सम्बन्ध

Relation
लाेकपाटी न्यूज

-देविका तिमिल्सिना 

क्षत विक्षत कुरुप समाजलाई उसले आत्मसात गरेको ठ्याम्मै पैतीस वर्ष पुगेछ । यस अवधिमा ऊ अर्थात मेरो मित्र गोविनदले के गर्‍यो के गरेन ? र, मैले के के गरेँ ? प्रश्न गर्नै पर्दैन हामी सबै खुला छौं । म मेरो मुटु जस्तै प्रिय ठान्छु उसलाई । उसले जे सुकै गरोस् म हिसाब राख्दिनँ । उसको मसँगको मित्रता आज बीस वर्ष पुग्दैछ । अर्थात् उसको र मेरो आत्मीयताको यो बीस वर्षभित्र छत्तीस साल, बयालीस साल र छयालीय साल आयो गयो । हामीसँग रह्यौ । जुलुसमा हिड्यौं । नारामा स्वर मिलायौँ । राजनैतिक नाराका पर्चाबाजी गर्‍यौ । पोष्टरमा भावनाहरु अभिव्यक्त गरेर टास्यौं । पंचायती कुरुपतालाई खप्यौं । सत्तो सराप गर्‍यौं । पंचायती प्रहरीले हामीलाई खोज्थ्यो । हामी उनीहरुलाई सदैब छक्याई रह्यौं। र, जीवन्त रहने प्रण गर्दै जीवन भोग्दै आयौ ।

बयालीस साल आयो र गयो । केही मानिसले सत्याग्रह गरे । मैले र गोविन्दले पेटीमा बसेर हेर्‍यौं । मानिसहरु समातिए र जेल चलान गरिए । कतै बमको आवाज आयो । कतै एकाध मानिस मारिए । सत्याग्रह फिर्ता भयो । एउटा आतङ्क भोग्यौं । र, केही उत्सर्ग गर्ने प्रण गर्दै जीवन अगाडी बढाउँदै आयौँ ।

छयालीस साल आयो । हामी आन्दोलनमा होमियौं, सडकमा ढुंगा हान्यौं । जुलुस नारामा सामेल भयौं । हामी दुवै समातियौं । झण्डै पन्ध्रबीस दिन थुनियौं । बहुदल घोषणा नभएको भए ? संभवत: हामी जेलमै रहने थियौं । हाम्रो संघर्षको अन्तिम लक्ष्य यही मात्र त थिएन । तत्कालीन अवस्थामा भने यो महान् फड्को थियो ।

हामी मुर्दा हुन चाहन्नथ्यौं । त्यसैले मैले बिहे गरें । गोविन्दे मबाट अलि टाढा भयो । तर, उसले बिहे गरेन । गोविन्दले दाह्री पाल्यो । मैले जुँघा समेत खौरेर हिँड्न थालें । मैले जागिर खाएँ । उसले केही गरेन । ऊ दिउँस–दिउँसभर पशुपतिको जङ्गगलमा बसेर केही पढिरहन्थ्यो, गुनगुनाउँथ्यो र लेख्दथ्यो । म कार्यालयको आरामी कुर्सीमा बसेर विकासको योजना बनाउँथेँ । हाम्रो भेट केही पातलो हुँदै जाँदा पनि कम्तिमा एक दिन बिराएर सँगै हुन्थ्यौं । गोविन्दे गम्भीर हुँदै गएको पाएँ । अझ गम्भीर भनौं अनन्त गहिराइको सागर जस्तो । म त्यसमा ढुंगा फेके झैँ गरी वातावरण हलुको बनाउन भनिदिन्थें –गोविन्दे व्याह गर्ने हैन ? त्यसपछि ऊ खूब रिसाउँथ्यो र मलाई गाली गर्‍थ्यो । उसको त्यो भँगिमा मेरो लागि अत्यन्त मजाको क्षण हुन्थ्यो । अपितु हाम्रो मित्रतामा दाग कतै थिएन ।

उसले एकाबिहानै मेरो घरको ढोका ढक्ढक्यायो । मैले बिहे गरेपछि आउने खबरै नगरी ऊ पहिलो पटक आएको थियो । मेरी पत्नी कोठामै थिइन् । उसले भित्र पस्न असजिलो मान्दै भन्यो –आनन्दे एकछिन बाहिर आइज त । आइज न तँ भित्र । चिया एक कप खाएर निस्कौंला । बसन्ती जाउ त चिया बनाऊ–मैले पत्नीलाई कोठा छोड्न भने झैँ गरी भनें । ऊ पनि सरक्क कोठाको करुवा बोकेर बाहिर निस्की ।

म त तँसित गम्भीर छलफल गर्न आएको– उसले एक हातले नङ टोक्दै भुइँतिर हेरेर भन्यो ।

मैले थकानको अनुभव गरिरहेको थिएँ । बिहेको लेठो सिद्धिएको थिएन । घरको काम असरल्लै थिए । त्यसैले मैले लामो हाई काढेर जीउ मर्काएँ र आँखाबाट बिना बित्थै झरेका आँशुलाई पुछें । गोविन्दे अझै घोप्टे मुख लगाएरै बसिरहेको थियो ।

–अँ गोविन्दे गाँठी कुरा के हो ?

–मलाई यो सहरमा बस्न मन लागेन ।

–किन ?

– यहाँ खोइ के भनौं ? मन त्यसै विरक्तिन्छ ।

– कारण के हो भन् न त ?

– अकारण नै हो । खोइ के कारण भन्ने ?

–घरमा केही ठाकठुक भयो कि ?

–होइन ! को छ र मसँग ठाकठुक गर्ने ?

–अनि के भयो त ?

–परिवशे नै ठीक छैन ।

–कस्तो परिवेश ?

– बाँच्ने परिवेश, सोच्ने परिवेश र निरन्तर जीवनलाई उन्नतितर्फ लाने परिवेश ।

–मैले के सहयोग गरौं त ?

–म पोखरा जान्छु । मलाई अलिकति पैसा दे न ।

– हुन्छ, तर अलिकति भनेको कति ?

– कम्तिमा पन्ध्र दिन बस्नेको लागि ।

मैले दराजबाट नोट झिकेर उसको हातमा दुई हजार थमाएँ । उसले पैसा लिँदै गर्दा बसन्तीले चिया लिएर आई । उसले केही असजिलो महशुश गर्‍यो । हातको पैसा लुकाउन खोजेको जस्तो, अप्ठेरो मानेको जस्तो, कस्तो कस्तो असहज देखिन्थ्यो ऊ । त्यसपछि बुझेर मैले भनें– ‘गोविन्द कतै तँ चाहिँदो भन्दा बढी भावुक त भइनस् ?’

उसले बिस्तारै टाउको उठाएर मतिर हेर्‍यो । उसका आँखामा असन्तोष र विद्रोहका छनक एकैचोटी देखा परे । ऊ उठ्न उठ्न खोजे झैं गर्‍यो । बसन्ती चिया टेबुलमा राखेर बाहिर गइसकेकी थिई ।

– गोविन्द चिया खा न त ।

– अँ ! चिया त खाने ।

उसले एकनाससँग चिया सुरुप–सुरुप गरेको आवाज आइरह्यो । सम्भवत: ऊ धेरै बोल्ने मूडमा थिएन । उसको हृदय भित्र हलचल भइरहेको थियो । तर, कस्तो हलचल होला ? मैले अनुभूत गर्न नपाएकाले उसलाई ट्वाल्ल हेरिरहनुबाहेक मसँग विकल्प थिएन । गोविन्दले चिया सकेपछि जुरुक्क उठेर जीउ तन्कायो र बिस्फारित आँखाले मलाई हेर्दै भन्यो– अब हाम्रा मान्छे भाँडिने भए । मानौँ उनीहरुको अन्तिम लक्ष्य यही हो । लक्ष्य प्राप्ति भएकाले कथित विकासको नारा दिइँदैछ । विकासको अर्थ आनन्दे । अब हाम्रा नेताहरु आर्थिक भ्रष्टाचार, कार, बङ्गला र सुख सुविधामा डुब्दै छन् । म यो परिवेश भोग्न चाहन्नँ । यसलाई चिर्ने राजनैतिक कार्यक्रम र आधार खोई ? मलाई यसले पिरोलेको छ ।

गोविन्द एकछिन् बस् न त – मैले आग्रह गरें तर ऊ उठिसकेको थियो । उठिसकेको मान्छे त्यो पनि गोविन्दे जस्तो, किन बस्थ्यो र उसले त विस्तारै खुट्टा चाल्दै भन्यो– हिंडे अब मेरो एउटा अभियान हुनेछ । त्यो अभियान भनेको श्रमजीवी जनताको अभियान हुनेछ ।

मलाई उसँग अलिकति बहस बढाउन मन लाग्यो । मैले थपें –हाम्रो आदर्श भनेको श्रमजीवी जनताको दिन फिराउने होइन र ? हामी त्यसै भनेर लडेका होइनौं ? हामी उनीहरुलाई नेतृत्व तहमा पुर्‍याउँछौं, होइन त ?

हेर आनन्दे ! तैले भने झैँ यो आदर्श मात्र भएको छ । आदर्श एउटा हुन सक्छ तर यथार्थ कार्यनीति अर्कै हुन्छ । अहिले यस्तै भइरहेको छ । म यो सच्याउन चाहन्छु । यो सच्याउनु भनेको हाम्रै साथीहरु माझ आत्मजागरण बढाउनु हो । त्यो आत्मजागरण बाहिरबाट थोपरेर ल्याएको पालिसको रङको हुने छैन । त्यो आत्मजागरण मुटुको रगत जस्तै हुनेछ ।

त्यसपछि जुत्ता लगाउन खुरुखुरु बाहिर निस्क्यो । ऊ टाढा पुगुन्जेल मैले हेरिरहेँ । उसले फर्केर पनि हेरेन । म उसको बारेमा केही बेर सोचिरहेँ । साँच्चै ऊ असल मान्छे लाग्छ मलाई । म ऊप्रति फेरि स्नेह सङ्गाल्छु ।

झण्डै तीन महिना पछि गोविन्दबारे सुनें । ऊ कार्यकर्ता माझ राष्ट्रप्रेमको कुरा गर्छ रे । भारतीय विस्तारवादको विरोध गर्छ रे । बहुदलपछि पार्टीहरुमा आएको विकृतिबारे लेख्छ रे । यस कुराले मलाई उसप्रतिको मोह झन् प्रगाढ भएको अनुभूत भयो । मैले उसँग भेट गर्न खोजें । तर, ऊ भने मेम कार्यक्रम अर्थात मेची महाकाली जागरण कार्यक्रम सञ्चालन गरेर हिँडिरहेको थियो । ऊसँग टाढा रहुन मेरो लागि असहज थियो । मैले हाम्रा साथीहरुसँग कुरा राखें – मैले गोविन्दसँग भेट गर्न सकिनँ ?

साथीहरुले अलिकति आँखीभौँ तन्काएर मलाई हेर्नुभयो । हरिले त मुखै फोडेर भन्यो– के हो तँ पनि भाँडिन लागेको त होइन ? मैले भने– गोविन्दलाई भेट्नु भाँडिनु हो ?

हो त ! उसले थप्यो । गोविन्दे हामीलाई विभाजित गर्दै छ । नारा आकर्षक छ तर सबै खेलको पछाडि जनविरोधीहरु छन् । जनविरोधीहरुको एउटा क्रान्तिकारी डमी हो गोविन्दे ।

हँ ! ? –मैले पत्याउन गाह्रो मानेर सोधेँ । मैले आन्दोलनहरुको सिरिज सम्झेँ । गोविन्देको क्रान्तिकारी सोच सम्झेँ । ऊ कसरी डमी हुनसक्छ ? नभन्दै त्यसको भोलिपल्टै गोविन्देसँग हाँ मा हाँ मिलाउने सांसदहरुले संसदीय दल फुटाएर क्रान्तिकारी भाषण गर्न थाले । गोविन्द उनीहरुको प्रवक्ता भयो । मैले छाँगाबाट झरेको अनुभूति गरें । उसले घर भत्कायो । हाम्रो एकता ध्वस्त बनायो । हामीलाई विचल्लीमा पुर्‍यायो । उसको क्रान्तिकारी हाउभाउ सबै नक्कली भएको प्रमाणित भयो । उसको आत्मजागरणको अभियान एउटा धोका रहेछ । ऊ आफैं धोकामा परेको हुन पनि सक्छ । साँच्चीकै असल विचार राख्दाराख्दै खराबहरुको मण्डलीमा फसेको पनि हुन सक्छ ।

अहिले त समय धेरै बितिसक्यो । रुखका ठुटाहरु पलाएर झाँगिइसके । बादल अझै आकाशमा मडारिइरहेको छ । अहिले गोविन्देसँग भेट्ने मेरो मोह छैन । अब गोविन्दे र मेरो बीचमा एउटा पर्दा लागेको छ । हामी एक अर्कालाई चियाउन मात्र सक्छौं । दिल खोलेर छलफल गर्ने दिन पछाडि नै छुटेको छ ।