‘लागू औषध दुर्व्यसनी विश्वव्यापी चुनौति’

m_IMG_20181208_125807
लाेकपाटी न्यूज

बाँके,२२ मङ्सिर । युवा वर्गलाई लागू औषध दुव्र्यसनी सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बढदो लागू पदार्थ सेवन र लागू औषध तस्करीबाट हुने पारिवारिक तथा सामाजिक क्षतिको जानकारी गराउने उद्देश्यले मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरिपप) को आयोजना र खजुरा गाँउपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले लागू औषध तस्कर खतरनाक भएको बताए ।

उनले लागू औषध तस्करले समाजको हत्या गर्ने भएकोले जुनसुकै हालतमा पनि यसको नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता औल्याए । अध्यक्ष कक्षपतिले लागू औषध नियन्त्रण गर्नका लागि गाँउपालिकले सामाजिक संस्थाहरु संग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले खुल्ला सीमानाको फाइदा उठाउँदै लागू औषध तस्करहरुले यस क्षेत्रका युवाहरुलाई बिभिन्न प्रकारको कुलतमा फसाएको बताउँदै लागू औषधमुक्त खजुरा गाउँपालिका बनाउन प्रहरीले नागरिकहरुसँग हातेमालो गर्ने बताए । उनले अब स्थानीय स्तरमा देखा परेका समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय धाउनु नपर्ने बताए ।

हुरिपपका अध्यक्ष एवं थर्ड एलायन्सका प्रमुख आलम खानले सबैलाई स्वागत गर्दै युवा पुस्ता लागू औषधको दुरुपयोग रोक्न कार्यक्रम गरिएको बताए । स्थानीय निकायले प्रदान गरी रहेको सेवाको प्रभावकारिताको निरन्तर अनुगमन गर्ने खानले बताए ।

हुरिपपका उपाध्यक्ष शक्ति कुमार बंशकारले लागू औषध तस्करीको अवस्था नेपालमा अहिले भयावह रुपले बढेकाले तस्करी रोक्न प्रहरी मात्र नभएर जनता पनि सक्रिय हुनुपर्ने बताए । बंशकारले लागू औषधको सेवन नभई दुव्र्यसन, अवैध उत्पादन र तस्करीले आर्जित अकूत धनराशीको गलत कार्यमा दुरुपयोग भएको र विश्वव्यापी चुनौति ल्याएको बताए ।