‘बादशाहको नयाँ लुगा’ कथा पढ्नुस् : डा. बाबुराम भट्टराई

Baburam bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २१ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बादशाहको नयाँ लुगा कथा पढ्न भन्दै प्रधानमन्त्रीमाथि व्यङ्ग गरेका छन् ।47315395_329182731249102_5805916235019321344_n

शुक्रबार ट्वीटरमा ट्वीट गर्दै भट्टराईले त्यस्तो व्यङ्ग गरेका हुन् । ट्वीटमा भट्टराईले लेखेका छन्, ‘प्रम र वरपरकाले आफ्ना आलोचकलाई थला पारिदिने, जुँगाको स्याउँस्याउँ, एनजिओको ट्याउँट्याउँ आदि भन्नु शोभनीय मात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है । कि हिजो राजतन्त्रविरुद्ध लड्नु बेठीक भन्नुपर्यो, कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्यो । प्रमले पुनः नयाँ बादशाहको लुगा पढ्ने कि ?’

भट्टराईले ट्वीटमा प्रधानमन्त्री ओली बादशाह बन्न थालेको सङ्गीन आरोप पनि लगाएका छन् । डा. भट्टराईले वाम सरकारको कटु आलोचना पनि गर्दै आएका छन् । के हो बादशाहको नयाँ लुगा कथा ? यस्तो छ कथाको सारांश ।

नयाँ लुगा लगाउने सोख भएका एक जना बादशाह थिए । उनले लुगामा निकै पैसा खर्च गर्थे । राजकाज, जनताको सरोकारभन्दा पनि कसैले नलगाएको लुगा लगाएर अरुभन्दा फरक देखिनु उनको सोख थियो ।

बादशाहको सहरमा विभिन्न देशका मानिसहरू घुम्न आउँथे । एक दिन दुईजना ठग उक्त सहरमा आए । उनीहरूले आफूलाई कपडा बुन्ने ‘जुलाहा’ का रुपमा चिनाए । विशिष्ट गुण भएका कपडा आफूहरुले तयार पार्न सक्ने दावी गर्दै उनीहरुले बादशाहलाई प्रभावित पारे । कोही मानिस अयोग्य छ वा गद्दार छ भने त्यस्तो मान्छेले त्यो कपडा देख्न नसक्ने भन्दै ती ठगले बादशाहलाई कपडाको विशेषता सुनाए । बादशाहले विचार गरे, ‘यस्तो कपडा त मेरोलागि उपयुक्त हुन्छ, मेरो राज्यमा को–को गद्दार छन् भन्ने सबै पत्ता लगाउन सकिने रैछ भन्दै बादशाहले आफ्नो लागि त्यस्तो लुगा बनाउन उनीहरुलाई निर्देशन दिए ।

कपडा बनाउन भन्दै बादशाहले उनीहरूका लागि राज्यको ढुकुटी खुला गरिदिए । उनीहरूले कपडा बुन्ने दुर्इटा तान बनाए र निकै मेहनतका साथ काम गरिरहेको स्वाङ पारे । तर तानमा केही पनि थिएन । उनीहरुतानमा राती अबेलासम्म बसेर काम गरेको नाटक गर्थे, तर काम केही पनि गरिरहेका हुँदैनथे ।

एक दिन बादशाहले आफ्नो विश्वासपात्र एक मन्त्रीलाई कपडा बुनेको ठाउँमा हेर्न पठाए । मन्त्री त्यहाँ पुग्दा ती ठगहरु हात चलाएर कपडा बुनिरहेको नाटक गर्दैथिए । मन्त्रीले उनीहरुको हातमा न धागो देखिरहेका थिए, न कपडाको आकार नै थियो । अनि मन्त्रीले अगाडिको कुरा सम्झिए, ‘ओहो ! यिनीहरुले त भन्थे, गद्दारले कपडा देख्न सक्दैन भनेर । म गद्दार पो रहेछु ? उ डरायो । कपडा देखिनँ भनेर आफू गद्दार प्रमाणित हुनुभन्दा उसले कपडा देखेको नाटक गर्न थाल्यो ।

‘जुलाहा’सँग सामान्य कुरा गर्दै कपडाको प्रशंसा गरेर मन्त्री फर्कियो र बादशाहलाई कपडाको बारेमा झुटो खबर सुनायो । उसले आफूले कपडा नदेखेको भन्न सकेन । कपडा सारै राम्रो बनेको र बनाउने काम सकिन लागेको जानकारी गरायो । बादशाहको ढुकुटीबाट ती दुई ठगले सुनचाँदी देखि लिएर विभिन्न कच्चा पदार्थका लागि भन्दै ठूलो परिमाणमा रकम लगिसकेका थिए ।

केही दिनको अन्तरालमा बादशाहले दरबारका विभिन्न कर्मचारीलाई पालैपालो कपडा हेर्न पठाउँथे । कपडा नै देखिएन भन्दा आफू गद्दार पो ठहरिने हो कि, बादशाहले सजाय पो दिने हुन् कि भनेर सबैले त्यसैगरी ढाँटे । कपडा नदेखे पनि उनीहरुले ‘कपडा राम्रो छ, बुट्टा झन आकर्षक छ’ भन्दै प्रशंसा गरे ।

शहरका सबै जनाले अनौठो गुण भएको त्यो कपडाको बारेमा कुरा गर्न थाले । अन्त्यमा बादशाह आफैँले कपडा तानमा छँदै हेर्न जाने बिचार गरे । धेरै जना भारदारहरूलाई अघिपछि लगाएर बादशाह कपडा बनाइरहेको ठाउँमा पुगे । तानमा ती ठगहरू सकेसम्म मेहनत गरिरहेको देखिन्थ्यो ।

‘कस्तो राम्रो कपडा ! वाह !’ भन्दै सबैले प्रशंसा गरे । बादशाह छक्क परे । मैले कसरी कपडा देख्न सकिनँ भन्ने उनलाई लाग्यो । अनि उनले सम्झिए– ‘यो कपडा त अयोग्य र मुर्खले पो देख्दैन भन्थे, म नै अयोग्य र मुर्ख पो रैछु ?’

सबैको अगाडि उनले आफूलाई मुर्ख र अयोग्यका रुपमा चिनाउन चाहेनन् । अनि उनले पनि कपडा देखेको नाटक गर्दै जुलाहाहरुको प्रशंसा गर्दै भने, ‘कस्तो राम्रो कपडा बनाएछन्, आहा !’ बादशाहले नै तारिफ गरिसकेपछि त्यहाँ भेला भएका सबैले ताली बजाए । तर कसैले पनि मैले कपडा नै देखिनँ भनेर भन्ने हिम्मत गरेन ।

साइत जुराएर उक्त कपडा बादशाहले लगाउने भए । बादशाहलाई ठूलो ऐना अगाडि उभ्याएर ती जुलाहाले लुगा लगाइदिने भए । भएका लुगा फुकालेर नयाँ लुगा लगाइदिए । शोभायात्रा निस्कियो ।

सडकमा आवत–जावत गर्ने मानिसहरु पनि मूर्ख नठानियोस् भनेर बादशाहको नयाँ पोशाकको प्रशंसा गर्न लागे, मानौँ त्यो पोशाक उनीहरुले सँच्चै नै देखिरहेका छन् । तर त्यसैबेला एउटा बच्चाले अचानक बडो सरलतापूर्वक भनिदियो, ‘ओहो ! यो मान्छेको शरीरमा एउटा लुगा पनि छैन ।’

यो कुरो त्याहा रहेका अनेक मानिसहरुका कानमा पर्‍यो । एकएक गरी यो कुरा चारैतिर फैलियो । एउटा बच्च कसरी अयोग्य र गद्दार होला त ? साच्चै नै बादशाह नांगै पो रहेछन् क्यारे भनेर सबैले कानेखुसी गर्न थाले ।

बादशाहको मनमा पनि आफू ठगिएको आशंका पैदा भयो । तर, शोभायात्रा अचानक टुंग्याउन उनले उचित ठानेनन् । त्यसैले उनी झन् ठाँटसँग गजक्क परेर हिँड्न लागे र आफ्नो आशंका समाप्त गरेपछि मात्रै दरबारमा फर्किने निश्चय गरे ।