दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकका शेयर

Commercial Bank
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु. दुई सयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोबारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु. १५८ मा कारोबार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रु. १७०, जनता बैंकको रु. १७४, एनसिसी बैंक रु. १९९, नेपाल बङ्गलादेश बैंक रु. १८९, मेघा बैंक रु. १८६ मा कारोबार भएको छ ।

सिटिजन बैंकको रु. २२२, कुमारी बैंक रु. २४०, प्रभु बैंक रु. २४०, सनराइज बैंकको प्रतिकित्ता रु. २१६ मा कारोबार भएको छ । सिद्धार्थ बैंक रु. ३०५, एनएमबी बैंंक रु. ३५६, एनआइसी एशिया रु. ३५७, नेपाल एसबिआइ बैंक रु. ३९४, प्राइम कर्मसियल बैंक रु. ३१५ मा खरिद बिक्री भएको छ । माछापुच्छ्र्रे बैंक रु. २०४, कुमारी बैंक रु. २४० मा कारोबार भएको छ ।

कृषि विकास बैंक रु. ३२७, बैंक अफ काठमाडौं रु. ३०५ मा कारोबार भएका छन् । ग्लोबल आइएमइ बैंक रु. ३१४, हिमालयन बैंक रु. ४४७, सिद्धार्थ बैंकको शेयर रु. ३०५ मा कारोबार भएका छन् ।

यस्तै केही बैंकका शेयर मात्रै रु. ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंकको शेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोबार भएका आधारमा नवील बैंक रु. ८५०, नेपाल इन्भेस्टमेन्ट बैंक रु. ६१९, एभरेष्ट बैंक रु. ५२४, स्ट्याण्डर्ड चार्टड बैंकको शेयर रु. ५६५ मा कारोबार भएका छन् ।

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामासमेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् ।