दुख्नेगरि चिमोट्नुस्, नेताहरु बदलिन्छन् : प्रचण्ड (भिडियो)

prachanda-5
लाेकपाटी न्यूज

काठमाडौं, २३ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरुलाई रुपान्तरणका लागि घच्घचाउन संस्कृतिकर्मीसँग आग्रह गरेका छन् ।

प्रगतिशील संस्कृतिकर्मी एवं गायक खुसीराम पाख्रिनको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । नेकपानिकट जनसांस्कृतिक महासङ्घले जमलमा आयोजना गरेको कार्यक्रममा उनले नेताहरु सच्चिनुपर्ने आवश्यकता औल्याएका हुन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘अघि हाम्रो पार्टीका स्थायी समिति सदस्य मणि थापाले धेरै कुरा भन्नुभो, पछिल रामेशजी र रायनजीसम्म आइपुग्दा धेरै कुरा प्रष्ट भएको छ । तपाईहरुले नेताहरुलाई चिमोट्नुभएको छ, नेताहरुलाई घच्घचाउनुभएको छ । जनताका लागि, श्रमजीवी वर्गका लागि र राष्ट्रका लागि नेताहरुलाई यसरी नै दुख्नेगरि चिमोट्नुस्, नेताहरु बदलिन्छन् ।’

प्रचण्डले सांस्कृतिक रुपान्तरणको क्षेत्रमा नेकपाले धेरै गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘सांस्कृतिक आन्दोलन सामान्य आन्दोलन होइन, यसले जनमत निर्माणमा विशेष भूमिका खेल्दछ । हामी पार्टी एकताको अन्तिम चरणमा पुगेका छौं, त्यसपछि सांस्कृतिक अभियान चलाउँछौं, यसले नेता, कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित र जागरुक गर्छ ।’

प्रचण्डले कला, साहित्य र संस्कृतिले नै समाज र मानव चेतना बदल्न गुणात्मक भूमिका खेल्ने बताए । उनले भने, ‘हिजो चाहे त्यो पञ्चायतविरुद्धको सङ्घर्ष होस्, चाहे जनयुद्ध होस्, जनतालाई जागरुक गर्न संस्कृतिकर्मीको ठूलो योगदान छ । कला, साहित्य र संस्कृति जनताको दिमागमा घुसेपछि त्यसलाई दुनियाको कुनै तागतले हल्लाउन सक्दैन ।’

प्रचण्डले खुल्ला राजनीतिमा सांस्कृतिक मूल्य मान्यतामा ह्रास आएको बताए । उनले भने, ‘हामीले जनताको बीचमा सङ्कल्प गरेका छौं । जनताले हामीलाई विश्वास गरेका छन् । हामीले हाम्रो मूल्य मान्यता भुल्नु हुँदैन । तपाईहरुको खबरदारीका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

https://www.facebook.com/lokpationline/videos/271435860230594/