‘मुसाले भत्काएको नहरको म क्षतिपूर्ति तिर्दिनँ’ : विक्रम पाण्डे

Bikram pande
लाेकपाटी न्यूज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई योजनाका ठेकेदार विक्रम पाण्डेले आयोजनाको नहर मुसाले भत्काएको र आफूले क्षतिपूर्ति नतिर्ने बताएका छन् ।

आइतबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै पाण्डेले भने, ‘सिक्टाको नहरको डिजाइन कमजोर बनाएको होइन, जम्मा सात मिटर भत्किएको हो । त्यो पनि मुसाले भत्काएको हो । मुसाले भत्काएको नहरको मैले क्षतिपूर्ति तिनुपर्ने ? मैले तिर्दिनँ ।’

पाण्डेले भने, ‘कालिका कन्ट्रक्सनले सधैं गुणस्तरीय निर्माण गर्दै आएको छ, यो चितवनका जनतालाई पनि थाहा छ । हामीले कमसल निर्माण गरेका छैनौं ।’ उनले मुसाले प्वाल पारेको नहर भत्काएर आफूसँग क्षतिपूर्ति माग्ने अख्तियारको निर्णय दुरासयपूर्ण भएको बताए ।

कालिका कन्ट्रक्सनका अध्यक्ष पाण्डे राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष र पूर्वमन्त्री पनि हुन् । पाण्डेले भने, ‘निर्माणको काम हाम्रो हो । तर, कहिले भत्किन्छ वा भत्किन्नँ भन्ने कुरा हाम्रो दायित्व होइन, त्यसको जिम्मा हामी लिन सक्दैनौं । हामीले निर्माण गर्ने हो, निर्माण गरिसकेका छौं । मसँग त्यसको २ अर्ब क्षतिपूर्ति मागिएको छ, यो फसाउने खेल हो ।’

अख्तियारले पाण्डेले भ्रष्टाचार गरेको प्रमाणसहित शनिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पाण्डेले भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेपछि उनले आफ्नो बचाउ गरेका हुन् । उनीमाथि २ अर्ब १३ करोड, ७६ लाख, ७९ हजार ९ सय बीस रुपैया भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिई/कालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।