‘गलत प्रवृतिविरुद्ध लडौं, महासङ्घको भ्रममा नपरौं’

Pradipraj Onta
सम्पूर्ण सदस्य साथीहरुलाई महासंघको नाम, ठाउँ र प्रलोभनमा पार्ने हर्कतप्रति सचेत रहन पनि आह्वान गर्दछौं । आगामी दिनमा हामी फोटो पत्रकारहरु ‘फोटो पत्रकार’कै रुपमा प्रत्यक्ष फिल्डमा खट्ने र काम गर्नेप्रति यहाँहरुको विश्वास रहनेमा हामी ढुक्क छौं । गलत प्रवृत्तिले न महासंघको आधिकारिक घोषणा गर्न सक्छ, नै न आफूलाई फोटो पत्रकार सावित गर्न नै ।
लाेकपाटी न्यूज

– प्रदिपराज वन्त

नेपालीमा एउटा उखान छ, ‘जो अगुवा उही बाटो…’ भनेजस्तै कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जश आफूले लिने र अरु केही पनि होइनन्, म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागत रुपमा नै पराजित गरिदिएका छौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समूहको शाखा खोल्ने काम समूहका आर्थिक लगानीमा सम्पन्न गर्न हामीले धेरै ठूलो मेहेनत गरेका थियौं । जसका कारण हामीले राम्रै सफलता समेत पाएका थियौं । तर, कुनै पनि काम नगर्ने, संस्था मात्रै ओगटेर बस्ने प्रवृत्तिलाई हामीले पराजित गरेर नयाँ यात्रा तय गरेका छौं ।

विगतमा मेरै पालामा भएको र पछि संस्थाका तात्कालिन अध्यक्ष ध्रुव आलेले काठमाडौं केन्द्रिय कमिटिभन्दा बाहिरका सदस्य हरि रेग्मी र सागर श्रेष्ठलाई काँधमा बोकी विभिन्न जिल्लामा हस्ताक्षर संकलन गरेको र उक्त हस्ताक्षरपछि संस्थालाई फोटो पत्रकार महासंघ बनाउन आफूखुसी काठमाडौंमा रहेको समूहको केन्द्रीय कमिटिलाई जानकारी नगराई एकलौटी ढंगबाट गलत तरिकाले संस्था दर्ता गरेकाले काठमाडौं कमिटिको असहमतिका वावजुद काम गरियो ।

राष्ट्रिय फोटो पत्रकार समूहको नाममा राम्ररी क्यामेरासमेत चलाउन नजान्ने हरि रेग्मी प्रवृत्तिलाई हामीले विगतमा नै राम्रै सवक सिकाएकै थियौं । तर, पनि अध्यक्षको मनोमानीले गरिएको महासंघलाई वैधानिकता नमान्ने ढंगबाट समूहको बहुमतको संख्याले विशेष साधारण सभा माग गरी नयाँ कार्यसमिति चयन गरी तात्कालिन अध्यक्षले गरेको सम्पूर्ण कामकार्वाही बदर गरी समूहबाट निश्कासन गरिएको यहाँहरुलाई थाहा भइसकेपछि पनि संस्थाको सम्पूर्ण हरहिसाब र आधिकारिक प्रमाणपत्रहरु माग गर्दा ७ महिनासम्म अध्यक्षले मनोमानी गरे ।

सो प्रवृत्ति यस संस्थालाई समाप्त पार्ने उद्देश्यले लुकाएर राखेको कारण हामीले बारम्बार मौखिक रुपमा जानकारी गराई अटेरपछि काठमाडौं जिल्ला प्रशासनमा उजुरी निवेदन दिएपछि २ महिनासम्म पनि संस्थाको तर्फबाट आधिकारिक रुपमा सम्पूर्ण सदस्यहरुलाई उपस्थिति गराई हामीमाथि जिल्ला सदस्य प्रक्रियामा रहेका साथीहरुको बहुमतीय हस्ताक्षर वुझाएको भन्ने हल्लाका आधारमा महासंघ दर्ताको फाइल हेर्ने मनसायले जिप्रकामा निवेदन दिँदा संस्था दर्ताको सम्पूर्ण प्रमाणपत्रहरु त्यहाको कर्मचारीको मिलेमतोमा गायव बनाउनेजस्ता हर्कत देखा परेको थियो ।

संस्थालाई भजाएर खान मात्रै पल्किएका प्रवृत्ति मुद्धा लड्छु भन्नेजस्ता गतिविधि गरी साथै विभिन्न जिल्लाका फोटो पत्रकार सदस्यहरुलाई महासंघ ठूलो हो भन्दै ३ सदस्यीय टोली भ्रम सिर्जना गरी हालसम्म पनि हिडिरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहले गरेको राष्ट्रिय अवार्डको विषयमा मनोगत ढंगवाट आर्थिक घोटला भनि विभिन्न जिल्लाका साथीहरुलाई भ्रममा पार्ने काम महासंघका अध्यक्षको नेतृत्वमा स्वघोषित उपाध्यक्ष र महासचिवले अर्नगल प्रचारमा उत्रेर चरित्रहत्यासम्मको हर्कत गरेर अगाडि बढ्ने नियत देखिएको छ ।

उक्त कार्यक्रमको हरहिसाब, लेनदेनमा पनि संस्थाको चेक व्यक्तिको खल्तीमा राखेर संस्थालाई बदनाम पार्ने हिसाबले ३ महिनासम्म अध्यक्षको नेतृत्वमा मिडियामा विज्ञापन दिएको वापतका विलको चेक हस्तान्तरणमा अवरोधका गरेका थिए । भने मैले अवार्डको सम्पूर्ण हिसाब विशेष साधारण सभामा पेश गरिसकेको पनि जानकारी गराउँदछु । साथै २०७४ सालमा हरि रेग्मीको संयोजकत्वमा भृकुटीमण्डपमा भएको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्सपोको सम्पूर्ण हरहिसाब संस्थामा नबुझाइकन हरि रेग्मीले आफूलाई महासचिव भएको बताउँदै संस्थाको हिसाब मनोमानी ढंगले मौखिक रुपमा गरेका छन् भने संस्थालाई उक्त कार्यक्रमवापत उपलव्ध गराउनुपर्ने लाखौं रकम अहिलेसम्म समूहको खातामा कुनै उल्लेख गरिएको छैन ।

उनीहरुले कमलादीमा भएको संस्थाको कार्यालय हडपेर महासंघको बोर्ड राख्ने र सूहहको अफिस कब्जा गरेर केही समय बसेतापनि पछि अन्तत घरभेटीलाई कोठा भाडा तिर्न नसकेपछि ताला लगाएको थियो । पछि ३ महिनाको भाडा समूहको चेकमार्फत् तिरेर पनि संस्थाको समान उनीहरुले नै लगेको अवस्थामा केही महिनाअगाडि भृकुटीमण्डपमा हाल महासंघको भनिएको समूहको नाममा रहेका खाली ठाउँमा आफ्नो मनोमानीले तवरले ‘महासंघको हो’ भन्दै राष्ट्रिय फोटो पत्रकार समूहको नाममा लिएका थिए । उनीहरुले सोही ठाउँमा सबै समान राखेर पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको उजुरीपछि प्रशासनको सोधपुछपछि मेलमिलाप गराई संस्थाको सम्पूर्ण सामग्रीहरु बुझाउने र स्वतन्त्र ढंगबाट समूह आफ्नै नाम र काममा फर्कने गरी समझदारी भएपछि पनि विभिन्न बहानामा समूहको सामग्री हस्तान्तरणमा ढिलासुस्ती गरिएको थियो भने आजसम्म पनि हरि रेग्मीले समूहको आर्थिक हिसाब–किताब बुझाउन अटेर गरेका छन् ।

पछिल्लो समयमा विभिन्न जिल्ला शाखाका साथीहरुलाई ‘समूह महासंघको एउटा च्याप्टर हो’ भनी भ्रम सिर्जना गरेर हिडिरहेका छन् । संस्थाको सदस्य नवीकरण नगर्नु भनी अर्नगल प्रचारमा उत्रेको र साथीहरुलाई महासंघको पदीय प्रलोभनसमेत दिइएको सुन्नमा आएको छ । महासंघको नाममा फेरी पनि ठूला योजना र एक्स्पो आयोजना गरी आर्थिक स्वाद लिने प्रयासमा तल्लिन भएको हामी सहजै रुपमा बुझ्न सक्छौं । यस्तै भव्य प्रचार हुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति पाइने र हाम्रा शाखाहरु अमेरिका, जापाज, लण्डनमा बिस्तार हुने भन्दै प्रचार गराइएको छ । यो सर्वथा गलत र भ्रामक प्रचार रहेको छ ।

एक्स्पो आयोजना भएको एक वर्ष पुग्न लाग्दा पनि समूहको नाममा भएको हरहिसाब नबुझाई व्यक्तिगत चरित्रहत्यातर्फ उन्मुख हुने रेग्मी प्रवृत्तिविरुद्ध फेरि पनि हामी फोटो पत्रकारहरु एकजुट भई प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ । विगतको हिसाब नदेखाई मनलाग्दी गर्नेलाई साथीहरुले राम्रोसँग नै चिनेका छन् । उनीहरुको गलत धन्दा र कुचेष्टालाई हामीले राम्रैसँग प्रतिवाद गरेका छौं । तर, उनीहरुको गलत हर्कत भने जारी रहेको छ । मैले र यस समूहका सम्पूर्ण साथीहरुले निरन्तरको लडाइँपछि आज राष्ट्रिय फोटो पत्रकार समूह पहिलेको स्थानमा आफ्नो अस्तित्वमा रहन सफल भएको छ ।

साथै आगामी दिनमा हामी अझै सशक्त रुपमा अगाडि बढी समूहलाई महासंघको अवधारणाअन्तर्गत विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई समेटी उनीहरुको हकहितमा लाग्ने प्रण गर्दछौं । साथै विभिन्न जिल्लामा रहेका सम्पूर्ण सदस्य साथीहरुलाई महासंघको नाम, ठाउँ र प्रलोभनमा पार्ने हर्कतप्रति सचेत रहन पनि आह्वान गर्दछौं । आगामी दिनमा हामी फोटो पत्रकारहरु ‘फोटो पत्रकार’कै रुपमा प्रत्यक्ष फिल्डमा खट्ने र काम गर्नेप्रति यहाँहरुको विश्वास रहनेमा हामी ढुक्क छौं । गलत प्रवृत्तिले न महासंघको आधिकारिक घोषणा गर्न सक्छ, नै न आफूलाई फोटो पत्रकार सावित गर्न नै ।

हिजो ‘मैले फोटो पत्रकारिता गरेको र म सिनियर हुँ भन्दै तिमीहरुजस्ता सानाले केही गर्न सक्दैनौ’ भन्ने प्रचार र त्यसको विरुद्धमा उत्रेको पनि देखिँदै आएको छ । साथै विभिन्न बाहनामा राष्ट्रिय फोटो पत्रकार समूहलाई अहिले पनि आरोप प्रत्यारोप र भ्रामक सन्देश महासंघको विभिन्न वक्तव्यमा देख्न सकिन्छ । यस्ता प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्न जरुरी छ । काम नगर्ने केवल पद मात्रै खोज्ने प्रवृत्ति फोटो पत्रकारलाई सुहाउने विषय होइन । हामी काम गर्छौ, हाम्रो आफ्नो नाम छ, इज्ज्यत छ, प्रतिष्ठा पनि छ । क्यामेरा चलाएको जस्तो गर्ने, आन्तरिक कार्यक्रम र महोत्सवको कुनै बेला श्रव्यदृश्य खिचेको नाममा पद र प्रतिष्ठा ओगट्न खोज्ने रेग्मी प्रवृत्ति एकदिन पराजित भएर जानेछ । विगतको हिसाब किताब गोलमाल गर्ने, गलत काम गर्ने, आफूलाई वरिष्ठ दावी गर्ने प्रवृत्तिसमेत पराजित हुने नै छ ।

हामी सबै व्यवसायिक फोटो पत्रकारलाई एक ठाउँमा गोलबन्द गरेर उनीहरुको पेशागत सुरक्षा र हक हितका लागि आवाज उठाउँछौं, समस्या पर्दा पुच्छर लुकाएर भाग्ने छैनौं । तर, अहिले हामीलाई आधिकारिक नभएको, हाम्रो संस्थाको एउटा सामान्य शाखा भनेर जसरी गलत प्रवृत्तिले प्रचार गरेको छ त्यो सर्वथा गलत छ । हामीलाई थाहा छ हामीले विगतमा इतिहास कायम गर्यौं । तीसभन्दा बढी फोटो पत्रकारलाई सम्मान गर्यौं । उनीहरुको पेशागत हितका लागि काम गर्यौं । काम गरेकोजस्तो गरेर भाषण गर्दै हिड्ने, पद चाहिँदैन भन्दै विभिन्न पद ओगटेर बस्ने, पैसा मात्रै चाहिने रेग्मी प्रवृत्तिले यो बीचमा के कति समाचारमा फोटो खिच्यो, उनीहरुको अवस्था कहाँ छ ? मैनबत्ती बालेर खोज्दासमेत भेटिँदैन ।

हामीले न हिजो गलत काम गर्यौं, न आज, न त भोलि नै । हामी विधिमा विश्वास गर्छौं । हामी लुकेर वा झुक्याएर कोही कसैलाई पनि छुरा हान्दैनौं । हामी विचारमा विश्वास गर्छौं, हामी बहसमा विश्वास गर्छौं । हामी रचनात्मक काममा विश्वास गर्छौं । हामीलाई लुकाएर भ्रष्टाचार गर्नु छैन । हामीलाई नक्कली र फर्जी बिल बनाएर खानु पनि छैन । त्यसकारण गलत प्रचार नगर्दा नै उत्तम हुन्छ । यो कोही कसैप्रति पनि परिलक्षित छैन । मैले गलत प्रवृत्तिविरुद्ध बोल्ने साहस गरेको हुँ । कोही कसैप्रति व्यक्तिगत रुपमा लेनदेन पनि छैन । लिनु आवश्यक पनि छैन । गलत प्रवृत्तिको विरोध गर्दा ‘चोरको खुट्टा काटभन्दा चोरले खुट्टा ताने’ जसरी कोही कसैले प्रतिक्रिया दिन्छ भने मेरो भन्नु केही छैन ।