्च इन्स्टिच्युटका तर्फबाट निर्देशक हिरोआकी वाकामात्सुले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा ९ बुंदा समावेश छन् । नेपाल र जापानबीच दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्वन्ध अभिबृद्धिका साथै कृषिको उत्पादकत्व वृद्धि गर्न प्रविधिको आदान प्रदानका साथै सूचनाको आदान प्रदान गर्ने, दुई देशका व्यापारिक प्रतिनिधि मण्डलहरुबीच पारस्परिक भ्रमण गर्ने लगायतका प्रावधान रहेका छन् ।

साथै दुवै देशको वैदेशिक व्यापार तथा लगानी अभिबृद्धिका सन्दर्भमा यस सम्वन्धी सान्दर्भिक सूचना तथा नीति नियमहरुको बिवरण आदान प्रदान गर्ने, व्यापार तथा प्रविधि मेलाहरुमा सहभागिता जनाउने लगायतका बुंदाहरु उल्लेख छन् । समझदारी पत्रले दुई देशबीचको कृषि, व्यापार अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उक्त अवसरमा युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर ताकाओ नितानीले नेपाल कृषिप्रधान मुलुक भएकाले नेपालको कृषि विकासका लागि जापान सहकार्य गर्न इच्छुक रहेको बताए । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस समझदारी पत्रले नेपाल जापानबीचको आर्थिक सम्वन्धमा नयाँ आयाम थपेको बताए ।

श्रेष्ठले टोकियो विश्वविद्यालयको कृषि अनुसन्धान संस्थास“ग भएको समझदारीले नेपालका लागि उपयोगी प्रविधि तथा ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर टाकाओ नितानी, जापानका लागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक व्यापार प्रतिनिधि बलराम श्रेष्ठ लगायत उपस्थित थिए ।