नेपाल र चीनबीच भएका सम्झौता लागू गर्छौं : गृहमन्त्री

लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चीन विरोधी गतिविधि हुन नदिने बताएका छन् ।

नेपालका लागि चिनका राजदुत यु होङसँगको विदाई भेटमा उनले उक्त कुरा बताएका हुन् । आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदूत होङलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रित रहेको थियो । उनले होङको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । राजदूत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वास व्यक्त गरे ।

राजदूत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागिसक्दो पहल गरिरहने बताइन् । उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने बताइन् ।

भेटमा होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै खुशी व्यक्त गरिन् । राजदूत होङको कार्यकालमा वान बेल्ट वान रोड(ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चीनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा भेटमा छलफल भएको थियो ।