‘राजदूतको योग्यता के, कस्तो व्यक्ति छान्ने ?’

sansadiya sunuwae
लाेकपाटी न्यूज

काठमाडौँ, २१ मङ्सिर । पूर्व राजदूतहरुले आफनो देश र नियुक्त भई जाने मुलुकको विविधताबारे पर्याप्त जानकारी भएको तथा मुलुकको राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने व्यक्तिलाई मात्र राजदूत बनाउने परिपाटी बसाल्न सुझाव दिएका छन् ।

संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवामा लामो अनुभव रहेका पूर्व राजदूतहरुसँग गरेको छलफलमा उनीहरुले कूटनीतिक कौशल भएको, अङ्ग्रेजी भाषामा पोख्त र राष्ट्रिय हितमा प्रखर रुपमा काम गर्न सक्ने व्यक्तिलाई राजदूतमा नियुक्त गर्न सुझाव दिए ।

समितिले पूर्व राजदूत पुष्करमानसिंह राजभण्डारी, प्रल्हाद प्रसाईं, रामभक्त पिभी ठाकुर, रुद्र नेपाल र निरन्जनमानसिंह बस्न्यातसँग कस्ता व्यक्तिलाई मुलुकको प्रतिनिधिका रुपमा रहने राजदूत नियुक्त गर्न उपयुक्त होला तथा राजदूतबाट मुलुकको हितका खातिर के कस्ता काम हुन सक्दछ भनी परामर्श गरेको हो ।

समितिले आगामी आइतबार भारत, मलेसिया, इजरायल र संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्दैछ । आर्थिक कूटनीतिक माध्यमबाट देशको पर्यटन र जलस्रोत क्षेत्रको विकासका लागि राजदूतले वैदेशिक लगानी भित्र्याउन निकै ठूलो भूमिका खेल्न सक्ने बताउँदै पूर्व राजदूतहरुले निश्चित समय दिएर कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्ने परिपाटी विकास गर्न सुझाव दिए ।

खटिएर जाने मुलुक र नेपालबीचको सम्बन्धका आधारमा कूटनीतिक चातुर्यता प्रस्तुत गर्दै मुलुकको हितका पक्षमा काम गर्न आवश्यक रहेको बताउँदै उनीहरुले नयाँ प्रविधि र लगानी भित्र्याउन उच्चस्तरबाट प्रयास गर्न आवश्यक रहेको सल्लाह दिए ।

खाडीलगायतका मुलुकमा राजदूत भई जाने व्यक्तिले नेपाली श्रमिकले त्यहाँ भोग्नुपरेको पीडालाई तत्कालै सम्बोधन गर्ने जागरुकता देखाउन आवश्यक रहेको बताउँदै पूर्व राजदूतहरुले मुलुकको बजेटको ठूलो हिस्सा विप्रेषणबाट चलेको कुरालाई हेक्का राखेर काम गर्नुपर्ने बताए ।

समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक रुपमा आह्वान गरेको उजूरीमा समितिलाई सुझावसहित ध्यानाकर्षण गराउने उजूरीकर्तासँग पनि आजै छलफल गरेको थियो ।