चार नेताको बहिस्कार : योजनावद्द कि आकस्मिक ?

Nepal communist party meeting
लाेकपाटी न्यूज

काठमाडौं, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका चार नेताले सचिवालय बैठक बहिस्कार गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ । समयमै बैठक प्रारम्भ भएको भन्दै नेकपाका चार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।

बैठक आव्हान गरिएको समयमा अध्यक्षद्धय ओली र दाहाल प्रधानमन्त्री निवास बालुवाटारमै क्यान्सरबाट ग्रसित तत्कालिन माओवादी केन्द्रकी पूर्व सभासद् तथा नेकपाकी नेतृ मणि खम्बुसँग छलफल गरिरहेका थिए । बैठक बहिस्कार गरेपछि नेतृत्वबाट कुनै प्रतिक्रिया नआएको नेताहरुले बताएका छन्।

यता महासचिव विष्णु पौडेल सचिवालय बैठकका प्रस्ताव प्रिन्ट गर्न निस्किएका थिए । अध्यक्षद्वय ओली र प्रचण्डले बिरामी सांसदका कुरा सुन्नैपर्ने भएकाले केही बेरमा अबेर गरेका थिए । ‘पूर्वसांसद खम्बुका कुरा सुन्दा केही ढिला भएको हो । अरु नेताहरु पनि आउँदै हुनुहुन्थ्यो’ स्रोतले भन्यो ।

बैठकका लागि गृहमन्त्री रामबहादुर थापा ‘वादल’, रक्षामन्त्री ईश्वर पौडेल बालुवाटार आउँदै थिए । अध्यक्षद्वय सबै नेता जुटेपछि बैठक सुरु गर्ने सोचमा थिए । निर्धारित समयभन्दा १५ मिनेट ढिलो हुनु राजनीतिक बैठकहरुमा सामान्य मानिन्छ । यस्तो बेला चार नेताले गरेको बहिस्कारलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजको बैठकमा जिल्ला अध्यक्ष र सचिवहरुको टुंगो लगाउने कार्यसूचि थियो । यसअघि केन्द्रीय समिति र प्रदेश समितिमा आफ्ना मान्छे कम परेको भन्दै नेकपाका नेता माधव नेपालले असन्तुष्टि जनाउँदै आएका थिए । नेता झलनाथ खनाल आफूलाई तेस्रो बरियतामा राखिएकोमा रोष प्रकट गर्दै आएका छन् ।

आजको बहिस्कार जिल्ला अध्यक्ष र सचिवको बार्गेनिङका लागि योजनावद्ध रुपमा गरिएको स्रोत बताउँछ । ‘१५ मिनेटका लागि गलफत्ती गर्न जरुरी नै थिएन, उहाँहरु पूर्वयोजना अनुसार नै बैठक बहिस्कार गरेको हुनुपर्छ’ एक नेताले भने । उनका अनुसार नेकपाका नेताहरुले जिल्ला नेतृत्वमा आफ्ना मान्छे हुनुपर्ने भन्दै ओली र प्रचण्डलाई दवाव दिँदै आएका छन् ।

नेकपाभित्र ओली र प्रचण्डको निर्णय नै अन्तिम हुने भएपछि नेताहरुले संगठित बार्गेनिङ गरेका हुन् । तर, ओली र प्रचण्ड मापदण्ड बनाएर मात्र नेतृत्व टुंगाउने तयारीमा छन् । बिना मापदण्ड भागबण्डा गर्दा भविष्यमा पार्टी कमजोर हुने अध्यक्षद्वयको तर्क छ । यसअघि नेकपाका नेताहरुले छिटो बैठक आब्हान गर्नका लागि दवाव दिँदै आएका थिए ।

बहिस्कारपछि आजको बैठक स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटीको बैठक मंसिर २९ गते बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटिको बैठक २९ गते शनिवार बोलाएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेलाई बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए । पार्टीभित्र बैठक बोलाउनुपर्ने माग हुँदै आइरहेका बेला स्थायी कमिटिको बैठक बोलाइएको हो । ४५ सदस्यीय स्थायी कमिटिमा अहिलेसम्म सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गराइने भएको छ ।

सचिवालय बैठकले प्रदेश कमिटिलाई पूर्णता दिएको थियो । यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजन, भातृ संगठनको एकता लगायतका विषय भने अझै टुंगो लाग्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

सचिवालय बैठक बहिष्कारपछि महासचिव पौडेलले के भने ? (भिडियो)

बिरामी नेतासँग ओली-प्रचण्ड : किन सन्किए चार नेता ?