राम्री घमण्डी युवती (लोककथा)

beauty-female
लाेकपाटी न्यूज

एकादेशमा अचम्मै राम्री एउटी युवती थिइन्। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर, युवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन्। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले युवतीलाई दरबारमा नतर्कीको रुपमा जागिर दिए।

राजा साह्रै ज्ञानी र पराक्रमी थिए । तर, रुपमा भने ठगिएका थिए अर्थात् राम्रा थिएनन्। एक दिन राजालाई युवतीको परीक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरी साधारण कामदारको भेषमा युवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। युवतीले राजालाई चिन्नै सकिनन्, उनको घमण्डको पारो चढिहाल्यो र रिसाउदै भनिन्, ‘ए गधा ! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस् हँ ?, तँ त मेरो लोग्ने होइन, नोकर बस्नका लागि पनि योग्य छैनस् ।’

युवतीको घमण्डबारे पहिल्यै सुनिसकेका हुनाले राजा रिसाएनन्, बरु हाँस्दै जवाफ दिए । राजाले भने, ‘हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाइनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाइनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नतर्की। रुपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै–उस्तै हुन्। म त तिमीलाई यही कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न होइन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।’

राजाको तर्कले युवती भुतुक्कै भइन् । उनले राजासँग माफी मागिन् र आफ्नो बाटो लगिन् । त्यही दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छोडिन् ।