पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम हुने, को हुन् पाख्रिन ?

khushiram-pakhrin
लाेकपाटी न्यूज

काठमाडौं, २१ मङ्सिर । प्रगतिवादी संस्कृतिकर्मी खुसीराम पाख्रिनको स्मृतिमा आइतबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीनिकट जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड लगायतका नेताहरु उपस्थित हुनेछन् ।

कार्यक्रममा पाख्रिनका गीतहरुको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रम आइतबार मध्यान्ह १२.०० बजे सांस्कृतिक संस्थानको मेघाहल जमलमा हुने महासङ्घका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

महासङ्घले सांस्कृतिक कार्यक्रममा सहभागी भएर प्रगतिवादी स्रष्टा एवं गायक पाख्रिनको सम्मान गरिदिन सबैमा आग्रह पनि गरेको छ ।

को हुन् पाख्रिन ?

चितवनमा जन्मिएका खुसीराम पाख्रिन पञ्चायत कालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय सर्जक एवं गायक हुन् । वि.सं. २०३७ सालमा नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका पाख्रिन नेकपा मशाल, नेकपा (एकता केन्द्र), नेकपा (माओवादी) हुँदै पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा संगठित थिए ।

जनयुद्धको तयारीका बेला सांस्कृतिक आन्दोलनमार्फत् उनले लाखौं जनतालाई माओवादी आन्दोलनमा संगठित गर्न भूमिका खेले । जनयुद्ध कालमा पाख्रिनले जनताका गीत गाएर गाउँ–बस्ती ब्युझाएका थिए । ‘रातो घाम’ लगायतका उनका गीति एल्वमले अन्तर्राष्ट्रिय चर्चा पाएका थिए ।

अत्यन्तै सरल स्वाभाव, साधारण जीवनशैली रुचाउने पाख्रिन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार थिए । सांस्कृतिक आन्दोलनका धरोहर मानिने पाख्रिन पछिल्लो समय जनसांस्कृतिक महासङ्घको संरक्षकसमेत थिए ।

जनताका पक्षमा सिर्जना गर्ने र गीत गाउने पाख्रिन जनताकै पक्षमा गाउँदा गाउँदै ढले । वि.सं. २०७४ मङ्सिर ५ गते चितवनमा भएको प्रकाश दाहालको स्मृति सभामा हृदयघातका कारण उनको आकस्मिक निधन भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्