ईपीएल : ललितपुरद्वारा चितवन पराजित

Lalitpur team02
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत ललितपुर प्याट्रियट्सले पहिलो जीत हात पारेको छ ।

आइतबार किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रियट्सले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो ।

ललितपुरले दिएको १४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रनको योगदान गरे भने कप्तान पृथु बाँस्कोटाले २६ बनाए । त्यस्तै भिम सार्कीले २१ रनको योगदान दिए ।

बलिङतर्फ ललितपुरका लागि सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रनको मध्यम स्कोर बनाएको थियो ।