जागिर खाँदै हुनुहुन्छ ? अन्तर्वार्तामा यसो गर्नुहोस् (१० टिप्स्)

job-interview
लाेकपाटी न्यूज

तपाई जागिर खोजिरहनुभएको छ ? नयाँ जागिरको लागि आवेदन दिनुभएको ठाउँबाट अन्तर्वार्ताको लागि फोन आयो ? मेल आयो ? अन्तर्वार्ता लिने व्यक्तिलाई कसरी प्रभावित पार्ने भनेर चिन्तित हुनुहुन्छ ? अब पिर नमान्नुहोस्, हामी दिन्छौं तपाईलाई केही यस्ता टिप्स जसले अन्तर्वार्ता अझ सफल र सशक्त हुन्छ।

आउनुहोस् जानौं कसरी म्यानेजरलाई आफू उक्त पदको लागि उपयुक्त छु भनेर बोध गराउने ? कम्पनी अथवा अफिसको बारेमा कसरी थाहा पाउने ?, कसरी अन्तर्वार्ताका लागि तयारी गर्ने ?, अन्तर्वार्तामा जाँदा कस्तो कपडा लगाउने ? कसरी प्रस्तुत हुने ? अन्तर्वार्तापछाडी कसरी उक्त कार्यालयमा फलो–अप गर्ने ? भन्ने बारेमा केही जानकारी लिनुहोस्:

जागिरको विश्लेषण गर्नुहोस्

सबैभन्दा महत्वपूर्ण कुरा त जागिर तपाईको योग्यता अनुसार ठिक छ कि छैन त्यो बुझ्नुस् । जागिर पाइसकेपछि तपाईले त्यहाँ गर्नु पर्ने कामको बारेमा थाहा पाउनुहोस् । तपाईबाट कम्पनीले कत्तिको आशा राख्छ वा तपाईबाट के चाहन्छ ?, त्यो पनि महत्वपूर्ण हुने गर्छ । त्यसैले यसलाई पनि राम्रोसँग विश्लेषण गर्नुहोस् । तपाईको कला, दिमाग, पेसागत दक्षता र व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ कि छैन त्यो पन थाहा पाउनुहोस् । कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सुची बनाउनुहोस् ।

आफ्नो गुण र कम्पनीको मागलाई मिलाउनुहोस्

जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सुची बनाइन्छ , तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता तुलना गर्नुहोस् । तपाईको कला, शैक्षिक योग्यता, अनुभव, पेशागत योग्यता, दक्षता, तपाईको क्षमता र कम्प्युटर स्किल जस्ता कम्तिमा १० ओटा कुराहरुको सुची बनाउनुहोस्, जुन अन्तरवार्ताकारसँग शेयर गर्न काम लागोस् । तपाईको सूचि र जागिरको रिक्वायरमेन्ट मिल्छ कि मिल्दैन पुनः रुजु गर्नुहोस् । यति भएपछि तपाई अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफको लागि तयार हुनुहोस।

कम्पनीको बारेमा जानकारी लिनुहोस् 

कुनै पनि संस्थामा जागिर सुरु गर्नुअघि त्यस संस्थाको बारेमा जानकारी राख्नु जरुरी हुन्छ । त्यसैले तपाई कुनै संस्थामा अन्तर्वार्ताको लागि जाँदै हुनुहुन्छ भने त्यस संस्थाको बारेमा राम्रोसँग जानकारी लिनु पर्दछ । यसले तपाईलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरको लागि निर्णय गर्न पनि सजिलो बनाउँछ । कम्पनीको बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण र सकेसम्म त्यहाँका तपाईका हुनेवाला सहकर्मीहरुको बारेमा थोरै भए पनि जानकारी लिनुहोस्।

अन्तर्वार्ताको लागि प्राक्टिस गर्नुहोस्

तपाईलाई सोध्न सकिने केही थान प्रश्नहरुको सूचि बनाउनुहोस् । जसका लागि केही जानकार व्यक्तिहरुको सहयोग लिनुहोस् अथवा इन्टरनेटको सहयोग पनि लिनुहोस् । यसले तपाईलाई अन्तर्वार्तालाई सहज बनाउन थप मद्दत गर्छ । प्राक्टिसको लागि आफ्नो घरका सदस्यहरु मध्ये एक जना वा साथीहरुमध्ये एकजनासँग अन्तर्वार्ताको प्राक्टिस गर्नुहोस् ।

अन्तर्वार्तामा जाँदा लगाउने कपडाहरु तयार गर्नुस्

कुनै पनि काम हतारमा नगर्नुहोस् । अन्तर्वार्तामा जानुभन्दा अगाडी नै लगाउने कपडा तयार गर्नुहोस् । अन्तर्वार्तामा जाँदा फर्मल ड्रेसमा नै जानु उचित हुन्छ । यसले तपाईको व्यक्तित्वलाई बुझाउँछ । यसले तपाईलाई अफिसियल बन्न पनि सहयोग गर्छ । त्यसैले फर्मल ड्रेसलाई आइरन गरेर राख्नुहोस ताकी तुरुन्तै लागेर हिँड्न सकियोस् । तपाई भुलेर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन नजानुहोला । जसले तपाईमाथि गलत इम्प्रेशन पार्न सक्छ ।

स्थान र समयको बारेमा स्पष्ट हुनुहोस् 

तपाई अन्तर्वार्ताको लागि कहाँ जाँदै हुनुहुन्छ ? त्यहाँ जाने बाटो कताबाट कता हो ?, कुन समयमा पुग्नुपर्ने हो ? सबै कुराको जानकारी लिनुहोस् कार्यालयमा गएर कसलाई भेट्ने भन्ने कुरा पनि स्पष्ट हुनुहोस् ।

अन्तर्वार्ताको समयमा के-के लाने? के-के नलाने?

सामान्यत: अन्तर्वार्ताको समयमा केही कुराहरु छुटाउनै हुँदैन। तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपी र तपाईका अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण मानिन्छ । यी बाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत तालिमका प्रमाणपत्रहरु पनि सँगै लैजाँदा राम्रो हुन्छ । भुलेर पनि अन्तर्वार्ताको समयमा तपाईले चुइगम, सुपारी, गुट्काजस्ता चिजहरु चपाउनु हुँदैन । मोबाइल साइलेन्टमा राख्नुहोला ।

अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?

अन्तर्वार्ता दिने कोठामा छिर्नुअगाडी के म भित्र छिर्न सक्छु भनेर सोध्नुहोस् । अन्तर्वार्ता लिने मानिसको अगाडी पर्ने वित्तिकै हतोत्साहित नहुनुहोस् । नडराउनुहोस् । नहडबडाउनुहोस् । अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमित भएर राम्रोसँग स्पष्ट आवाजमा दिनुहोस् । सकेसम्म यो पदको लागि आफू उचित हुने कारणहरु जोडेरमात्र उत्तर दिनुहोस् । जवाफलाई छोटो र मीठो तरिकाले दिनुहोस् ।

सुन्नुहोस् र सोध्नुहोस् 

अन्तर्वार्ता लिने व्यक्तिले तपाईलाई भनेको कुराहरुलाई ध्यान दिएर सुन्नुहोस् । कुनै कुरामा कन्फ्युज हुनुभएमा सोध्न नहिच्किचानुहोस तर बनावटी र अनावश्यक कुरा नगर्नुहोस्।

फलो अप गर्नुहोस् 

हुन त सबै ठाउँमा यो सम्भव नहुन वा प्रयोगमा नरहन पनि सक्छ। तर, अन्तर्वार्ता दिएको केही समय (निश्चित समय जुन अन्तर्वार्ता लिने व्यक्तिले दिन्छन्)मा पनि कुनै जवाफ नआएमा फलो अप गर्नुहोस् । मेल गर्नुहोस् वा फोन गर्नुहोस् । जसमा आफू यो जागिरको लागि किन योग्य छु ? भन्ने कुरालाई फेरी पनि एकपटक प्रकाश पार्नुहोस् । र, अन्त्यमा सहयोग र रेस्पोन्सको लागि धन्यवाद दिन नभुल्नुहोला ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्