‘बिना नीति कर बढाउने काम रोक्छौं’ : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज

बुटवल, २० मङ्सिर । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना नीति र मापदण्ड मनपरि कर असुल्ने काम रोकिने बताएका छौं ।

बिहीबार लुम्बिनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मनपरि कर असुल्ने कुरा रोक्ने बताएका हुन् । महोत्सवमा उनले भने, ‘बिना मापदण्ड कर लगाएको जनताको गुनासो छ । करका लागि राज्यको एकीकृत नीति चाहिन्छ । हामी एकीकृत नीति बनाउँछौं । अहिलेको जस्तो अव्यवस्थित र मनपरि कर लगाउने काम रोक्छौं ।’

प्रचण्डले सरकारमाथि जनताले गर्ने आलोचना प्रेरणा भएको तर यसैमा नखेल्न आग्रह गरे । उनले भने, ‘खाल्डाखुल्डी परेको बाटो छ, धुलो उड्छ । कर पनि लिएका छन् । तर, यसको अर्थ यो सरकारको विकल्प अरु छैन । कसैले यसैमा खेलेर सरकार कमजोर बनाउने सोच्न भने त्यो पूरा हुँदैन ।’

उनले बृद्धाभत्ता बढाउन नसक्दा जनता निरास भएको बताए । प्रचण्डले भने, ‘चुनावमा हामीलाई जनताले आशिर्वाद दिए, मत दिए । तर, हामीले वाचाअनुसार बृद्धाभत्ता बढाउन सकेनौं । अर्को वर्ष ब्याजसहित बृद्धाभत्ता बढाउँछौं ।’