अन्तरप्रदेश समन्वय परिषद्को बैठक शुरु

Meeting
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । प्रदेश सरकार गठन भएपछि पहिलो पटक अन्तरप्रदेश समन्वय परिषद्को बैठक सिंहदरबार काठमाडौंमा सुरु भएको छ। बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा भइरहेको पछिल्लो समन्वय र वर्तमान अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघका सबै मन्त्रीहरु, प्रदेशका सबै मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव, केन्द्रका मुख्य सचिव, केन्द्रका सचिव, महालेखा निरीक्षकलगायतको सहभागिता जनाएका छन् । प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीहरूले जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा कानून निर्माण, कर्मचारी समायोजन लगायतका साझा समस्याहरुका बारेमा छलफल हुने प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले बताए । उनले कानूनसँग सम्बन्धित एजेण्डा सबै प्रदेशको साझा भएकाले प्रदेशलाई नै कर्मचारी व्यवस्थापन गर्ने जिम्मा तुरुन्त दिनुपर्‍यो भन्ने सातै प्रदेशको साझा एजेण्डा भएको बताए । त्यसैगरी सुरक्षा, प्रहरी प्रशासन लगायतका साझा एजेण्डाहरुले बैठकमा प्रवेश पाउने बताइएको छ ।