बिरामी नेतासँग ओली-प्रचण्ड : किन सन्किए चार नेता ?

Nepal Communist party
लाेकपाटी न्यूज

काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक चार नेताले बहिस्कार गरेका छन् ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तोकिएको समयमा बैठक सुरु नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेता बैठक बहिस्कार गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसांसद तथा उदयपुरका क्यान्सरपीडित नेता मणि खम्बुसँग छलफल गर्दा केहीसमय ढिला भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आफूहरुलाई अध्यक्षद्वयले अपमान गरेको भन्दै बालुवाटारबाट बाहिरिएका छन् ।

उदयपुरका पूर्वसभासद खुम्बु क्यान्सर रोगबाट पीडित छन् । उनको स्वास्थ्य अवस्था निकै जटिल रहेकोले खुम्बुसँग दुवै अध्यक्षले बसेर छलफल गरिरहेका बेला चार नेता बाहिरिएका हुन् । उनीहरुले क्यान्सरको अन्तिम स्टेजमा रहेका नेता खुम्बुसँग अध्यक्ष ओली र प्रचण्डले कुराकानी गरिरहेको जानकारी पाएका थिएनन् ।

आज ३ बजे बस्ने गरी बोलाइएको सचिवालय बैठकमा नआएर अध्यक्षद्वय मात्रै कुराकानी गरेर बसेको र आफूहरुको अपमान भएको भन्दै नेताहरु बाहिरिएका थिए । उनीहरु बाहिरने क्रम र सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल बालुवाटार प्रवेश गर्ने समय एउटै परेको थियो ।

नेता खुम्बुको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि ओली र प्रचण्डले बैठक कक्ष भन्दा माथिल्लो कक्षमा उनीसँग कुराकानी गर्दा केही समय ढिलाइ भएको र सोही आधारमा चार नेता बाहिरिएको प्रचण्डका एक सहयोगीले जानकारी दिए ।

‘उहाँहरु एकाएक बाहिरिनु भयो, स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको पूर्वसांसद जस्तो व्यक्तिसँग छलफल भइरहेको कुरालाई समेत बुझ्नु भएन,’ ती सहयोगीले भने । उनका अनुसार आफ्नो अवस्थाबारे जानकारी गराउन खुम्बुले समय मागेपछि दुवै अध्यक्ष एकसाथ बसेर छलफल गर्दा बैठकका लागि तोकिएको समय भन्दा केही ढिलाइ भएको थियो ।

आजको सचिवालय बैठकबाट पार्टी एकताको बाँकी रहेका जिल्ला र जनसंगठनको विषयमा निर्णय लिने कार्यसूची रहेको थियो । चार नेता बाहिरिएपछि आजको बैठक नै प्रभावित भएको छ ।