भ्रष्टाचार मूर्खले होइन, बुद्धिजीवीले गरिरहेका छन् : प्रधानमन्त्री ओली

KP Oli
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सधैँ भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने गरेको उल्लेख गर्दै भ्रष्टाचारबिरुद्ध सरकार निर्मम तरिकाले जाने बताएका छन् ।

आइतबार भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको बताए । ‘भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने तथ्य हामी सामु रहेको छ, यसलाई बदल्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भएकोभई छ । भनेपछि यो कति डरलाग्दो छ, सहजै थाह पाउन सकिन्छ ।’

सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको गरेको जनाउँदै प्रधानमन्त्री ओलीले मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको प्रष्ट पारे । ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो रोग देखिँदैन, मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।’

प्रधानमन्त्री ओलीले आफूले अघि सारेको ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको तर अब म गर्न दिन्नँ भन्ने नारा कार्यान्वयन हुन बाँकी रहेको धारणा राखे ।